विपश्यना ध्यान साधनाका लागि शान्त र बाह्य होहल्ला रहित स्थानको आवश्यकता पर्छ । यस्तो स्थान जङ्गलको वृक्षको तलको स्थान, नदी किनारको एकान्त स्थान, आफ्नै घरको पूजा कक्ष, ध्यान कक्ष वा अन्य कुनै पनि बाह्य आवाज वा होहल्ला रहित स्थान हुन सक्छ । यस्तो शान्त स्थानमा मात्र चित्त ध्यानको आलम्बन (आधार) श्वाशप्रश्वास वा संवेदनामा एकाग्र रहन सक्छ । ध्यान साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ भन्ने तथ्यको व्याख्या गर्दै भगवान् महासतिपट्ठान सुत्तमा भन्नुभएको छ–
भिक्षुहरू हो ! यहाँ (कोही) भिक्षु अरण्य (वन) मा गएर वा वृक्षमुनि बसेर वा शून्यागार (ध्यानकक्ष) मा गएर शरीर सीधा पारी, मुखको माथिल्लो भागमा स्मृति (जागरुकता ) प्रतिस्थापित गरी, पलेटी मारेर बस्छ ।
विपश्यना साधनाका लागि कस्तो आसनको आवश्यकता पर्छ ?
विपश्यना साधनाका लागि न अग्लो न होचो (४—६ इन्च अग्लो) आसन जुन आसनमा सहजपूर्वक दीर्घकालसम्म साधनामा बसिरहन सकिन्छ, यस्तो सुखासन नै विपश्यना साधनाका लागि उपयुक्त आसन मानिन्छ । यस्तो आसनमा साधक सहजरूपमा मेरुदण्डलाई सीधा र शिरलाई अग्र भागमा सहजरूपमा राखी ध्यान साधनालाई गहिराइमा लैजान समर्थ रहन्छ । यदि कुनै साधक शारीरिक कारणले माथि उल्लेख भएको आसनमा बसेर साधना गर्न असमर्थ रहन्छ भने उसले आफूलाई उपयुक्त कुनै आसनमा रहेर पनि साधना गर्न सक्छ ।



