साधारण शब्दमा चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गरी निर्वाण प्रदान गर्नु विपश्यना साधनाको लक्ष्य हो । अझ गहिराइमा गएर विपश्यना साधनाको लक्ष्यसँग परिचित हुन चाहनुहुन्छ भने तपाईंले विपश्यना साधनाका निम्नानुसारका लक्ष्यप्रति प्रष्ट हुनुपर्ने हुन्छ ।
१. प्रतिक्षण तपाईंमा चित्तका संस्कारअनुरूप विचार, कर्म, वाणी आदि घटित भइरहेका हुन्छन् । तपाईंमा यी कर्म (मूलतः विचार कर्म) अनुरूप चित्तमा सुखद र दुःखद संवेदना उत्पन्न भइरहेका छन् । तपाईं प्रतिक्षण यिनै संवेदनालाई भोग गरी दुःखी र सुखी भइरहनुभएको छ वा तपाईंले सतत दुःखचक्र प्राप्त गरिरहनुभएको छ । जब तपाईं चित्तका संस्कारहरूलाई नाश गर्नुहुन्छ आफ्नै दुःख वा दुःखचक्रलाई पनि नाश गरिरहेको हुनुहुन्छ । यस अर्थमा विपश्यना साधनाको लक्ष्य वर्तमान जीवनको दुःखचक्र नाश गर्नु हो ।
२. चित्तमा सङ्ग्रहित संस्कारहरूका कारण तपाईं आफ्नो आन्तरिक प्रदेशमा उत्पन्न हुने परमशान्ति, परमआनन्द, परमखुसी जस्ता इन्द्रियातीत क्षेत्रको निर्वाण अनुभूति प्राप्त गर्न असमर्थ हुनुहुन्छ । तपाईं वर्तमान जीवनमा निर्वाण अनुभूतिले ओतप्रोत जीवन प्राप्त गर्न असमर्थ हुनुहुन्छ । जब चित्तका संस्कारहरूलाई पूर्णरूपमा नाश गर्नुहुन्छ त्यस्तो स्थितिमा तपाईंले परम निर्वाण अनुभूतिले भरिपूर्ण जीवन प्राप्त गर्न समर्थ हुनुहुनेछ । यस अर्थमा विपश्यना साधनाको लक्ष्य वर्तमान जीवनमै निर्वाणका परमअनुभूतिले ओतप्रोत जीवन प्राप्त गर्नु हो ।
३. यदि चित्तमा संस्कार उपस्थित रहेको स्थितिमा मानिसको मृत्यु भएको छ भने त्यस्तो स्थितिमा प्रतित्यसमुत्पाद नियमका कारण मानिसमा लोकचक्र, भवचक्र उत्पन्न हुन पुग्छ । फलतः मानिसले मृत्युपश्चात् पनि अनन्तकालसम्म अनेक लोकचक्र (विभिन्न लोकमा जन्म प्राप्त गरी घुमिरहनु) भवचक्र (पुनर्जन्म) प्राप्त गरिरहन्छ, जन्म र मृत्युको अन्तहीन दुःखचक्रलाई प्राप्त गरिरहन्छ । जब तपाईं चित्तका संस्कारहरूलाई नष्ट गर्नुहुन्छ त्यस्तो स्थितिमा लोकचक्र र भवचक्रबाट मुक्त हुनुहुन्छ वा जन्म र मृत्युको अन्तहीन दुःखचक्रबाट मुक्ति प्राप्त गर्नुहुन्छ । यस अर्थमा विपश्यना साधनाको लक्ष्य लोकचक्र र भवचक्रलाई नष्ट गर्नु हो । संक्षेपमा भन्नुपर्दा चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) र ‘म’ भावलाई समूल नष्ट गरी दुःखचक्र, लोकचक्र र भवचक्रलाई नाश गर्दै निर्वाण प्राप्त गर्नु नै विपश्यना साधनाको लक्ष्य हो ।