विपश्यना साधना अत्यन्त सूक्ष्म साधना हो । सत्य निर्वाण साधना भए पनि यस साधनाबाट त्यस्तो स्थितिमा मात्र निर्वाण सम्भव हुन्छ जब विपश्वी साधक तलका तीन गुणले पूर्ण हुन्छ । भगवान्ले व्याख्या गर्नुभएको विपश्वी साधकमा हुनुपर्ने तीन मूल गुण यसप्रकार छन्–
आतापी
आतापीको अर्थ हो साधनामा तप्नु वा साधनामा लगनशीलतापूर्वक लागिरहनु । निर्वाण साधनाको अर्थ हुन्छ जन्म–जन्मान्तरदेखि मन वा चित्त (चेतन, अर्धचेतन, अवचेतन) मा सङ्ग्रहित अनेक विषयबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तको स्वभावलाई नष्ट गरी मनलाई समभावी बनाउनु । मन वा चित्तलाई संवेदनाहरूप्रति समभावी बनाउनु निकै दुरुह साधना हो । यो करोडौँ साधकमा एकदुई अत्यन्त गम्भीर र लगनशील साधकले मात्र सिद्ध गर्न सम्भव साधना हो ।
मनलाई संवेदनाहरूप्रति समभावी बनाउने जस्तो असाधारण लक्ष्य त्यस्तो अवस्थामा मात्र सम्भव हुन्छ जब साधक दीर्घकालीन साधनामा लगनशील भएर लागिरहन्छ वा मनमा सङ्ग्रहित विकारको बीजलाई नष्ट गर्न साधनामा तपिरहन्छ । यही अर्थमा ऊ आतापी बन्छ । स्मरणरहोस् विपश्यना साधनामा तप्नुको अर्थ अन्य मोक्ष शास्त्रमा व्याख्या गरिए जस्तै पञ्चाग्नि जलाएर देहलाई तपाउनु होइन, पञ्चाग्निमा तपेर मनको संवेदनालाई भोग गर्ने स्वभाव नष्ट गर्न सकिन्न । विपश्यना साधनामा साधक आतापी बन्छ वा लगनशील भएर साधनामा लागि रहन्छ ।
स्मृतिवान्
सति वा स्मृतिको अर्थ हो– जागरुकता, वर्तमान क्षणप्रतिको जागरुकता । विपश्यना साधनामा जब जागरुकता वा स्मृति भनिन्छ, त्यसको अर्थ कुनै बाह्य वर्तमान अवस्थाप्रतिको जागरुकता नभई विपश्यना साधनाका क्षेत्रहरू (काय, चित्त) का वर्तमान अवस्थाप्रतिको जागरुकता भन्ने बुझिन्छ । पूर्वसंस्कारहरूका कारण मानिसको मनमा यस्तो स्वभाव विकास भएको छ कि ऊ कि पूर्वजीवनका स्मृति (विषय), कि भविष्यका कल्पना (विषय), कि वर्तमानका विषयहरूमा डुल्न रुचाउँछ ।
विपश्यनाको गम्भीर साधकले मनको यस स्वभावको भयावह अवस्थालाई बुझेको हुन्छ । उसले मनको बेहोसीका क्षणहरूमा धम्मका शाश्वत नियमहरूका कारण स्वयंको जीवनमा के परिणाम प्राप्त हुन्छ ? भन्ने तथ्यलाई राम्रोसँग बुझेको हुन्छ । यस कारण ऊ मनको गतिप्रति अत्यन्त जागरुक बन्छ, काय र चित्तका क्षेत्रहरूका वर्तमान स्थितिप्रति जागरुक बन्छ । यी क्षेत्रमा घटित संवेदनाहरूको उदय र व्ययप्रति न राग, न द्वेष मात्र जागरुकता राखिरहन्छ । यस अर्थमा ऊ, स्मृतिवान् बन्छ । स्मरणरहोस् विपश्यना साधनामा स्मृति (जागरुकता) सँगै संप्रज्ञान (संवेदना उदय र व्ययको ज्ञान) जोडिन आवश्यक छ । जब संवेदनाहरूप्रतिको जागरुकता वा स्मृतिमा प्रज्ञा जोडिन्छ तब साधनामा सम्यक स्मृतिको जन्म हुन पुग्छ । अन्ततः सम्यक स्मृतिले साधकलाई निर्वाणतर्फ अग्रसर गराउँछ । विपश्यना साधनामा साधक सतत स्मृतिवान् बनिरहन्छ ।
संप्रज्ञानी
संप्रज्ञान विपश्यना साधनाको एक विशिष्ट पक्ष हो । यथार्थमा विपश्यना साधनामा ‘प्रज्ञा’ पक्ष उपस्थित भएकाले नै भगवान् बुद्धले निर्वाण प्राप्त गर्नुभएको हो । यहाँनेर सर्वप्रथम प्रज्ञा के हो भन्ने तथ्य नै बुझ्नुपर्ने हुन्छ । प्रज्ञाको अर्थ हो काय र चित्तका क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूका उदय र व्यय वा अनित्य गुण, धर्म, स्वभावलाई यथाभूतरूपमा अवलोकन गर्दा धम्म (प्रकृति) का शाश्वत नियमहरूका कारण साधकमा जुन प्रामाणिक आन्तरिक रूपान्तरण प्राप्त हुन्छ, अनि त्यही आन्तरिक रूपान्तरणको अनुभूतिका कारण साधकले जुन ज्ञान प्राप्त गर्छ त्यही ज्ञान नै प्रज्ञा हो ।
यही प्रज्ञा वा प्रामाणिक ज्ञानका कारण साधकले आफू निर्वाणको कुन अवस्थामा छु ? साधनाको कारण ममा केके आन्तरिक रूपान्तर प्राप्त भइरहेका छन् ? साधनामा मलाई जुन अनुभूति प्राप्त भइरहेका छन् ती अनुभूति के हुन् ? ती अनुभूति साधनाका कुन चरणका अनुभूति हुन् ? के ती निर्वाण क्षेत्रका अनुभूति हुन् ? आदि कुराको प्रामाणिकरूपमा बोध गर्छ । भगवान् बुद्धको समयमा जस्तै हाल प्रचलित मोक्षसाधनाका अनेक विधिमा शील र समाधि पक्ष उपस्थित त छ तर संवेदनाहरूमाथि साधना गरिने प्रज्ञापक्ष अनुपस्थित छ, जसका कारण यी साधनाविधि अपूर्ण छन्, भ्रामक छन्, मोक्ष प्रदान गर्न असमर्थ छन् । प्रज्ञा नै त्यो साधना पक्ष वा अङ्ग हो, जसका कारण महासतिपट्ठान साधना अन्य साधनाविधिभन्दा पृथक छ, प्रभावकारी छ, मोक्षदायी छ ।
विपश्यना साधनामा साधकले काय र चित्तका क्षेत्रमा उत्पन्न हुने संवेदनाहरूका गुण, स्वभाव, धर्मलाई जस्ताकोतस्तै अवलोकन गर्छ । संवेदनाका अनित्य स्वभावलाई यथाभूतरूपमा अवलोकन गर्छ । ऊ यही साधना प्रक्रियाद्वारा चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहित विकारलाई जरैदेखि उखेल्दै चित्त शुद्धीकरणको प्रक्रिया प्रारम्भ गर्छ । अन्ततः यही शुद्धीकरण प्रक्रियाका कारण साधकले निर्वाण प्राप्त गर्छ । विपश्यना साधनामा साधक सतत प्रज्ञावान् रहन्छ । अथवा चैवीसै घण्टा काय र चित्तका क्षेत्रमा उत्पन्न कुनै पनि प्रकारका संवेदनाहरूका उदय र व्ययलाई बोध गरिरहन्छ ।