विपश्यना साधनाको अर्थ चित्तलाई संवेदनाप्रति जागरुक र समभाव बन्न वा संवेदनालाई भोग नगर्न प्रशिक्षण दिनु हो । जब तँपाई चित्तलाई संवेदनाप्रति समभावी रहन प्रशिक्षण दिनुहुन्छ त्यस स्थितिमा कसरी विपश्यना साधनाले चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गरी तपाईंलाई निर्वाण प्रदान गर्छ भन्ने सत्यलाई साधकले सरल तरिकाले बुझुन् भन्ने उद्देश्यले यस प्रक्रियालाई बुँदागतरूपमा तल प्रस्तुत गरिएको छ ।
१.विपश्यना साधनाद्वारा साधना संस्कार र चित्तको समभावी संस्कारको उत्पत्ति
विपश्यना साधनामा तपाईं काय र चित्तका क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूप्रति जागरुक र समभावी बन्नुहुन्छ । जब तपाईं यसरी संवेदनाहरूप्रति जागरुक र समभावी बन्नुहुन्छ त्यस क्षणमा तँपाईमा छिपेको धम्मको संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियमले तपाईंका संवेदनाप्रतिको ‘जागरुकता’ र ‘समभाव’ लाई संस्कार बीजको रूपमा सङ्ग्रह गरिदिन्छ । यसरी तपाईंको चित्तमा प्रथम संस्कार बीज (चित्तको संवेदना भोग नगर्ने स्वभाव) को जन्म हुन्छ । विपश्यना साधनाद्वारा यसरी चित्तको प्रथम समभावी संस्कार बीज जन्मिएको क्षण निर्वाण साधनाका दृष्टिले निर्वाणको पक्षमा प्रथम क्षण बन्न पुग्छ । यही क्षण प्रकृतिको यही संस्कार सङ्ग्रहको शाश्वत नियमले तपाईंको विपश्यना साधना (विपश्यना साधनामा प्रवेश गर्ने स्वभाव) लाई पनि संस्कार बीजको रूपमा सङ्ग्रह गरिदिन्छ ।
२. विपश्यना साधनाद्वारा साधना संस्कार र चित्तको समभावी विस्तार
प्रकृतिको शाश्वत नियमका कारण जब तपाईंमा विपश्यना साधना संस्कारको जन्म हुन्छ त्यस स्थितिमा तपाईं विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ । अथवा तपाईं चित्तलाई संवेदनाप्रति समभावी बन्न प्रशिक्षण दिइरहनुहुन्छ । जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ त्यस स्थितिमा प्रकृतिकोसंस्कार वा बीज विस्तारको शाश्वत नियम तपाईंमा क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईंको विपश्यना साधना संस्कार झन्झन् विस्तार हुन पुगी विपश्यना साधना नै तपाईंको गुण वा स्वभाव बन्न पुग्छ । यस प्रक्रियामा तपाईंको चित्त पनि संवेदनाप्रति शनैःशनैः समभावी बन्दै गइरहेको हुन्छ वा चित्तको संस्कार नाश हुँदै जान्छ ।
३. विपश्यना साधनामा गुणको प्रकटीकरण
जब निरन्तरको साधनाका कारण विपश्यना साधना नै तपाईंको गुण वा स्वभाव बन्छ त्यस्तो स्थितिमा प्रकृतिको संस्कार वा गुण प्रकटीकरणको शाश्वत नियम तँपाईमा क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईं स्वभाव (गुण) ले विवश भएर विपश्यना साधनामा बारम्बार प्रवेश गरिरहनुहुन्छ । यतिबेला विपश्यना साधनासँगै तपाईंको चित्त पनि संवेदनाहरूप्रति झन्झन् जागरुक र समभावी बन्दै जान्छ वा तपाईंको चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) पनि शनैःशनैः क्षय हुँदै जान्छ ।
यस्तो स्थितिमा पुनः प्रकृतिको संस्कार वा बीज सङ्ग्रहको नियमले तपाईंको साधना संस्कार, जुन उच्च स्थितिमा पुगेको छ वा तपाईंको चित्तको समभाव जुन स्थितिसम्म विकास भएको छ त्यस स्थितिलाई सङ्ग्रह गरिदिन्छ । यसरी धम्मका शाश्वत नियमको संयुक्त क्रियाशीलताका कारण तपाईंको विपश्यना साधना संस्कार र चित्तको समभाव झन्झन् विस्तार हुन थाल्छ । तपार्इँ साधारण साधकबाट श्रेष्ठ साधकमा परिवर्तन हुँदै जानुहुन्छ । यस साधना प्रक्रियामा तपाईंको चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) नाश हुँदै गइरहेको हुन्छ ।
४. गुणका कारण सजातीय व्यक्ति वा विषयप्रति आकर्षण
जब धम्मका शाश्वत नियमका कारण विपश्यना साधना तपाईंको गुण बन्छ त्यस क्षणमा धम्मको संस्कार वा गुण आकर्षणको शाश्वत नियम पनि तपाईंमा क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईं स्वतः आध्यात्मिक विषय, व्यक्ति, स्थान आदिप्रति आकर्षित हुन थाल्नुहुन्छ । धम्मको यही नियम क्रियाशीलताका कारण सजातीय गुण भएका आध्यात्मिक विषय र व्यक्ति पनि तपाईंप्रति स्वतः आकर्षित हुन थाल्छन् । यसरी तपाईंको गुणका कारण तपाईंका वरिपरी आध्यात्मिक वातावरण स्वतः उत्पन्न हुन पुग्छ । यस प्रक्रियामा तपाईंका विपश्यना साधना गुण र चित्तको संवेदनाप्रतिको समभाव पनि झन्झन् झाँगिदै जान्छ ।
५.जन्म–जन्मान्तरदेखि सङ्ग्रहित संस्कार बीजहरूको उच्छेद
विपश्यना साधना नै मूल गुण भएका कारण जब तँपाईको चित्त यसरी संवेदनाहरूप्रति समभावी बन्दै जान्छ त्यस स्थितिमा तपाईंको संवेदनाप्रति समभावी चित्त जन्म–जन्मान्तरदेखि तपाईंमा सङ्ग्रहित चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) को सम्पर्कमा आइपुग्छ । त्यस्तो क्षणमा प्रकृतिको संस्कार वा गुण उच्छेदको शाश्वत नियम क्रियाशील हुन पुग्छ । जसका कारण दुई विपरीत स्वभावको बीचमा परस्परमा विपरीत प्रतिक्रिया हुन पुग्छ र तपाईंको चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहित चित्तका संस्कारहरू जरैदेखि उखेलिएर नष्ट हुन थाल्छ । यसरी तपाईंको चित्त शनैःशनैः शुद्ध हुँदै जान्छ र अन्तत दीर्घकालीन विपश्यना साधना प्रक्रियाद्वारा तपाईंको चित्त पूर्णरूपमा शुद्ध हुन पुग्छ ।
६. प्रतित्यसमुत्पादको नियमद्वारा दुःखचक्र, भवचक्र, लोकचक्र नाश र निर्वाण प्रदान
जब यसरी तपाईंको चित्त दीर्घकालीन विपश्यना साधनाद्वारा शुद्ध हुन पुग्छ तब तपाईंका चित्तमा छिपेको प्रतित्यसमुत्पादको शाश्वत नियमले शुद्ध चित्तका बीज प्रदान गर्छ । जब प्रकृतिको यस शाश्वत नियमले शुद्ध बीज प्रदान गर्छ जस्तो बीज प्राप्त भयो सोहीअनुरूप परिणाम दिने यही नियमका कारण तपाईंमा दुःखचक्र, भवचक्र, लोकचक्र नाश भई तपाईंलाई निर्वाण वा मोक्ष प्रदान गर्छ । विपश्यना साधनाको केन्द्रमा रहेको यस प्रतिलोमचक्र वा निर्वाणचक्रको व्याख्या अगाडिका अध्यायमा गरिसकिएको छ । तथापि थप प्रष्टतनाका लागि यहाँ पुन राखिएको छ ।
अविज्जाय त्वेव असेस् निराग निरोधा संङखार– (अविद्या निरोधका कारण, संस्कार निरोध) हुन पुग्छ ।
सङखार निरोधा विञ्ञाण निरोध– (संस्कार निरोधका कारण विज्ञान वा चित्तको आधार निरोध) हुन पुग्छ ।
विञ्ञाण निरोधा नाम रुप निरोध– (विज्ञान निरोधका कारण नामरूप निरोध) हुन पुग्छ ।
नामरुप निरोध पस्स निरोधो– (नामरूप निरोधका कारण छवटा इन्द्रिय निरोध) हुन पुग्छ ।
सलापतन निरोधा फस्स निरोधो– (छवटा इन्द्रिय निरोधका कारण विषय स्पर्शको निरोध) हुन पुग्छ ।
फस्स निरोधा वेदना निरोधो– (विषय स्पर्श निरोधका कारण वेदना वा संवेदना उत्पत्ति निरोध) हुन पुग्छ ।
वेदना निरोधा तण्हा निरोधो– (वेदना वा संवेदना निरोधका कारण तृष्णा उत्पत्ति निरोध) हुन पुग्छ ।
तृष्णा निरोधा उपादान निरोधो– (तृष्णा उत्पत्ति निरोधका कारण उपादान वा आशक्ति उत्पत्ति निरोध) हुन पुग्छ ।
उपादान निरोधा भव निरोधो– (आशक्ति उत्पत्ति निरोधका कारण भव (उत्पति) निरोध) हुन पुग्छ ।
भव निरोधा जाति निरोधो– (भव निरोधका कारण पुनर्जन्म निरोध) हुन पुग्छ ।
यसरी विपश्यना साधनाले निर्वाण प्रदान गर्छ ।