यस अध्यायसम्म आइपुग्दा तपाईंले भगवान् बुद्धको छवर्षसम्मको साधना सङ्घर्ष, विपश्यना साधनाको जन्म, प्रतित्यसमुत्पादको नियम, धम्म वा प्रकृतिका शाश्वत नियमहरू, चार आर्य सत्य, चार आर्य सत्यका बाह्रवटा आवृत्ति र आर्य अष्टाङ्गमार्ग साधनाको सैद्धान्तिक ज्ञान (जानकारी) प्राप्त गरिसक्नुभएको छ ।
अर्थात् तपाईंले विपश्यना साधनाका लागि आवश्यक पर्ने मूल सैद्धान्तिक ज्ञान प्राप्त गरिसक्नुभएको छ तर निर्वाण साधना भन्नाले अत्यन्त सूक्ष्म, गहन, दुरुह र रहश्यपूर्ण प्रकृतिको साधना हो भन्ने बुझिन्छ, वा बुझाउँछ । यो साधना यति दुरुह छ कि यसलाई सिद्ध गर्न साधकहरू मात्र नभई प्रायः मोक्ष शास्त्र वा पद्धतिका व्याख्याता गुरुहरूसमेत असफल हुने गरेका छन् । यस्तो स्थिति विपश्यना साधनामा पनि भेटिन्छ । यसका पछाडि अनेक कारण छन् । यिनमा एउटा कारण विपश्यी साधकले साधनाका सम्पूर्ण पक्षका बारेमा स्पष्ट जानकारी प्राप्त गर्न नसक्नु् पनि हो । यसर्थ यस अध्यायमा विपश्यी साधकहरूलाई विपश्यना साधना सिद्ध गरी अमृतमय निर्वाण प्राप्त गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले विपश्यना साधनासँग जोडिएका थप सैद्धान्तिक पक्षको व्याख्या गरिएको छ । यस व्याख्यामा खासगरी निम्नबमोजिमका प्रश्नहरूमाथि प्रकाश पार्ने प्रयास गरिएको छ ।
१.विपश्यना साधनाको लक्ष्य के हो ?
२.विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरू केके हुन् ?
३.मानिसको चित्तमा कसरी संस्कारहरूको उत्पत्ति हुन्छ ?
४.मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ ?
५.विपश्यना साधनाले कसरी चित्तका संस्कारहरूलाई नाश गर्छ ?
६.विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ ?
७.विपश्यना साधना वा निर्वाणका बाह्रवटा चरणहरू केके हुन् ?



