‘वि’ अर्थात्विशेष र ‘पश्यना’ अर्थात् अवलोकन दुई शब्दको संयोजनबाट विपश्यना शब्द बनेको छ । यसको अर्थ हो जुन वस्तु जस्तो छ त्यहीरूपमा अवलोकन गर्नु । जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, धर्म र स्वभावलाई विशुद्ध त्यहीरूपमा अवलोकन गर्नु नै विपश्यना हो । जब विपश्यना साधना भनिन्छ यस साधनाले काय (देह) र चित्त (मन) का क्षेत्रमा प्रतिक्षण उत्पन्न भइरहने अनेक प्रकारका सुखद वा दुखद संवेदनाका अनित्य गुण, धर्म र स्वभावलाई न राग न द्वेष मात्र जागरुक र समभावी भएर अवलोकन गर्ने साधना भन्ने बुझाउँछ ।
विपश्यना साधना भगवान् बुद्धको झण्डै ६ वर्षको अनेक प्रकारका आंशिक, अपूर्ण, भ्रामक, मिथ्या, विपरीत परिणामदायी प्रकृतिका निर्वाण (मोक्ष) साधनाहरूका असफलता पश्चात् आफ्नै प्रामाणिक निर्वाण अनुभूतिको आधारमा भगवान्ले प्रतिपादन वा विकास गर्नुभएको संसारको एकमात्र सत्य मोक्ष साधनाविधि हो ।
जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो तत्पश्चात् उहाँले आर्य अष्टाङ्ग साधना मार्ग प्रतिपादन (विकास) गर्नुभयो । भगवान्ले आर्य अष्टाङ्ग साधनामार्गबाहेक दोस्रो निर्वाण साधनाविधि प्रतिपादन गर्नुभएको छैन । यही आर्य अष्टाङ्गमार्ग साधना नै विपश्यना साधना हो । यस साधनालाई महासतिपट्ठान साधना पनि भनिन्छ ।
भगवान् बुद्धले विकास गर्नुभएको आर्य अष्टाङ्गमार्ग (विपश्यना) साधना अत्यन्त सूक्ष्म, गहन, पूर्ण, सत्य र असाधारण शक्तिशाली निर्वाण साधनाविधि हो । स्वयं सम्यक सम्बुद्धद्वारा प्रतिपादित यस विपश्यना साधनाविधिका कैँयौँ महत्वपूर्ण पक्ष वा विशेषता छन् । निर्वाणाभिलाषी विपश्यी साधकले विपश्यना साधनाका यी महत्वपूर्ण पक्ष वा विशेषताप्रति स्पष्ट हुनु आवश्यक भएकाले सर्वप्रथम विपश्यना साधनाका प्रमुख विशेषता वा पक्षका बारेमा चर्चा गरिएको छ ।