अवलोकन गरी मोक्ष प्राप्त गर्ने विधि
जब विषय र इन्द्रियको मिलन हुन्छ । स्वयंमा विषय प्रति संग्रहित संस्कारको कारण मानिसको मनमा कि सुखद कि दुःखद अनुभूति (संवेदना) हरु उत्पन्न हुन्छन् । त्यो स्थितिमा अज्ञान वा म देह हुँ भन्ने भावको कारण मानिस ‘यि मात्र संवेदनाहरु हुन्’ । ‘यि संवेदनाहरु पृथक, म पृथक हुँ आदि सत्यहरुलाई वोध गर्न असमर्थ रहन्छ । जसको परिणाम स्वरुप मानिस यि संवेदनाहरुलाई भोग गर्दछ । यि संवेदनाहरु सुखद भए ‘सुखी’ अनि दुःखद भए ‘दुःखी’ हुन थाल्दछ । यो क्षणमा स्वयंको सत्तामा छिपेका शाश्वत नियमहरुले मानिसको यो विषय प्रतिको रागपूर्ण, द्वेषपूर्ण स्वभाव वा संस्कारहरुलाई झन् झन् विस्तारित गरिदिन्छ । अन्ततः मानिसका संस्कारहरु झन् झन् शक्तिशाली हुन पुग्दछ । मानिसहरु बन्धनको अन्तहीन सागरमा प्रवेश गर्दछन् ।
तर कुनै वस्तु सत् हो कि असत् ? नित्य हो कि अनित्य ? भनी सांख्य साधना गरिरहेको साधक जब इन्द्रिय र विषयको मिलनबाट जब संवेदनाहरु उत्पन्न हुन्छन्, उ यि संवेदनाहरुलाई भोग गर्दैन । ‘सम दुख सुखम्’ वा रागपूर्ण संवेदनाहरुबाट प्राप्त हुने सुखद अनुभूति (सुख) र द्धेषपूर्ण संवेदनाहरुबाट प्राप्त हुने दुखद अनुभूति (दुख) प्रति उ समभावी बन्दछ । उ एक धिरपुरुष (दृढ साधक) झैँ यहि समभावमा दृढ स्थित रहेर मन र देह क्षेत्रमा उत्पन्न भइरहेका यिनै संवेदनाहरुको अनित्यता (उदय, परिवर्तन, व्यय, स्वभाव) लाई सुक्ष्म अवलोकन गरिरहन्छ । उ मन र देह क्षेत्रमा संवेदनाहरु उदय भइरहेका, परिवर्तन भइरहेका व्यय भइरहेका प्रकृयालाई अवलोकन गरिरहन्छ । जब साधक संवेदनाहरु प्रति समभावी बन्दछ (वा भोग गर्दैन) त्यो अवस्थामा साधकमा संस्कारहरु उत्पन्न वा विस्तार नभई शाश्वत नियमहरुको कारण साधकको समभाव, समदृष्टि, समआयाम आदि विस्तार हुँदै जान्छ । जब साधक दीर्घकालसम्म यो साधनारत रहन्छ, उ समभावको विस्तार प्रकृयाद्वारा नै स्वयंमा छिपेको परम तत्वसँग विलय भई मोक्ष प्राप्त गर्दछ ।
यो साधना विधि नै भगवान बुद्धको विपश्यना साधना विधि हो । मन र देह क्षेत्रमा विषय र इन्द्रिय मिलनको कारण होस् वा अन्य कारणहरु (जस्तै देहका रसायनिक, जैविक क्रिया–प्रतिक्रियाहरु) को कारण संवेदनाहरु ‘सतत्’ रुपमा नै उत्पन्न भइरहन्छ । देह र मन वा चित्तमा त्यस्तो कुनै क्षण उपस्थित हुँदैन जुन क्षणमा संवेदनाहरुको उदय–व्यय नभएको होस् । कर्मयोग, भक्तियोग, ध्यानयोग वा समत्वबुद्धि योगका कुनै विधिहरु किन नहुन् यदि यि देह र मन क्षेत्रमा उत्पन्न संवेदनाहरु प्रति साधक समभावी बन्न सकेन । संवेदना उदय–व्यय, उदय–व्यय (संवेदनाको अनित्यता) धारालाई बोध गर्न सकेन । वा यि संवेदनाहरुलाई भोग गर्न थाल्यो भने साधक संवेदनाहरुलाई भेदन गर्दै स्वयंमा छिपेको ‘परमात्मा तत्व’को क्षेत्रमा प्रवेश नै गर्न असमर्थ रहन्छ ।
यो नै त्यो ‘एक मात्र’ कारण थियो जसको कारण भगवान बुद्धले ६ वर्ष सम्म मोक्ष प्राप्त गर्न सक्नु भएन । चित्त र देह क्षेत्रमा उत्पन्न संवेदनाहरु माथि गरी सांख्य योग साधनाको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।।२–१४।।
हे कुन्तिपुत्र ! इन्द्रीय र विषयहरुको संयोग वा मिलनबाट (मनमा) उत्पन्न हुने शीत–उष्ण र सुखद–दुखद (अनुभूतिहरु वा संवेदनाहरु) परिवर्तनशील र अनित्य छन् । हे भारत ! तिमी ति (संवेदनाहरु) लाई सहन गर (वा सेवन नगर) ।
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।।२–१५।।
किनभने हे पुरुषश्रेष्ठ ! समदुःखसुखम् वा (मनमा विषय इन्द्रीय मिलनबाट उत्पन्न) सुखद दुखद संवेदनाहरुमा “सम” रहने धीरपुरुषलाई यी संवेदनाहरुले व्यथित (दुःखी – सुखी) बनाउन सक्दैन । उ अमृत (मोक्ष, अमर) प्राप्त गर्न समर्थ हुन्छ । वा उ मोक्ष प्राप्त गर्दछ ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ।।२–१६।।
हे अर्जुन ! असत् वस्तुको त सत्ता नै (उपस्थित) छैन । र सत् (वस्तु) को अभाव हुँदैन । यि दुबै स्थितिहरु तत्व ज्ञानी पुरुषहरुद्वारा देखिएका छन् ।