वेद स्वयं परमात्मा तत्व, त्यो तत्वको जो साकार कृष्ण रुप लिएर धर्तिमा आएको छ, जो गीता बाचन गरिरहेको छ, को वचन हो । सृष्टिको आदिकालमा जब सृष्टिकर्ता ब्रम्हा (स्मरण रहोस् – मानिसको सृष्टि कुनै चतुर्मुखी ब्रम्हाबाट नभई परमात्मा तत्वले स्वयंको अंशलाई त्रिगुणी प्रकृतिमा स्थापना गरेर प्रारम्भ भएको हो (७–४,७–५) ले जब मानिसको सृष्टि गर्नुभयो । सृष्टिको त्यहि प्रथम विन्दूमा प्रजा (मानिस) को कल्याण होस् भनी यज्ञ वा कर्मयोगको जुन प्रथम व्याख्या गर्नुभयो, त्यो नै वेद उत्पत्ति भएको क्षण थियो । वेद, ब्राम्हण (शुद्ध तत्व स्थित युक्त पुरुष) यज्ञ आदि सृष्टिको प्रथम घडिमा व्याख्या गर्दै भगवान भन्नुहुन्छ (१७–२३) ।
जब भगवानबाट वेदको वाक्यहरु उच्चारण गर्नुभयो । भगवानको मूल मर्म प्रजाहरुलाई सधैँ परम कल्याण प्राप्त होस् । सतत् यज्ञ (कर्मयोगको सम स्थिति) प्राप्त होस् । प्रजाहरुलाई सांसारिक बन्धनहरु प्राप्त नहोस् । यो कर्मको यज्ञ वा समस्थिति नष्ट नहोस् भन्ने नै थियो । ति वचनहरु थिएः
सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।
अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ।।३–१०।।
प्रजापति ब्रम्हाले कल्पको आदिमा यज्ञ सहित प्रजालाई रचेर भने (कि), यस यज्ञद्वारा तिमिहरु वृद्धिलाई प्राप्त गर । यो यज्ञ तिमिहरुलाई ‘इष्टकामधुक’ – इष्ट वा परमात्मा सम्बन्धी कामना प्रदान गर्नेछ ।
देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।३–११।।
अनि तिमिहरु यो यज्ञद्वारा देवता (आध्यात्मिक सम्पदा) हरुको उन्नति गर । ति देवताहरु तिमिहरुको उन्नति गरुन् । यस प्रकार परस्परमा उन्नति गदै तिमिहरु परमश्रेय वा मोक्षलाई प्राप्त हुनेछौ ।
इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः ।।३–१२।।
यज्ञद्वारा बिस्तार गरिएका देवताले तिमिले नमागीकन इष्टान् वा परमात्मा सम्बन्धी भोग (फल, परिणाम) निश्चय दिनेछन् । देवताद्वारा दिइएका फल वा परिणामलाई जो पुरुष उनलाई नदिइकन भोग्दछ, त्यो चोर हो ।
नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन ।
न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रयः ।।३–१८।।
त्यो (कर्मयोग सिद्ध) महापुरुषलाई यो संसारमा न त कर्म गर्नुको प्रयोजन, न त कर्म नगर्नुको प्रयोजन रहन्छ । र सम्पूर्ण प्राणीहरुसँग उसको किन्चितमात्र पनि स्वार्थको सम्वन्ध रहदैन ।
भगवानले स्पष्ट रुपमा यज्ञ कर्मको जुन आध्यात्मिक परिणाम प्राप्त हुन्छ, त्यो कर्मको परिणाम वा श्रेयलाई ग्रहण गर्न नहुने बताउनु भएको थियो । यो श्रेय ग्रहणले यज्ञ कर्मका समभावलाई नष्ट भई पाप (अहंरुप विकार) प्राप्त हुने बताउनु भयो ।
यज्ञ कर्म (कर्मयोग) ले कसरी परिणाम प्रदान गर्दछ । अनि कसरी यो कर्मयोग वेदबाट उत्पन्न भयो । वेद कसरी अविनाशी परमात्मा तत्वबाट उत्पत्ति भयो । यो यज्ञकर्म अनुसार कर्म गर्दा के परिणाम प्राप्त हुन्छ ? यो यज्ञकर्म अनुसार कर्म नगर्दा के परिणाम प्राप्त हुन्छ ? आदिको व्याख्या गर्नुभएको थियो ।
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।३–१४।।
कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम् ।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ।।३–१५।।
सम्पूर्ण (मोक्ष) प्राणी अन्नबाट उत्पन्न हुन्छन् । अन्नको उत्पति वृष्टि (आध्यात्मिक सम्पदाको वर्षा वा बिस्तार) बाट हुन्छ । अनि यज्ञबाट हुन्छ । अनि यो कर्म (योग) बाट उत्पन्न हुन्छ । कर्म (योग) वेदबाट उत्पन्न हुन्छ । अनि वेद (वा वेदका) अविनाशी परमात्माबाट उत्पन्न भएको मान । यसैले सर्वव्यापी व्रम्ह सदा नै यज्ञमा प्रतिष्ठित रहेको छ ।
एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।३–१६।।
जो पार्थ, जो पुरुष यो लोकमा यस प्रकार परम्पराबाट प्रचलित सृष्टिचक्र (यज्ञबाट मोेक्षसम्मको जीवन रुपान्तर प्रक्रिया) चल्दैन, त्यो इन्द्रिय भोगमा रमण गर्ने, पापमय जीवन बाँच्ने पुरुष संसारमा व्यर्थ नै बाँच्दछ ।
फेरि समयको धारामा श्रूत परम्परा एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित यो भगवानले व्याख्या गर्नु भएको यज्ञकर्म (कर्मयोग) ज्ञान क्रमशः क्षय हुँदै लुप्त भएर गयो । ‘हृदय प्रवेशमा समभावको अग्नी जलाएर त्रिगुणी संस्कारहरुलाई नाश गर्ने यज्ञ’ अपभ्रमशित हुन पुगी अनेकन् वाह्य यज्ञहरुको जन्म हुन पुगे । देवता, स्वर्ग, स्वर्गमा प्राप्त हुने सुखहरु आदि यो वाह्य यज्ञमा जोडिन पुग्यो । भगवानबाट प्रारम्भ भएको वेदमा अनेकन् वाह्य यज्ञहरु, कर्मकाण्डका व्याख्याहरु, सामाजिक व्यवस्थापनका अनेकन् पक्षहरु जोडिन पुगी ‘वेद’ अपभ्रमशितत हुन पुग्यो ।