मोक्ष अधिकारीको लक्षण तल वर्णन गरिन्छ –
मेधावी पुरुषो विद्वान्ूहापोहविचक्षणः ।
अधिकार्यात्मविद्यायामुक्तलक्षणलक्षितः ।। १६ ।।
मेधावी विद्वान्् तर्क–विर्तकमा कुशल हुन्छन् । यी लक्षणयुक्त पुरुषहरू नै आत्मविद्याका अधिकारी हुन् ।।१६।।
आत्मविद्याको मार्गमा असंख्य साधकहरू भए पनि सम्पूर्ण साधकहरूलाई प्राप्य हुँदैन । यो साधकको क्षमतामा वा मुमुक्षुताको तीव्रताको स्तरमा निर्भर गर्दछ । मात्र केही साधकहरू (जो मेधावी छन्) विषयवस्तुको अन्तरमर्मलाई सहजै ग्रहण गर्न सक्छन् । मेधावी विद्वान्् भएकाले बुझ्न, विश्लेषण वा पक्ष–विपक्षमा तर्क गर्न पनि प्रवीण हुन्छन् । यस्ता मेधावी विद्वान््, तर्क–प्रवीण साधकहरूमात्र आत्म–विद्याका अधिकारी हुन् । यिनीहरू मोक्षसम्म पुग्न सक्दछन् । आत्मसाक्षात्कारका अधिकारीहरू मूढ, अल्पबुद्धिका साधकहरू होइनन् । मोक्षका लागि पात्रता विकास भइनसकेका साधकहरू मोक्षसाधनाको विभिन्न चरणमा भड्किन्छन्, अलमलीनछन् वा साधनाबाट च्यूत भई जगत््मा प्रवेश गर्दछन् ।
विवेकिनो विरक्तस्य शमादिगुणशालिनः ।
मुमुक्षोरेव हि ब्रह्मजिज्ञासायोग्यता मता ।। १७ ।।
विवेकी, वैराग्यवान्, शमदम आदि षट्सम्पत्ति सम्पन्न, मुमुक्षुलाई नै ब्रह्म–जिज्ञासाका लागि योग्य मानिएको छ ।।१७।।
अघिल्लो श्लोकमा मेधावी, तर्क–वितर्कमा प्रवीण विद्वान्् नै मुक्तिको अधिकारी (पात्र) हुन सक्दछ भनिएको थियो । यो श्लोकमा ब्रह्मज्ञानका लागि थप योग्यताको आवश्यकतामाथि जोड दिँदै भनिएको छ – नित्य–अनित्यको भेद छुट्याउन सक्ने ‘विवेकी’, पृथ्वीदेखि परलोकसम्मका सम्पूर्ण भोग्य पदार्थप्रति तीव्र विरक्त भाव भएका ‘वैराग्यवान्’ शमदम आदि षड्सम्पत्ति गुण सम्पन्न ‘इन्द्रिय विजयी’ अनि मोक्षप्रति व्यग्र इच्छा भएका ‘मुमुक्षु’लाई मात्र ब्रह्म–जिज्ञासको विषय बबन्दछ । अविवेकी, जगत्–वासनाप्रति आकर्षित, इन्द्रिय असंयमी, अनि मोक्षप्रति आस्था नभएका वा सतही आस्था भएका मनुष्यलाई न ब्रह्मविद्या जिज्ञासको विषय बन्दछ, न त मोक्षका अधिकारी नै हुन सक्दछन्