इन्द्रिय (मनसहित छवटा इन्द्रिय) र यी इन्द्रियका असङ्ख्य (अर्बौँ) विषयका बीचमा जब मिलन हुन्छ त्यस क्षणमा तपाईंको काय र चित्तमा सुखद र दुःखद प्रकृतिका अनुभूतिको जन्म हुन्छ । विपश्यना साधनामा यिनै अनुभूतिलाई संवेदना भनिन्छ ।
किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ?
जब तपाईं आफ्नै जीवनलाई गहिरिएर अवलोकन गर्नुहुन्छ तपाईंले स्पष्ट देख्नु हुनेछ कि तपाईंको जीवनको वर्तमान क्षण मात्र नभई तपाईंको सम्पूर्ण जीवन, तपाईंको सम्पूर्ण जीवन मात्र नभई तँपाईको मृत्युपश्चात्को जीवनलाई समेत संवेदनाले प्रभावित पार्छ । विपश्यना साधनाका साधकले आफ्नो जीवनमा संवेदनाको असाधारण महत्वलाई सरलरूपमा बुझ्न सक्नुहोस् भन्ने हेतुले संवेदनाले मानिसको जीवनमा पार्ने प्रभावलाई तल बुँदागतरूपमा राखिएको छ ।
१. जब इन्द्रिय र विषयको मिलनका कारण तपाईंको काय र चित्तमा सुखद वा दुःखद संवेदना उत्पन्न हुन्छ तपाईं यी संवेदनालाई भोग गर्न थाल्नुहुन्छ । अर्थात् तपाईंको चित्तले स्वतः यी संवेदना भोग गर्न थाल्छ । जब संवेदना सुखद हुन्छन् तपाईं खुसी हुनुहुन्छ । जब संवेदना दुःखद हुन्छ तपाईं दुःखी हुनुहुन्छ । यसरी संवेदनाले तपाईंको जीवनको प्रतिक्षणको सुख वा दुःखलाई प्रभावित पारिरहेको हुन्छ वा प्रतिक्षण तपाईंको जीवनलाई प्रभावित पारिरहेको हुन्छ ।
२. जब तपाईं कुनै विषयबाट सुखद संवेदना प्राप्त गर्नुहुन्छ तपाईं सुखद संवेदना प्रदान गर्ने विषयप्रति स्वतः आकर्षित हुनुहुन्छ । तपाईं ती सुखद संवेदना प्रदान गर्ने विषयलाई प्राप्त गर्न मन, वचन र कर्मले प्रयास गर्नुहुन्छ । यसरी तपाईं जगत्का विषयबाट बन्धन प्राप्त गर्नुहुन्छ । यही कारण तपाईं जीवनपर्यन्त सुखद संवेदना प्रदान गर्ने विषयहरू (इन्द्रिय भोग, वैभव) सम्मान (अहं तृप्ति) जस्ता विषय प्राप्ति र दुःखद संवेदना प्रदान गर्ने विषयको अप्राप्तिमा जीवनलाई अर्पण गर्नुहुन्छ । यसरी तपार्इँ जीवनपर्यन्त रागपूर्ण र द्वेषपूर्ण विषयबाट बन्धन प्राप्त गरिरहनुहुन्छ ।
३. संवेदना सुखद भएको कारण जब जगत्का असत विषय प्राप्तिका लागि तपाईं जीवनलाई अर्पण गर्नुहुन्छ । यस स्थितिमा तपाईं आफ्नै जीवनमा सत वा शाश्वत प्राप्तिबाट विमुख हुनुहुन्छ । तपाईं भगवान् बुद्धले प्राप्त गर्नुभएको जस्तो परमशान्ति परमआनन्द, परमसुख आदि अनुुभूतिद्वारा ओतप्रोत जीवन प्राप्त गर्ने अवसरबाट चुक्नुहुन्छ । सुखद संवेदनाप्रतिको आशक्तिले तपाईं स्वयंलाई शारीरिक, मानसिक, बौद्धिक, आध्यात्मिक, सामाजिक आदि सबै किसिमले नोक्सानी गर्नुहुन्छ ।
४. जब तपाईं सुखद संवेदना भोग गर्ने तृष्णाका कारण जगत्का असङ्ख्य विषयसँग सम्बन्ध राख्नुहुन्छ प्रकृतिका शाश्वत नियमका कारण तपाईंका संवेदना भोग र विषयप्रतिको आशक्ति झन्झन् विस्तार हुने भएकोले तपाईं झन्झन् आन्तरिकरूपमा नष्ट हुँदै झन्झन् गहिरो दुःखको चक्रमा फस्नुहुन्छ । यसरी संवेदना भोगका कारण तपाईंको जीवन भन्नु नै दुःखको पर्याय बन्न पुग्छ ।
५. जब तपाईं संवेदनालाई भोग गरी चित्तमा अनेक किसिमका संस्कार उत्पत्ति र विकास गर्नुहुन्छ यस्तो स्थितिमा तपाईंको मृत्यु भए पनि मृत्युपश्चात् तपाईंको चित्तमा सङ्ग्रहित यिनै संस्कारलाई लिएर चित्त प्रवाहित हुन थाल्छ । त्यस्तो क्षणमा प्रकृतिमा छिपेको प्रतित्यसमुत्पादको नियमले संस्कारलाई प्राप्त गर्दा तपाईंमा लोकचक्र, भवचक्र उत्पन्न गरिदिन्छ । यसरी तपाईं कल्पकल्पसम्म अन्तहीन दुःखचक्र, लोकचक्र र भवचक्रमा फसिरहनु हुन्छ । यिनै विभिन्न कारणले गर्दा तपाईंको जीवनमा संवेदनाको असाधारण महत्व छ भन्ने कुरा स्वतः प्रष्ट हुन्छ ।



