संस्कार वा बीज सङ्ग्रहको नियम तपाईंको चित्तमा छिपेको प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमले तपाईंको मनमा उत्पन्न भएका प्रत्येक विचार, भाव, कल्पना, स्मृति, क्रिया, प्रतिक्रिया आदिलाई संस्कारको रूपमा सङ्ग्रह गर्छ । यस नियमले देहका प्रत्येक कणमा प्रतिक्षण प्रकट भइरहेका अनेक प्रकारका भावदेखि तपाईं कसरी बोल्नुहुन्छ, सोच्नुहुन्छ, हिड्नुहुन्छ, बस्नुहुन्छ, सुत्नुहुन्छ, जस्ता देह र मनका सम्पूर्ण क्रियालाई पनि सङ्ग्रह गर्छ । सारमा भन्नुपर्दा यस नियमले तपाईंको मन र कायमा जेजे प्रकट भइरहेका छन् ती सबैलाई “समानान्तर” रूपमा सङ्ग्रह गर्छ । यसैगरी सङ्ग्रह गर्दै गएर समयको धारामा तपाईंमा असङ्ख्य (अर्बौँ) संस्कार सङ्ग्रह हुन पुग्छन् ।
यद्यपि तपाईंको जीवनमा अनेक प्रकारका असङ्ख्य संस्कार सङ्ग्रह भएका छन् । मोक्षका दृष्टिले तपाईंमा सङ्ग्रहित सम्पूर्ण संस्कार ‘सम वा बराबर’ महत्वका छैनन् । मोक्ष साधनाका दृष्टिले मूलतः तपाईंको चित्तका विषयहरूबाट उत्पन्न सुखद र दुखद सबै संवेदनालाई भोग गर्ने संस्कार मात्र महत्वपूर्ण हुन्छन् । विपश्यना साधनामा तपाईंले नष्ट गर्न प्रयास गर्नुभएको संस्कार पनि चित्तको यिनै संवेदना भोग गर्ने संस्कार नै हुन् । यसर्थ मोक्ष साधनाको संसारमा जब संस्कार भनिन्छ यस शब्दले मूलरूपमा विषयबाट उत्पन्न हुने संवेदना भोग गर्ने चित्तको स्वभावलाई जनाउँछ भन्ने तथ्यमा साधकहरू स्पष्ट हुनु आवश्यक हुन्छ ।
संस्कार वा बीज सङ्ग्रह नियमको अर्को भयावह पक्ष के छ भने जब यस नियमद्वारा तपाईंको चित्तमा संस्कार सङ्ग्रह हुन्छन् यही शाश्वत नियमका कारण यी संस्कार वर्तमान जीवनमा मात्र नभई मृत्युपश्चात् पनि तपाईंमा सुरक्षित रहन्छन् । फलतः प्रतित्यसमुत्पादको नियमले संस्कार बीज प्राप्त गरी मृत्युपश्चात् तपाईंमा अन्तहीन लोकचक्र, भवचक्र आदि उत्पन्न हुन पुग्छ ।
त्यस्तै संस्कार वा बीज सङ्ग्रह नियमको अत्यन्त सुन्दर पक्ष के छ भने जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तपाईं काय र चित्तमा उत्पन्न भइरहेका संवेदनाप्रति समभावी बन्न चित्तलाई प्रशिक्षण दिनुहुन्छ त्यस क्षणमा धम्मको यही शाश्वत नियमका कारण तपाईंको चित्तमा संवेदनाप्रति समभावको संस्कार बीज पनि सँगै सङ्ग्रह हुन पुग्छ ।
अन्ततः संवेदनाप्रतिको यही चित्तको समभावी बीजका कारण तपाईंमा धर्मचक्र उत्पत्ति हुन पुगी निर्वाणका लागि पृष्ठभूमि तयार हुन पुग्छ । स्मरणरहोस् प्रकृतिको यस शाश्वत नियमलाई प्रयोग गरेर तपाईं स्वयंको जीवनमा कुनै (वैभव, प्रेम, शान्ति, स्वास्थ्य वा अन्य कुनै पनि प्रकारका सांसारिक सफलता हाँसिल गर्न सक्नु हुन्छ)
भगवान्ले त्रिपिटक मूलतः धम्मपदमा प्रकृतिको यस शाश्वत नियमको प्रत्यक्ष, अप्रत्यक्ष वा साङ्केतिकरूपमा व्याख्या गर्नुभएको छ । धम्मपदमा उल्लेख गरिएका संस्कार वा बीज सङ्ग्रहका शाश्वत नियमका केही उदाहरण तल राखिएका छन् ।
मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमयाः ।
मनसा चे पदुट्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति, चक्कं व वहतो पदं ।।१।।
अर्थात् मन नै सबै प्रवृत्तिको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले दुःषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई संस्कार वा बीज सङ्ग्रहको नियमका कारण लडियाको पाङ्ग्रोले गाडा तान्ने गोरुको खुट्टालाई पछ्याए जस्तै दुःखले अनुसरण गरिरहन्छ ।
मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनी ।।२।।
अर्थात् मन नै सबै प्रवृत्तिको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले स्वच्छ र प्रशन्न मनले केही कुरा बोल्छ वा राम्रो काम गर्छ भने त्यस्तालाई संस्कार वा बीज सङ्ग्रह नियमका कारण छायाँले शरीरलाई पछ्याएजस्तै सुखले अनुसरण गर्दै साथ दिइरहन्छ ।
अक्कोच्छि मं अवधि मं, अजिनि मं अहासि म ।
ये च तं उपनय्हन्ति, वेरं तेसं न सम्मति ।।३।।
अर्थात् मलाई गाली/अपमान गर्यो, मलाई पिट्यो, मलाई जित्यो, मलाई लुट्यो भन्ने जस्ता कुरा जुन मानिसले मनमा गाँठो पारेर राखिरहन्छन् उनीहरूका वैरभाव संस्कार वा बीज सङ्ग्रह नियमका कारण कहीँल्यै शान्त र साम्य हुँदैन ।
मावमञ्ञेथ पापस्स, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
बालो पूरति पापस्स, थोकंथोकम्पि आचिनं ।।१२१।।
अर्थात् म पापमा रत छैन त्यसैले पाप मसँग आउने छैन भनेर कहीँल्यै पनि पापको अवहेलना गर्नु हुँदैन । किनकि जसरी पानीका थोपाथोपा चुहेर पूरै गाग्री भरिन्छ त्यसैगरी बीज सङ्ग्रह नियमका कारण थोरैथोरै पापको सञ्चय हुँदै जाँदा अज्ञानी मानिस पापले भरिन्छ ।
मावमञ्ञेथ पुञ्ञसस, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
पूरति धीरो पुञ्ञसस, थोकंथोकम्पि आचिनं ।।१२२।।
अर्थात् म पुण्यमा रत छैन त्यसैले पुन्य मसँग आउने छैन भनेर कहीँल्यै पनि पुण्यको अवहेलना गर्नु हुँदैन । किनकि जसरी पानीका थोपाथोपा चुहेर पूरै गाग्री भरिन्छ त्यसैगरी बीज सङ्ग्रह नियमका कारण थोरैथोरै पुण्य सञ्चय हुँदै जाँदा ज्ञानी मानिस पुन्यले भरिन्छ ।
किं ते जटाहि दुम्मेध, किं ते अजिनसाटिया ।
अब्भन्तरं ते गहनं, बाहिरं परिमज्जसि ।।३९४।।
अर्थात् हे दुर्बुद्धि ! तिमीले लट्टा पालेर मात्रै के हुन्छ ? मृगको छालाले बनेका लुगा पहिरेर मात्रै के हुन्छ ? भित्र बीज वा संस्कार सङ्ग्रह नियमका कारण फोहोरमैला जमेको छ भने बाहिर मात्रै धोई पखाली गरी ठाँटिएर वा चम्केर मात्र के हुन्छ ?
परवज्जानुपस्सिस्स, निच्चं उज्झानसञ्ञिनो ।
आवसा तस्स वड्ढन्ति, आरा सो आसवक्खया ।।२५३।।
अर्थात् अरूका दोषमात्र देखेर कोट्याइरहने तथा चुक्ली लगाउने चेतना भएका मानिसहरूका बीज सङ्ग्रह नियमका कारण चित्तका मल वा कसर बढ्छन् । उसका वासनारूपी आश्रवहरूको विनाश भन्ने कुरा धेरै टाढा हुन पुग्छ ।
यथापि मूले अनुपद्दवे दल्हे, छिन्नो पि रुक्खो पुनरेव रुहति ।
एवं पि तण्हानुसये अनूहते, निब्बत्तती दुक्खम् इदं पुनप्पुनं ।।३३८।।
अर्थात् जसरी मूल जरोलाई नखल्बल्याई काटेको/ढालेको रुख फेरि पलाएर बढेर जान्छ त्यसैगरी चित्तभित्र प्रशुप्त अवस्थामा रहेको जरा बीज सङ्ग्रह नियमका कारण बढ्दै जान्छ त्यसैगरी मनमा सङ्ग्रहित भएका तृष्णालाई जरैदेखि सखाप पारिएन भने बारम्बार उब्जँदै, आइलाग्दै जान्छ र सताइरहन्छ ।
न हि पापं कतं कम्मं, सज्जु खीरं व मुच्चति ।
डहन् तं बालम् अन्वेति, भस्मच्छन्नो व पावको ।।७१।।
अर्थात् जसरी साजी दूध जम्न समय लाग्छ त्यसरी नै पाप कर्मले तुरुन्तै विकार पैदा गर्दैन तर त्यो पापकर्म खरानीभित्र पुरिएको आगो वा सङ्ग्रहित संस्कार बीजले मूर्खको पछिपछि लागेर सन्ताप दिइरहन्छ ।
न अन्तलिक्खे न समुद्दमज्झे, न पब्बतानं विवरं पविस्स ।
न विज्जति सो जगतिप्पदेसो, यत्थट्ठितो मुच्चेय्य पापकम्मा ।।१२७।।
अर्थात् बीज सङ्ग्रह नियमका कारण न अन्तरिक्षमा, न समुद्रको बीचमा, न त पहाडका काप वा गुफामा छिरेर, संसारभरी कतै त्यस्तो ठाउँ छैन जहाँ रहेर पापका कामबाट बच्न सकियोस् ।
तसिणाय पुरक्खता पजा, परिसप्पन्ति ससो व बाधितो ।
सञ्ञोजनसङ्गत्तका, दुक्खमुपेन्ति पुनप्पुनं चिराय ।।३४२।।
अर्थात् जसरी तृष्णाको पछि लाग्ने मानिस जालमा परेको (खोरमा थुनिएको) खरायो जस्तै बन्धनमै चक्कर काटिरहन्छ त्यसैगरी बीज सङ्ग्रह नियमका कारण सङ्ग्रहित संस्कारको जञ्जालमा जेलिएका/फसेका मानिसले लामो समयसम्म बारम्बार दुःख पाइरहन्छन् ।
माथि धम्मपदमा भगवान्ले उल्लेख गर्नुभएका संस्कार वा बीज सङ्ग्रहका केही नियमलाई राखिएको छ । भगवान्ले संस्कार वा बीज संस्कारका शाश्वत नियमकाबारेमा उल्लेख गर्नुभएका श्लोक धम्मपद र त्रिपिटक ग्रन्थहरूमा पनि देखिन्छ । निर्वाण अभिलाषी साधकहरू आफैँले त्रिपिटकको अध्ययन गरी यस तथ्यसँग परिचित हुन सक्नुहुनेछ ।