तीन गुणहरु मध्ये सतगुण श्रेष्ठ वा विशिष्ट गुण हो । यो गुणको मूल तत्वहरु निर्मलता, प्रकाश, चेतना, ज्ञान, जागरुकता, सुख (अन्तःकरणमा सतगुणले जन्माउने सात्वीक सुख) र उच्च विकार रहितता आदि हुन् । ( १४–६,१७) प्रकाश, चेतना, जागरुकता आदि परमात्मा तत्वका मौलिक गुणहरु हुन् । परमात्मा तत्वको यि मौलिक गुणहरु सतगुण प्रधान मानिसमा उच्च रुपमा प्रकट भएकाले सतगुण प्रधान व्यक्ति गुणको कारणले नै जीवनमा अत्यन्त चेतनशील, विवेकशील, अन्र्तदृष्टिपूर्ण आदि हुन्छ । उ कुनैपनि विषय वा वस्तुमा छिपेको सत् वा असत् पक्षलाई सहजै देख्न वा बोध गर्न सक्दछ । यदि उच्च चेतनाको कारणले उ तमगुण र रजगुणका वृत्तिहरुलाई सहजै बोध गर्दछ । यहि कारण उ तमोगुणी मूढ मानिस झैँ आलस्य, प्रमाद, व्यर्थ चेष्टा आदिमा जीवनलाई नष्ट गर्दैन । न त उ रजोगुणी मानिस झैँ सकाम कर्म, नश्वर पदार्थ संग्रह, इन्द्रिय भोग, विषय लालसा, स्वार्थ, लोभ आदिमा नै जीवनलाई समाप्त गर्दछ । तमोगुण र रजोगुणको विचार, प्रवृत्ति, कर्म, परिणाम आदि प्रति स्पष्ट भएकाले उ रजोगुणी, तमोगुणी विचारहरु, वृत्तिहरु आदिबाट स्वयंलाई पृथक राख्दछ । (वा राख्न प्रयास गर्दछ) । जगतका अत्यन्त आकर्षक विषयहरुबाट उत्पन्न हुने माया वा मोहनी शक्ति पनि सतगुण प्रधान पुरुषहरुको चेतनालाई ‘दीर्घ समय’ सम्म हरण गर्न असमर्थ रहन्छ ।
जीवनमा सतगुण वा चेतनाको सघन परिणाममा उपस्थित रहेकाले सतगुणी प्रधान मानिस धर्म, ईश्वर, मोक्ष, साधना, शाश्वतता, सत्य आदि प्रति नै आकर्षित रहन्छ । यदि उ जीवनमा मोक्ष प्राप्त गर्न असमर्थ रह्यो भने पनि उ साधनाद्वारा तमगुण, रजगुणको क्षय वा सत्गुण, समभावको विकास गरी जीवनलाई उत्थान गर्दछ । मृत्यू पश्चात सत्गुणी पुरुष निर्मल, दिव्य, स्वर्गादी लोकहरुलाई प्राप्त गर्दछ । (१४–१४)
ज्ञानको अभिमान र सुखको कारणले सत्गुणले मानिसलाई बाँध्ने भएकाले सतगुणलाई पनि बन्धन नै भनिन्छ ।



