साधारण अर्थमा जब सम्यक आजीविका भनिन्छ यस शब्दले त्यस्तो पेशा वा व्यवसायलाई जनाउँछ, जहाँ कुनै पनि प्राणी वा मनुष्यलाई कुनै पनि प्रकारको हानि नोक्सानी पु¥याउँदैन तर यस साधारण परिभाषाले मात्र सम्यक आजीविकाको सम्यक शब्दमा छिपेको मर्मलाई पूर्णरूपमा ग्रहण गर्न सक्दैन । सम्यक आजीविका साधनाको एक अनिवार्य शर्त हो पेशा वा व्यवसायमा साधकको न राग, न द्वेषपूर्ण स्थिति अर्थात् समस्थिति । सम्यक आजीविका साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमो च, भिक्खवे, सम्माआजीवो ? इध, भिक्खवे, अरियसावको मिच्छाआजीवं पहाय सम्माआजीवेन जीवितं कप्पेति । अयं वुच्चति, भिक्खवे, सम्माआजीवो ।”
अर्थात् हे भिक्षुहरू ! के हो सम्यक आजीविका ? यहाँ भिक्षुहरू ! आर्यश्रावक मिथ्या आजीविकालाई छाडेर सम्यक आजीविकाबाट जीवन यापन गरिन्छ ।
प्रत्येक व्यक्तिले बाँच्नका लागि वा जिविकोपार्जनका लागि कुनै न कुनै प्रकारको आजीविका वा पेशा अप्नाउनुपर्छ तर जब सम्यक आजीविका भनिन्छ तब यसले त्यस्तो पेशा वा व्यवसायलाई जनाउँछ, जहाँ कुनै पनि प्राणी वा मनुष्यलाई कुनै पनि प्रकारको हानि नोक्सानी पुर्याउँदैन । सम्यक आजीविकामा भगवान् बुद्धले मिथ्या आजीविकाको रूपमा उल्लेख गर्नुभएका कार्यहरू जस्तैः अन्य व्यक्तिका बारेमा बढाइचढाइ गरेर कुरा गर्नु, स्वलाभको मात्र खोजी गर्नु जस्ता कार्यबाट पनि साधक निरत रहन्छ । सम्यक आजीविकाको एक अनिवार्य शर्त हो पेशा वा व्यवसायमा साधकको न राग, न द्वेषपूर्ण स्थिति अर्थात् समस्थिति । सम्यक आजीविकामा साधकले जिविकोपार्जनका लागि जुन आजीविका ग्रहण गर्छ त्यस आजीविकाले साधकको चित्तमा राग वा द्वेषका विकारलाई सृजना र विस्तार गर्दैन । यदि साधकले अप्नाएको पेशा, व्यवसायले साधकको चित्तमा विकारहरू उत्पत्ति र विस्तार गरिरहेको छ भने त्यस्तो पेशा, व्यवसाय आदिलाई सम्यक आजीविका मानिँदैन ।