सम्यक कर्मको अर्थ हो कर्मका सम्पूर्ण क्षणमा न राग न द्वेष (वा चित्तको समस्थिति) । तपाईंको जीवन संरचना नै यस्तो छ कि यस संरचनामा सर्वप्रथम तपाईंमा कुनै विषयप्रति विचार उठ्छ वा विचार कर्म घटित हुन्छ । विचार कर्म घटित भएपश्चात् तपाईंमा शारीरिक कर्म घटित हुन्छ । यसरी शारीरिक कर्म घटित भइरहेका क्षणमा तपार्इँको मनमा विषयप्रति रागपूर्ण वा द्वेषपूर्ण संवेदना उत्पन्न हुन्छन् । कर्मका क्षणमा यसरी चित्तमा उत्पन्न भइरहेका संवेदनाप्रति जब तपार्इँ न रागपूर्ण न द्वेषपूर्ण (सम्यक) स्थितिमा स्थित रहन प्रयास (साधना) गर्नुहुन्छ त्यस साधनालाई सम्यक कर्म साधना भनिन्छ । कर्मका क्षणहरूमा सम्यक स्थितिमा स्थित रहन तपार्इँ बाह्य कर्मका क्षणहरूमा मनमा घटित भइरहेको विचार कर्म र त्यस विचार कर्मसँगै उत्पन्न भइरहेका विषयप्रतिका रागपूर्ण र द्वेषपूर्ण संवेदनाप्रति जागरुक र समभावी हुन अत्यन्त आवश्यक छ ।
गीतामा भगवान् कृष्णले अर्जुनलाई व्याख्या गर्नुभएका कर्मयोग साधना (आन्तरिकरूपमा समस्थिति र बाह्यरूपमा यूद्ध) पनि यही सम्यक साधना हो ।
सम्यक कर्म साधना स्वयंमा एक असाधारण साधना हो । चौवीसै घण्टा प्रकृतिका शाश्वत नियमहरूले संस्कार उत्पत्ति र विस्तार गरिरहने तपाईंको जीवनसत्तामा सम्यक कर्म त्यस्तो असाधारण साधना हो, जुन साधनाले तपाईंलाई सतत (चौवीसै घण्टा) सम्यक स्थितिमा साधनारत राख्दै तपाईंलाई शीघ्र निर्वाण लक्ष्यतर्फ अग्रसर गराउँछ । यस जगत्मा जति पनि साधकले निर्वाण प्राप्त गरे ती सम्पूर्ण साधक कर्मका सम्पूर्ण क्षणमा सम्यक वा साधनारत रहेर नै निर्वाण साधनालाई सिद्ध गर्न सकेका थिए ।
सम्यक कर्म आर्य अष्टाङ्गमार्गको शील साधना समूहको साधना पनि हो । सम्यक कर्म शील साधना भएकाले यस साधनामा साधकले स्वयंमा भयानक निःकृष्ट संस्कार उत्पन्न गर्ने कर्मलाई बाह्यरूपमै त्याग गरिदिन्छ । सम्यक कर्म साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमो च, भिक्खवे, सम्माकम्मन्तो ? पाणतिपाता वेरमणी, अदिन्नादाना वेरमणी, कामेसुमिन्छाचारा वेरमणी । अयं वुच्चति, भिक्खवे, सम्माकम्मन्तो ।”
अर्थात् हे भिक्षुहरू ! के हो सम्यक कर्म ? प्राणी हिंसाबाट विरत रहनु, चोरीबाट विरत रहनु, व्यभिचारबाट विरत रहनु । भिक्षुहरू ! यसैलाई सम्यक कर्म भनिन्छ ।
कर्म त्यस्तो क्षणमा मात्र सम्यक हुन्छ जब कर्ममा राग वा द्वेष उपस्थित हुँदैन । अर्थात् जब कर्मले चित्तमा कुनै प्रकारका विकार सृजना गर्दैन । सम्यक कर्म साधनामा मूलतः चोरी नगर्नु, प्राणी हिंसा नगर्नु, मादक पदार्थ सेवन नगर्नु, व्यभिचार नगर्नुलाई लिइएको छ । सम्यक कर्म साधनामा जीवनमा निःकृष्ट विकार प्रवेश गराउने असम्यक वा अशुद्ध कर्मलाई बाह्यरूपमै निषेध गरिएको छ ।
जब यस्ता निःकृष्ट कर्म बाह्यरूपमै निषेध हुन पुग्छन् तब साधक धेरै हदसम्म स्वतः शुद्ध वा पवित्र हुन पुग्छ । सम्यक कर्म स्वयंमा साधना हो । जब साधक आर्य आष्टाङ्ग वा विपश्यना साधनामा प्रवेश गर्छ तब उसले पञ्चशील ग्रहण गर्छ । पञ्चशीलका पाँच शीलमध्ये चोरी नगर्ने, प्राणी हत्या नगर्ने, व्यभिचार नगर्ने आदि तीन शील सम्यक कर्मबाटै आएका हुन्छन् । यसरी सम्यक कर्मले आर्य अष्टाङ्गमार्ग वा विपश्यना साधनामा प्रवेश गरेको छ ।
कर्मको प्रारम्भ विन्दु भनेको विचार हो । विचारको स्रोत जन्म–जन्मान्तरदेखि मनमा सङ्ग्रह भएका संस्कार वा विकार नै हुन् । मानिसको मनमा जुन प्रकृतिका विकार (संवेदना भोग गर्ने स्वभाव) सङ्ग्रह भएका छन् त्यस्तै प्रकृतिका विचार उत्पन्न हुन्छन् । सर्वप्रथम कर्म विचारको रूपमा प्रकट हुन्छ । तत्पश्चात् वाणी कर्म र देह कर्मको रूपमा प्रकट हुन्छ । यसैले विपश्यना साधनामा बाह्यरूपमा शील ग्रहण मात्र नगरी आन्तरिकरूपमा पनि मनमा उत्पन्न हुने विचार (विचार कर्ममा छिपेको रागद्वेष) प्रति जागरुक र संप्रज्ञानी बनी कर्ममा सम्यक साधना गरिन्छ ।



