सम्य दृष्टि साधना आर्य अष्टाङ्गमार्ग साधनाको त्यो ‘मूल साधना’ हो, जुन साधनामा साधक काय र चित्तमा उत्पन्न भएका सुखद र दुःखद संवेदनाका गुण, धर्म र स्वभावलाई न राग न द्वेषको सम्यक दृष्टिले अवलोकन गर्छ । सम्यक दृष्टि वा दर्शनको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमा च, भिक्खवे, सम्मादिट्ठि ? यं खो, भिक्खवे, दुक्खे ञाणं, दुक्खसमुदये ञाणं, दुक्खनिरोधे ञाणं, दुक्खनिरोधागामिनिया पटिपदाय ञाणं । अयं वुच्चति भिक्खवे, सम्मादिट्ठि ।”
अर्थात् हे भिक्षुहरू ! के हो सम्यक दर्शन ? उत्तर यही हो कि यी जुन दुःख विषयक ज्ञान, दुःख समुदय विषयक ज्ञान, दुख निरोध विषयक ज्ञान, दुख निरोध गामिनी प्रतिपदा विषयक ज्ञान छन् । भिक्षुहरू ! यसैलाई सम्यक दर्शन भनिन्छ ।
ध्यान वा अध्यात्मको क्षेत्रमा आज ‘दर्शन’ शब्द अपभ्रंशित बन्न पुगेको छ । यस शब्दको सही अर्थ ग्रहण गर्न असमर्थ हुँदा कैँयौँ साधक साधना वा ध्यानमा ईश्वर, गुरु आदिका दृश्य, स्वरूप आदिको दर्शनको अभिलाषा राख्न पुगेका छन् ।
सम्यक दृष्टि वा दर्शनको अर्थ हुन्छ, जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, स्वभाव र धर्मलाई त्यही रूपमा हेर्नु वा अन्तर चक्षुद्वारा मनको आन्तरिक प्रदेशमा बोध (अनुभूति) गर्नु । आर्य अष्टाङ्गमार्ग अन्र्तगतको सम्यक दृष्टि साधनामा तपाईंले मूलतः काय र चित्तको क्षेत्रमा उत्पन्न हुने अनेक प्रकारका सुखद र दुखद संवेदनाहरूका गुण, धर्म र स्वभावलाई न राग न द्वेषको समभावी दृष्टिले अवलोकन गर्नुहुन्छ । जब साधक यसरी काय र चित्तमा उत्पन्न भएका संवेदनालाई भोग नगरिकनै संवेदनालाई सम वा सम्यक दृष्टिबाट अवलोकन गर्न प्रारम्भ गर्छ यही क्षणमा प्रकृतिका शाश्वत नियमहरूले चित्तको संवेदनाप्रतिको यस समभावी संस्कार बीजलाई सङ्ग्रह र विस्तार गरिदिँदा साधकमा प्रतित्यसमुत्पादको प्रतिलोम (विपरीत) सृङ्खला वा चक्र हुन पुग्छ । अर्थात् साधकले निर्वाण प्राप्त गर्छ ।
संसारमा कैँयौँ निर्वाण साधनाका विधि प्रचलनमा छन् । यी सम्पूर्ण साधनाविधिमा शील साधना र समाधि (ध्यान) साधना कुनै न कुनैरूपमा उपस्थित छन् तर यी साधनामा संवेदनाप्रतिको सम्यक दृष्टि साधना अनुपस्थित भएकाले यी साधना निर्वाण प्रदान गर्न असमर्थ छन् । गुरु आलार कालम र उद्धक रामपुत्तको उच्च ध्यान समाधिको स्थिति प्राप्त गरेपश्चात् पनि भगवान् बुद्धले निर्वाण प्राप्त गर्न असमर्थ हुनुको मुख्यकारण साधनामा प्रज्ञापक्ष (मूलतः संवेदनामाथिको सम्यक दृष्टि) अनुपस्थित हुनु नै थियो वा भगवान्ले निर्वाण प्राप्त गर्नुको मूल कारण संवेदनाप्रतिको सम्यक दृष्टि नै थियो ।



