सम्यक व्यायाम साधना आर्य अष्टाङ्ग मार्गको त्यो साधना हो, जुन साधनामा साधकले चित्तमा नव संस्कार उत्पन्न हुन नदिन, चित्तमा उत्पन्न भएको संस्कारलाई नाश गर्न, चित्तमा उत्पन्न नभएको कुशल धर्म (चित्तको समभाव) उत्पन्न गर्न र चित्तमा उत्पन्न कुशल धर्म (चित्तको समभाव) लाई संरक्षण र विकास गर्न साधना गर्छ । यस साधनामा साधकले साक्षीभावमा रहेर चित्तको त्यस क्षणको स्थिति जस्तो छ चित्तको त्यही स्थितिलाई यथाभूतरूपमा प्रतिक्रिया विहीन भएर बोध गर्छ । सम्यक व्यायाम साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमो च, भिक्खवे, सम्मावायामो ? इध, भिक्खवे, भिक्खु अनुप्पन्नानं पापकानं अकुसलानं धम्मानं अनुप्पादाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हाति पदहति; उप्पन्नानं पापकानं अकुसलानं धम्मानं पहानाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हति पदहति; अनुप्पन्नानं कुसलानं धम्मानं उप्पादाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हति पदहति; उप्पन्नानं कुसलानं धम्मानं ठितिया असम्मोसाय भिय्योभावाय वेपुल्लाय भावनाय पारिपूरिया छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हाति पदहति । अयं वुच्चति, भिक्खवे सम्मावायामो ।”
अर्थात् हे भिक्षुहरू ! के हो सम्यक व्यायाम ? यहाँ भिक्षुहरू ! कोही भिक्षु अनुत्पन्न, पापपूर्ण, अकुशल धर्मलाई उत्पन्न हुन नदिन इच्छा उत्पन्न गर्छ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । उत्पन्न भएको पापपूर्ण अकुशल धर्मको प्रहाण वा विनाशका लागि इच्छा उत्पन्न गर्छ, उद्योग गर्दछ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । अनुत्पन्न कुशल धर्मको उत्पत्तिका लागि इच्छा उत्पन्न गर्छ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । उत्पन्न भएको कुशल धर्मको स्थिति, अनाश (रक्षा) गर्न, वृद्धि, विपुलता, भावनाको परिपूर्णताका लागि इच्छा जगाउँछ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । भिक्षुहरू ! यसैलाई सम्यक व्यायाम भनिन्छ ।
सम्यक व्यायाम अर्थात् मनको सम्यक व्यायाम । जसरी शरीरका विकार, रोग, दुर्बलता आदिलाई हटाउन शारीरिक व्यायाम आवश्यक पर्छ त्यसैगरी मनका विकार, रोग, दुर्बलता आदि नष्ट गर्न मनको व्यायाम आवश्यक छ । सम्यक व्यायाम साधनामा साधक स्वयंको मनका विकार, दुर्बलता आदिलाई हटाउन माथि भगवान्ले व्याख्या गर्नुभएझैँ साधकले चार प्रकारका प्रयत्न गर्छ, प्रयास गर्छ ।
प्रथम प्रयत्न :– जुन विकार वा पाप अहिलेसम्म मनमा उत्पन्न भएको छैन त्यस्तो विकार मनमा प्रवेश नगरोस् भन्ने प्रयत्न गर्छ ।
दोस्रो प्रयत्न :– जुन विकार वा पाप मनमा उत्पन्न भएको छ त्यस्तो विकारलाई साधनाद्वारा हटाउने प्रयत्न गर्छ ।
तेस्रो प्रयत्न :– जुन कुशल धर्म अहिलेसम्म मनमा उत्पन्न भएको छैन त्यसलाई उत्पन्न गर्ने प्रयत्न गर्छ ।
चौथो प्रयत्न :– जुन कुशल धर्म मनमा उत्पन्न भएको छ, सङ्ग्रह भएको छ त्यसलाई संरक्षित गर्ने वा विकास गर्ने प्रयत्न गर्छ ।
सम्यक व्यायाम साधनामा साधक यी चार प्रयत्न अन्तर्गत पृथक वा विशिष्ट प्रकारको कुनै पनि प्रयत्न गर्दैन । उसले साक्षीभावले चित्तको त्यस क्षणको स्थिति जस्तो छ चित्तको त्यही स्थिति वा अवस्थालाई यथाभूतरूपमा प्रतिक्रिया विहीन भएर बोध गर्छ । प्रज्ञावान् र जागरुक भएर अवलोकन गर्छ । जब साधकले यसरी चित्तको वर्तमान अवस्थालाई जस्तो छ त्यस्तैरूपमा अवलोकन गर्न प्रारम्भ गर्छ तब साधकमा त्यस्तो जागरुक र प्रज्ञापूर्ण क्षणमा मनमा अहिलेसम्म उत्पन्न नभएका विकार उत्पन्न नै हुँदैन । यदि मनमा कुनै विकार उत्पन्न भयो भने पनि त्यो स्वतः विलाएर जान्छ । मनमा अहिलेसम्म नजागेको कुशल धर्म (संवेदनाप्रतिको समभाव) स्वतः जाग्छ तर मनमा कुशल धर्म उपस्थित छ भने त्यो झन् विस्तार भएर जान्छ ।