सम्यक सङ्कल्प साधना त्यस्तो साधना हो जुन साधनामा साधकले चित्तमा उत्पन्न हुने विचार, सङ्कल्प, विकल्प आदिका कारण चित्तमा उत्पन्न हुने अनेक प्रकारका कामना, तृष्णा, द्वेष, हिंसा आदिप्रति समभावी साधना गर्छ । सम्यक सङ्कल्पको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमो च, भिक्खवे, सम्मासङ्कप्पो ? नेक्खम्मसङ्कप्पो, अब्यापादसङ्गप्पो, अविहिंसासङ्कप्पो । अयं वुच्चति, भिक्खवे, सम्मासङ्कप्पो ।”
अर्थात् हे भिक्षुहरू ! के हो सम्यक सङ्कल्प ? उत्तर हो नैष्क्रम्य (निष्कामता, निष्क्रमण, संसार त्याग), संसार त्याग सङ्कल्प, द्रोह नगर्ने सङ्कल्प, हिंसा नगर्ने सङ्कल्प । भिक्षुहरू ! यसैलाई सम्यक सङ्कल्प भनिन्छ ।
सङ्कल्पको अर्थ हो मनको चिन्तन मनन्, मनको सङ्कल्प, विकल्प । जब आर्य अष्टाङ्गमार्ग वा विपश्यना साधना सुरू हुन्छ तब साधनाका प्रारम्भिक दिनहरूमा वा (पूर्णरूपमा साधनाबाट मनका विकार नष्ट नभएको स्थितिसम्म) साधकको मनमा कामना, तृष्णा, द्वेष, हिंसा आदिसँग सम्बन्धित अनेक प्रकारका सङ्कल्प, विकल्प, विचार, तर्क, वितर्क मन वा चित्तमा उठिरहन्छन् । सम्यक सङ्कल्प साधनामा साधक चित्तमा यस्ता रागपूर्ण र द्वेषपूर्ण तथा मोहपूर्ण विचार उत्पन्न भएको क्षणमा पनि न खुसी हुन्छ न त दुःखी वा व्याकुल नै हुन्छ । न त उसले खुसी बनेर राग उत्पन्न गर्छ न व्याकुल बनेर दुःषित विचारलाई हटाउने द्वेषपूर्ण प्रयत्न नै गर्छ । उसले सम वा द्रष्टाभावले यी सङ्कल्प र विकल्पलाई अवलोकन गर्छ र यी सङ्कल्प र विकल्पप्रति स्मृतिवान् र प्रज्ञावान् बन्छ । यसप्रकार उसले मनमा सङ्कल्प, विकल्प उठ्ने बित्तिकै रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया दिने मनको स्वभावलाई नष्ट गर्छ र निवार्णतर्फ शनैःशनैः अगाडि बढ्छ ।



