सम्यक स्मृति साधना आर्य अष्टाङ्गमार्ग साधनाको त्यो महत्वपूर्ण साधना हो, जुन साधनामा तपाईं स्वयंको काय र चित्तमा उत्पन्न संवेदनाप्रति सततरूपमा स्मृतिवान् वा जागरुक बन्नुहुन्छ । यस साधनामा तपाईं संवेदनाप्रतिको जागरुकतालाई संप्रज्ञान (संवेदनाहरूको उदय र व्यय को धर्ममा) मा संयोजन गरेर चित्तका संवेदना भोग गर्ने स्वभावलाई विनाश गर्नुहुन्छ । सम्यक स्मृति साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमा च, भिक्खवे, सम्मासति ? इध, भिक्खवे, भिक्खु काये कायानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्यल लोके अभिज्झादोमनस्सं; वेदनासु वेदनानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्य लोके अभिज्झादोमनस्सं; चित्तेचित्तानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्य लोके अभिज्झादोमनस्सं; धमेसु धमानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्य लोके अभिज्झादोमनस्सं । अयं वुच्चति, भिक्खवे सम्मासति ।”
अर्थात् हे भिक्षुहरू हो ! के हो ? सम्यक स्मृति ? यहाँ भिक्षुहरू ! कोही भिक्षु (कायरूपी) लोकमा राग, द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर कायमा कायानुपश्यी भएर विहार गर्छ । (कायरूपी) लोकमा राग र द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर वेदनामा वेदनानुपश्यी भएर विहार गर्छ । (कायरूपी) लोकमा राग र द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर चित्तमा चित्तानुपश्यी भएर विहार गर्छ । (कायरूपी) लोकमा राग र द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर धर्ममा धर्मानुपश्यी भएर विहार गर्छ ।
समयको धारामा शब्दका अर्थहरू परिवर्तन हुन्छन् । भगवान्को समयमा स्मृति वा सतिको अर्थ हुन्थ्यो जागरुकता । वर्तमान क्षणप्रतिको जागरुकता नै स्मृति हो । सम्यक स्मृति अष्टाङ्गमार्ग साधनाको अत्यन्त महत्वपूर्ण साधना हो । भगवान्ले साधकहरूलाई बारम्बार सतत आतापी, स्मृतिवान्, प्रज्ञावान् बन्न जोड दिनुभएको तथ्यबाट पनि सम्यक स्मृतिको महत्व स्पष्ट हुन्छ । विपश्यना साधनामा साधनाको प्रारम्भ नै सम्यक स्मृति (जागरुकता) बाट प्रारम्भ हुन्छ । आनापान वा श्वासप्रश्वास प्रक्रियाप्रतिको जागरुकताबाट प्रारम्भ हुन्छ । साधनाका केही दिनपश्चात् जब साधकमा श्वासप्रश्वासप्रति जागरुक भइरहने क्षमता विकास हुन जान्छ त्यस स्थितिपश्चात् साधकले देह र चित्तको क्षेत्रमा उत्पन्न भइरहने अनेक प्रकारका सुखद वा दुखद संवेदनाप्रति जागरुक हुन प्रारम्भ गर्छ ।
विपश्यना साधनामा देह र चित्तका क्षेत्रमा उत्पन्न भएका संवेदनाप्रतिको स्मृति (जागरुकता) ले मात्र साधक निर्वाण प्राप्त गर्न असमर्थ रहन्छ । किनकि जागरुकताले चित्तलाई एकाग्र त गर्छ तर जन्म–जन्मान्तरदेखि चित्तमा सङ्ग्रह भएका विकारको जरा काट्न सक्दैन । भगवान् बुद्धले ध्यानको आठौँस्थितिको तह प्राप्त गरेर पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुमा मूलतः ध्यान साधनामा जागरुकता उपस्थित रहनु तर संप्र्रज्ञान पक्ष अनुपस्थित रहनु नै थियो ।
यसैले निर्वाण साधनामा सम्यक स्मृतिसँगै संप्रज्ञान (संवेदनाका सतत उदय र व्यय बोध अनुभूति) जोडिन अत्यन्त आवश्यक छ । जब स्मृतिसँग संप्रज्ञान जोडिन्छ तब त्यो स्मृति सम्यक स्मृति बन्छ । सम्यक स्मृतिले मात्र चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रह भएका विकारलाई जरैदेखि उखेलेर चित्तलाई पूर्णरूपमा शुद्ध गर्छ । भगवान् भन्नुुहुन्छ कि सम्यक स्मृति साधनामा साधकले काय र चित्तका क्षेत्रमा उत्पन्न हुने संवेदनाप्रति रागद्वेष हटाएर कायानुपश्यी, वेदनानुपश्यी, चित्तानुपश्यी र धर्मानुपश्यी भएर विहार गर्छ ।