जब विद्या सुक्ष्म हुन्छ । जब विद्या बुझ्न, साधनामा उतार्न असहज हुन्छ । अनि, जब यस्तो सुक्ष्म विद्या अनेकन् मानिसहरुले प्राप्त गर्दछन्, प्रत्येक मानिसले यो विद्या स्वयंका गुण जनित चेतनाको स्तर अनुसार नै ग्रहण गर्दछ । वौद्धिक क्षमता अनुरुप ग्रहण गर्दछन् । उदाहरणको लागि जब गीता तीन पृथक (तम, रज, सत्) गुण प्रधान भएका मानिसहरुले प्रत्येक गुणमा पृथक चेतनाले गर्दा यि तीन मानिसहरुले तीन पृथक अर्थ नै ग्रहण गर्दछन् ।
यो ग्रहण प्रक्रियामा विद्या अपभ्रमशित भएर जान्छ । लुप्त भएर जान्छ । कर्मयोग विद्या अपभ्रमशित भई लुप्त भएको कारण नै भगवान स्वयं कर्मयोग विद्यालाई पुनर्जिवित गर्न अवतरित हुनुभएको छ । गीता अध्ययन गर्दा सांख्ययोग पनि अपभ्रमशित भएको देखिन्छ । सांख्ययोगमा कर्मत्याग, सन्यास जीवन जोडिएको देखिन्छ ।
घर, परिवार, गृहस्थ त्याग, अरण्यवास, तत्व चिन्तन आदि अनेकन पक्षहरु जोडिए जहाँ सांख्य साधना विधि नै अपभ्रमशित भएको देखिन्छ । सन्यास शव्दको परिभाषा नै अपभ्रमशित भएको देखिन्छ ।
वर्तमान समयमा प्रचलित सांख्ययोग वा सन्यास मार्ग, जहाँ कर्म त्याग गरी विभिन्न आश्रममा गई साधना गरिन्छ, यो साधनामा समाहीत साधकले ‘सन्यास’ जुन साधनाको मूल शव्द कै अर्थ नबुझेको उदाहरण दिदै भगवान भन्नुहुन्छः
ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।५–३।।
हे अर्जुन ! जुन पुरुष न कसैसँग वा कुनै (विषय) सँग द्वेष गर्दछ । न केही आकांक्षा गर्दछ, त्यो कर्मयोगी सँधै सन्यासी भनिन योग्य छ, किनभने राग – द्वेषादि द्वन्दबाट रहीत पुरुष सुखपूर्वक संसार वन्धनबाट मुक्त हुन्छ ।
श्रीभगवानुवाच ।
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।६–१।।
जो पुरुष कर्मफलको आश्रय नलिइकन (अनाशक्त) कर्तव्य कर्म गर्दछ । त्यो नै सन्यासी तथा योगी हो । केवल अग्नीलाई त्याग्ने सन्यासी होइन । (तथा) केवल क्रियालाई त्याग्ने योगी होइन ।
सांख्ययोग प्रतिको यो अपभ्रमशित गीताका विभिन्न प्रवचनहरु र भाष्यहरुमा पनि देखिन्छ । गीताका अनेकन् प्रवचनहरु, श्रवण, भाष्यहरुको अध्ययन गर्दा एक तथ्य स्पष्ट देखिन्छ कि, यि प्रवचनहरु र भाष्यहरुमा व्यापक बौद्धिक व्याख्याहरु गरिएको छ । तर, मूल प्रश्न – सांख्ययोगको ‘सत्य’ साधना विधि वा प्रक्रिया के हो ? अनुपस्थित छ । गीतामा योगेश्वरका वचनहरुलाई सुक्ष्म रुपमा अवलोकन गर्दा यो स्पष्ट छ कि देह र चित्त क्षेत्रमा उत्पन्न हुने संवेदनाहरुको अनित्य, स्वभाव माथिको समभावी अवलोकन नै सांख्ययोग साधना हो । भगवान् बुद्धको विपश्यना साधना विधि पनि यहि हो । यो प्रसंगमा भगवान ६ वर्षसम्म अनेकन् साधना विधिहरुद्वारा मोक्ष प्राप्त गर्न असफल भई अन्ततः विपश्यना साधना विधिद्वारा नै निर्वाण प्राप्त गर्नुभएको तथ्य स्मरण गर्न आवश्यक छ ।