सांख्ययोग होस्, वा कर्म होस्, वा मोक्ष साधनाका कुनै पनि विधिहरु किन नहुन् । यि सम्पूर्ण विधिहरुको मूल ध्येय नै मोक्ष वा परमात्मा प्राप्ति भएकाले यि सम्पूर्ण मोक्ष साधना विधिहरुमा साधक परमात्मा प्राप्तिमा एक बुद्धियुक्त, स्वर्गादी विषयहरुमा अनाशक्त, परमात्मा तत्व प्रति श्रद्धावान, परायण भाव युक्त आदि हुन अत्यन्त आवश्यक छ । परमात्मा तत्व प्रति शंशययुक्त साधकहरु मोक्ष साधनामा सफल हुन नै सक्दैनन् । त्यस्तै, परमात्मा वा मोक्ष प्राप्तिका सांसारिक वाधाहरु मन र इन्द्रियको विषयहरु नै हुन् । यसैले सांख्ययोग साधना वा सांख्ययोगी साधकमा पनि मन निग्रह, इन्द्रिय निग्रह, शील, सदाचार, जगत विषयहरु प्रति वैराग्य भाव आदि पूरक साधनाहरुको पनि आवश्यक पर्दछ । गुणको कारणले मानिसको जीवनमा कर्मनिरत क्षणहरु नै छैनन्, (३–५) यसैले जब सांख्ययोगी साधनाबाट बाहिर आउँछ । जब विचार, वाणी, देहको स्तरमा कुनै कर्म गर्दछ, त्यो अवस्थामा कर्म वा कर्मफलको कारण मनमा उत्पन्न हुने दुःखद् सुखद् संवेदनाहरु प्रति कस्तो दृष्टि राख्दछ ? यो प्रश्नको उत्तर गीतामा स्पष्ट नभए पनि भगवान कै वचनहरुको आधारमा भन्न सकिन्छ कि कर्मफल प्रति अनाशक्ति, कर्म सिद्धि असिद्धिमा समभाव आदिको अनुपस्थितिमा सांख्ययोग सिद्ध हुन सक्दैन । सांख्ययोग साधना वा सांख्ययोगी साधकको आवश्यकताको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः ।
नैष्कर्म्यसिद्धिं परमां संन्यासेनाधिगच्छति ।।१८–४९।।
सर्वत्र आशक्तिरहित बुद्धि भएको अन्तःकरणलाई जितेको पुरुष सन्यास वा सांख्ययोगद्वारा परम नैष्कम्र्य–सिद्धि वा नैष्कम्र्य रुप परमात्मा तत्वलाई प्राप्त गर्दछ ।
सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे ।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ।।१८–५०।।
जुन ज्ञानयोगको परानिष्ठा हो, त्यो नैष्कर्म सिद्धिलाई जुन प्रकारले प्राप्त भएर मनुष्य ब्रम्हालाई प्राप्त गर्दछ, त्यो पनि तिमी मबाट संक्षेपमा बुझ ।
सांख्ययोगले कसरी मोक्ष प्रदान गर्दछ ?
जब मोक्ष साधना सत्य हुन्छ, त्यो मोक्ष साधनाले साधकको जीवनमा तीन पृथक परिणामहरु प्रदान गर्दै अन्ततः मूल परिणामरुपी मोक्ष प्रदान गर्दछ । सत्य मोक्ष साधनाले प्रदान गर्ने तीन परिणामहरु हुन्ः
१) विषयबाट मनमा उत्पन्न हुने राग वा द्वेषपूर्ण संवेदनाहरुलाई भोग्ने मनका स्वभावको नाश वा नव संस्कारहरु सृजना प्रक्रियाको समाप्ति
२) जन्मजन्मान्तर देखि संग्रहित पुराना संस्कारहरुको पूर्ण नाश
३) ‘म देह हुँ’ भन्ने देह भाव वा मूल अज्ञानको समाप्ती ।
जब नवसंस्कारहरु उत्पन्न हुँदैनन् । जब मन वा चित्तका पुराना संस्कारहरु पूर्ण रुपमा नाश हुन्छन् । जब म भाव विलय हुन्छ, यो जीवन स्थितिलाई नै मोक्ष भनिन्छ ।
सांख्ययोग साधनामा मूल रुपमा विषयबाट देह र चित्त क्षेत्रमा उत्पन्न संवेदनाहरुलाई समभावी बन्न प्रशिक्षण दिदै अन्ततः मनको संवेदनाहरुलाई भोग्ने स्वभावलाई नष्ट गरिन्छ । समभाव नै ईश्वर हो । ईश्वर तत्व समभावमा स्थित छ (१३–२७) । जब साधकको मन समभावमा स्थित हुन्छ । वा जब समभावको कारण साधनको मन ईश्वर तत्वको सम्पर्कमा आउँछ, त्यो क्षणमा साधकको जन्मजन्मान्तर देखिका संस्कारहरु भष्म हुन पुग्दछ । (४–१०), (२–५०, २–५९) ।
ईश्वरीय उच्छेदको नियमको क्रियाशिलताको कारणले नै हुन्छ । त्यस्तै, जब संवेदनाहरु माथि साधन गरिन्छ । जब साधक चित्त र देह क्षेत्रमा संवेदनाहरुको उदय–व्यय, उदय–व्यय मात्र बोध गर्दछ । उ यो ‘सत्य’ मा स्पष्ट हुन्छ कि ‘म’ मेरो भनिएको यो देह र मनमा मात्र अनेकन प्रकारका संवेदनाहरुको अनित्य धारा प्रवाह छ । त्यहाँ ‘म’ नामको कुनै वस्तु वा तत्व अनुपस्थित छ । जब साधक चित्त र देहको यो ‘अनित्यता’ प्रति स्पष्ट हुन्छ, त्यो स्थितिमा साधकको ‘म’ भाव पग्लिीद पग्लिदै जान्छ । अन्ततः साधक मोक्ष प्राप्त गर्दछ ।