जब विपश्यना साधनाको चर्चा चल्छ यस क्षणमा भगवान् बुद्धको छ वर्षसम्मको साधना सङ्घर्षलाई बिर्सन सकिन्न । निर्वाणको खोजीमा दरबार त्याग गरेपश्चात् भगवान्ले झण्डै ६ वर्षसम्म अनेक प्रकारका आंशिक, भ्रमपूर्ण, असत, मिथ्या प्रकृतिका निर्वाण साधनाविधिका कारण जुन सङ्घर्ष भोग्नुप¥यो ती साधना सङ्घर्षलाई विस्मरण गर्न सकिन्न ।
निर्वाणका दृष्टिले मिथ्या साधनाविधिकै कारण वर्तमान समयमा पनि असङ्ख्य निर्वाणाभिलाषी साधकहरू विभिन्न धर्म, ईश्वर, गुरु, दर्शन, सम्प्रदाय आदिद्वारा प्रचार गरिएका अनेक प्रकारका अपूर्ण, मिथ्या, भ्रामक, असत प्रकृतिका साधनाका कारण साधना सङ्घर्षमा फसिरहेको छन् । आध्यात्मिक क्षेत्रको यस्तो भयावह स्थितिमा भगवान् बुद्धको साधना सङ्घर्षको कथाले साधकलाई सत्य साधना मार्गमा प्रवेश गर्न प्रेरित गर्ने हुनाले भगवान् बुद्धको साधना सङ्घर्षको कथा अझ बढी स्मरण योग्य बन्न पुगेको छ ।
निर्वाणको खोजीमा गृहत्याग गरेपश्चात् भगवान्ले कुनकुन साधना गर्नुभयो ? भगवान्ले कुनकुन गुरुहरूको शिष्यत्व ग्रहण गर्नुभयो ? भगवान्ले किन ती गुरुहरूको शिष्यत्व त्याग गर्नुभयो ? किन अन्ध श्रद्धा, भक्ति, विश्वासको मार्ग नरोजी भगवान्ले निर्वाणको प्रामाणिक अनुभूतिपूर्ण साधना मार्ग रोज्नुभयो ?यस निर्वाण साधनाको क्रममा उहाँले कुनकुन साधना सङ्घर्ष भोग्नुभयो ?यी साधना सङ्घर्षमा उहाँले केकस्ता शारीरिक, मानसिक, आध्यात्मिक परिणाम प्राप्त गर्नुभयो ? अन्ततः उहाँले कसरी आफ्नै प्रयासले मध्यमार्गी विपश्यना साधना मार्ग पहिल्याउनुभयो ? यस्ता अत्यन्त महत्वपूर्ण प्रश्नमाथि दृष्टि नदिई वा भगवान्को साधना सङ्घर्षलाई बेवास्ता गरेर विपश्यना साधनालाई व्याख्या गरियो भने त्यो व्याख्या अपूर्ण हुने हुनाले यस अध्यायमा भगवान् बुद्धको निर्वाणप्राप्ति पूर्वको साधना सङ्घर्षलाई सङ्क्षेपमा अवलोकन गर्ने प्रयास गरिएको छ ।
जब तपाईं भगवान् बुद्धको जीवनलाई गहिरिएर अध्ययन गर्नुहुन्छ तपाईं यो तथ्यमा स्पष्ट हुनुहुन्छ कि भगवान् बुद्धले कैँयौँ जन्मदेखि निर्वाणप्राप्तिका लागि अनेक साधना गर्दै आइरहनुभएको थियो । यसरी जन्म–जन्मान्तरदेखिको साधनाका कारण भगवान्मा पारमिता वा आध्यात्मिक सम्पदा सङ्ग्रह हुँदै गइरहेको थियो । यिनै पूर्वजन्मका साधना वा पारमिताका कारण बालक अवस्थादेखि नै भगवान्को मनमा सांसारिक विषयहरूप्रति वैराग्यका भाव उत्पन्न हुन थालिसकेका थिए ।
जतिजति भगवान् युवा हुँदै जानुभयो उहाँमा सांसारिक वस्तुहरूप्रतिको वैराग्यभाव झन्झन् विस्तार हुँदै गए । सांसारिक वस्तुहरूप्रतिको उहाँको यही सघन वैराग्यका कारण भगवान्ले ऋतुकालीन दरबार, सुन्दरी सेविकाहरूका नृत्य, मधुर सङ्गीत, सेवा आदि राजकुमारको हैसियतले प्राप्त हुने सम्मान, राजसभाको विशिष्ट सम्माननीय पद आदि सांसारिक प्राप्तिहरूमा कुनै सार तत्व देख्न सक्नुभएन । जुन वैभव, भोग, सम्मान आदि सांसारिक वस्तु प्राप्त गर्न संसारका मानिस मरिहत्ते गर्छन्, जीवन, नै अर्पण गर्छन् तीनै सांसारिक प्राप्तिले भगवान्को मनमा गहन प्रश्न उठाइरहे । ती असत वस्तुले स्वयंमा छिपेको असत पक्षलाई उदभाषित गरेर भगवान्को सांसारिक विषयहरूप्रतिकोे वैराग्यलाई झन्झन् विस्तार गरिरहे । एक अमूल्य जीवन असत वस्तुहरूको माझमा रमाएर खेर गइरहेको बोध गराइरहे ।
अन्ततः जब एक दिन भगवानले एक वृद्ध, एक बिरामी, एक मृत व्यक्तिलाई देख्नुभयो ती दृश्यले भगवान्को मनमा वर्षौदेखि उठिरहेका सांसारिक विषयहरू, भोगहरू प्राप्तिप्रतिका वैराग्यपूर्ण विचारलाई झन्झन् विस्तार गरिदिए । असत जगत र असत जगतका विषयप्रतिको वैराग्यपूर्ण विचारका तीव्र प्रवाहमा भगवान्ले सांसारिक जीवनलाई त्याग गर्ने निर्णय गर्नुभयो । अन्तत एक वैशाख पूर्णिमाका मध्यरातमा भगवान् (तत्कालीन युवराज) ले सत तत्व वा निर्वाणको खोजीमा दरबारलाई त्यागिदिनुभयो, सांसारिक विषयलाई त्यागिदिनुभयो ।