अर्थात् सम्पूर्ण काय संवेदनाहरूको पुञ्जझैँ अनुभूति हुनु ।
विपश्यना साधनाको यस चरणको अनुभूति हो सम्पूर्ण शरीर संवेदनशील हुनु वा शरीरका सम्पूर्ण भागमा सुखद र दुःखद (खासगरी सुखद) प्रकारका संवेदनाका अनुभूति प्राप्त हुनु । साधनाको यस अवस्थामा तपाईँ सम्पूर्ण शरीर (शिरदेखि पैतलासम्मका कायका सम्पूर्ण बाहिरी र भित्री क्षेत्र) मा विविध प्रकारका सुखद र दुखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ । काय संवेदनाहरूले पूर्ण हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ । स्मरणरहोस् साधनाको प्रारम्भमा तपाईँलाई संवेदनाका अनुभूति स्पष्टरूपमा प्राप्त हुँदैन तर तपाईँ जब कायको बाहिरी क्षेत्र (प्रथमचरण) कायको भित्री क्षेत्र (दोस्रो चरण) कायको बाहिरी र भित्री क्षेत्र (तेस्रो चरण) को कायानुपश्यना, संवेदना समुदयधर्म (चौथो चरण), संवेदनाको व्ययधर्म (पाँचौँ चरण) संवेदनाको समुदय, व्ययधर्म (छैठौँ चरण) का साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब शिरदेखि पैतला सम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गरेर सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुक्रयाउँदै शरीरका सम्पूर्ण क्षेत्रमा उत्पन्न भइरहेका संवेदनामाथि साधना गर्दै जानुहुन्छ र दीर्घकालीन साधनाद्वारा तपार्इँ यस्तो अवस्थामा आइपुग्नुहुन्छ, जहाँ तपाईँ शरीरका सम्पूर्ण क्षेत्रमा स्थूलदेहको अनुभूति उपस्थित नभई देह अनेक प्रकारका परमाणुहरूका पुञ्जझैँ रहेको अनुभूति प्राप्त गर्नुहुन्छ ।
साधनाको यस स्थितिमा यस्तो लाग्छ कि यो स्थूलदेह मात्र उदय–व्यय, उदय–व्यय स्वभाव भएका परमाणुहरूको तरङ्गप्रवाह मात्र हो । यसरी स्थूल देहको सम्पूर्ण क्षेत्रको सघनता नष्ट भई देह स्पष्टरूपमा परमाणुहरूका तरङ्गझैँ अनुभूति हुने अवस्थालाई “भङ्ग” भनिन्छ । यथार्थमा यो भङ्ग अवस्था बाहिर, भित्र सर्वत्र कायानुपश्यनाका साथै समुदय, व्यय, समुदय व्यय कायानुपश्यनाको सम्पूर्ण चरण सफलतापूर्वक सम्पन्न गरेपश्चात् मात्र प्राप्त हुन्छ । यस अवस्थामा तपाईँ एक सासमा शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मका सम्पूर्ण संवेदनाका अनुभूति प्राप्त गर्न सक्नुहुन्छ ।
कायानुपश्यना साधनाको यस चरणमा तपाईँ सम्पूर्ण शरीरमा संवेदनाका अनुभूति गर्दै श्वास लिन सक्नुहुन्छ, सम्पूर्ण शरीरमा संवेदनाका अनुभूति गर्दै श्वास छोड्न सक्नुहुन्छ । एकै सासमा कायको सम्पूर्ण संवेदना बोध गर्न सक्नुहुन्छ । स्मरणरहोस् यो ‘सब्यकायपटिसंवेदी’ अनूभूति दीर्घकालीन साधनापश्चात् मात्र प्राप्त हुन्छ ।