प्रकृतिका शाश्वत नियमहरूका कारण तपाईंको मन वा चित्तमा मात्र नभई समयको धारामा देह वा देहका अणुअणुमा पनि अनेक संस्कार निर्माण हुन पुग्छ । संस्कारका कारण जसरी तँपाईको मन विभिन्न विषयमा निर्वाधरूपमा डुलिरहन रुचाउँछ त्यसैगरी संस्कारका कारण तँपाईको देह पनि सहज आरामदायी स्थितिमा बस्न रुचाउँछ ।
जब तपार्इँ विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तपाईं अनेक विषयमा विचरण गरिरहने मनलाई श्वासप्रश्वासप्रति जागरुक राख्न प्रयास गर्नुहुन्छ अथवा जब तँपाई सहज आसनमा स्थित रहन रुचाउने देहलाई पलेटी मारेर, मेरुदण्ड सीधा गरेर दीर्घकालसम्म राख्न प्रयास गर्नुहुन्छ यी प्रयास तपाईंको देह र मनको प्राकृतिक स्वभावको विपरीत हुन पुग्छ । यसैको परिणामस्वरूप तपाईंको मन र शरीरले तपाईंकोे प्रयासको विरुद्ध विद्रोह गर्न थाल्छ । मूलतः यही कारण साधनाका प्रारम्भिक दिनहरूमा तपाईं विपश्यना साधनाको आसनमा स्थिर रहन असमर्थ रहनुहुन्छ ।
विपश्यना साधनाको कालमा आसन परिवर्तन गरिरहनुहुन्छ । हात खुट्टा चलाइरहनुहुन्छ । जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ, जब तपार्इँका चित्तका संस्कारहरू क्षय हुँदै जान्छन्, जब प्रकृतिका शाश्वत नियमहरूका कारण तपाईंको मन र देहको स्वभाव परिवर्तन हुँदै जान्छ त्यस्तो स्थितिमा तँपाई दीर्घकालसम्म साधनामा शान्त र स्थिर आसनमा अवश्य रहन सक्नुहुन्छ । तपाईं भगवान् बुद्धले जस्तै एउटै आसनामा सातरात सातदिनसम्म बसेर ध्यान गर्न समर्थ रहनुहुन्छ ।