मोक्ष त्रिगुणी विनास र समभावको विकासको एक क्रमिक प्रकृया हो । मोक्ष सहज प्राप्त जीवन स्थिति होइन । सहज प्राप्त स्थिति भएको भए मोक्ष यति असाधारण महत्व पनि हुने थिएन । जन्मजन्मान्तर देखि संग्रहित शक्तिशाली संस्कारहरु, सांसारिक विषयका शक्तिशाली मोहिनी शक्ति सत्य साधना विधिको अप्राप्त, मोक्ष प्राप्त सद्गुरुको निर्देशनको अभाव, समयका धारामा मोक्ष साधना विधिहरु अपभ्रशीत हुने सम्भावना, साधनाको सुक्ष्मता, यो सुक्ष्मताको कारण विद्यालाई सहि रुपमा साधनामा उतार्न पर्ने कठिनाइ, आन्तरिक साधना भएकाले साधनाका प्रगतिको मूल्याङ्कनको कठिनाई, अध्यात्म विषय वा वस्तुहरु (शास्त्रज्ञानको अभिमान, गुरु, सम्प्रदाय आदि) बाट नै राग वा बन्धन जन्मने सम्भावना आदि कैयन् कारणहरु छन्, जसको कारण साधक साधनामा असफल भइरहन्छ । च्यूत भइरहन्छ । करोडौँमा मात्र एक दुई साधकले मात्र मोक्ष प्राप्त गर्ने पृष्ठभूमीमा साधकले यो जन्ममा नै मोक्ष प्राप्त गर्ने अत्यन्त न्यून सम्भावना रहन्छ । एक प्रश्न उठ्दछ कि यदि साधना गर्दा गर्दै मृत्यू प्राप्त भयो भने साधकको के हुन्छ ? अर्जुनको यहि प्रश्नको उत्तर दिदै भगवान ईश्वरीय नियमहरुको व्याख्या गर्दै यो प्रश्नको उत्तर दिनुहुन्छ । भगवान भन्नुहुन्छः
योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ।।६–४७।।
अनि सम्पूर्ण योगीहरु मध्ये जो श्रद्धावान योगी जो ममा तल्लीन भएर अन्तरआत्माले (निरन्तर) मलाई भज्दछ, त्यो योगी मेरो मतमा सर्वश्रेष्ठ छ ।
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ।।६–३८।।
हे महावाहु ! भागवत् (योग) प्राप्तिको मार्गमा मोहित (विचलित) अनि संसारबाट आश्रयबाट रहित (त्यो) पुरुष छिन्नभिन्न बादलझैँ दुबै तिरबाट भ्रष्ट भएर नष्ट त हुँदैन ?
श्रीभगवानुवाच ।
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति ।।६–४०।।
हे पार्थ ! त्यस साधकको न त यो लोकमा न त परलोकमा नै नाश हुन्छ । किनभने हे प्रिय ! योग प्राप्ति रुप कल्याण कर्म गर्ने मनुष्यलाई दुर्गति प्राप्त हुँदैन ।
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।
(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।
अथवा योगिनामेव कुले भवति धीमताम् ।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ।।६–४२।।
अथवा (उच्च साधना स्थितिको वैराग्यवान् योगभ्रष्ट) ज्ञानवान योगीको कूलमा जन्म लिन्छन् । तर यस प्रकारको जुन जन्म हो त्यो यो संसारमा अत्यन्त दूर्लभ छ ।
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।।६–४३।।
हे कुरुनन्दन ! त्यहाँ त्यो पुरुष पूर्व शरिरमा संग्रह भएका बुद्धि बुद्धियोगका संस्कारहरु अनायास नै प्राप्त गर्दछ । (त्यही संस्कारको कारण) पुनः त्यो पुरुष योग साधना सिद्धिको निमित्त प्रयत्न गर्दछ ।
प्रयत्नाद्यतमानस्तु योगी संशुद्धकिल्बिषः ।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम् ।।६–४५।।
अनि प्रयत्न पूर्वक योग अभ्यास गर्ने यो योगी (साधक) अनेक पूर्व जन्मका योग संस्कारहरुको बलले यहि जन्ममा सिद्धी प्राप्त गरेर सम्पूर्ण पापहरुबाट रहित भएर परम गतिलाई प्राप्त गर्दछ ।