आर्य अष्टाङ्गमार्ग वा धर्मचक्र साधनाको चर्चा गर्दा अधिकांश साधक आर्य अष्टाङ्ग वा विपश्यनालाई ध्यान साधनामात्र हो भनेर बुझ्ने गरेको पाइन्छ । विपश्यना साधनामा आठ साधना छन्, विपश्यना साधनामा यि आठ साधनाहरुलाई साधकले साधनामा उतार्नुपर्छ भन्ने तथ्यलाई बिर्सने गरेको देखिन्छ । त्यस्तै अधिकांश साधक साधनाको शीलपक्ष (शील साधना) प्रति पनि उदासीन देखिन्छन् ।
आर्य अष्टाङ्गमार्गका आठ साधनाका व्याख्या चौथो अध्यायमा गरिसकिएको छ । त्यसैले आर्य अष्टाङ्गमार्गका शील साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजिविका, समाधि, (सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि) प्रज्ञा (सम्यक सङ्कल्प, सम्यक दृष्टि) सँग पुनः परिचित हुनुहोस् ।
धम्मका शाश्वत नियमहरू चौवीसै घण्टा क्रियाशील रहने भएकाले दिनमा एकदुई घण्टामात्र साधना गरेर निर्वाण प्राप्त गर्न सम्भव हुन्न भन्ने तथ्यप्रति सचेत हुनुहोस् । त्यसैले सम्यक कर्म, सम्यक वाणी, सम्यक आजिविका जस्ता साधनाका गहन मर्मलाई पुन स्मरण गर्नुहोस् । विपश्यना साधनालाई विधिपूर्वक साधनामा उतार्न तपाईँ कर्म, वाणी, आजिविकाका सम्पूर्ण क्षणहरुमा सतत न राग न द्वेषको स्थितिमा रहनुपर्छ, चौवीसै घण्टा साधनारत रहनुपर्छ भन्ने तथ्यलाई नबिर्सनुहोस् ।