(अज्ञान अवस्थामा प्रतीत हुने जगत् प्रपन्च ब्रह्मबाट पृथक् नरहेको वर्णन तलका श्लोकहरूमा गरिन्छ ।)
यदिदं सकलं विश्वं नानारूपं प्रतीतमज्ञानात् ।
तत्सर्वं ब्रह्मैव प्रत्यस्ताशेषभावनादोषम् ।।२२९।।
अज्ञानले गर्दा अनेकौं रूप भएको यो जगत् प्रतीत भइरहेको छ । तर
समस्त भावना (कल्पना) आदिको दोषबाट रहित निर्विकल्प ब्रह्म मात्र छ । ।।२२९।।
जसरी सपनामा संग्रहित वासनाहरूलाई ग्रहण गरि मन अनेकन प्रकारका कल्पनापूर्ण मिथ्या जगत्को सिर्जना गर्दछ । यस्तै जाग्रत अवस्थाको जगत् पनि मात्र मनको प्रपन्च हो । अविद्यारूपी वासनामय मनको जगत्का विषयहरूसँग सम्बन्ध भएकोले यो जगत् प्रतीत भएको हो । अज्ञानको उपस्थितीमा मनुष्यले यो प्रतीत जगत्लाई सत्य ठानेर व्यवहार गर्दा सुख दुःखरूपी दोष प्राप्त भएका हुन् । तर जब साधनाद्वारा अज्ञान नष्ट हुन्छ वा आत्मा साक्षात्कार प्राप्त हुन्छ । त्यो अवस्थामा मात्र नित्य शुद्ध ब्रह्मा मात्र शेष रहन्छ ।
मृत्कार्यभूतोऽपि मृदो न भिन्नः कुम्भोऽस्ति सर्वत्र तु मृत्स्वरूपात् ।
न कुम्भरूपं पृथगस्ति कुम्भः कुतो मृषा कल्पितनाममात्रः ।।२३०।।
सबैतिर माटो भएको माटोको कार्य घैँटो माटोबाट भिन्न छैन । घैँटो माटोमा कल्पित मिथ्या नाम हो । त्यस्तो मिथ्या, कल्पित घैँटोको सत्ता कहाँ छ ?।।२३०।।
घैँटो माटोबाट निर्माण गरिन्छ । घैटोको चारैतिर माटो छ । घैँटो माटोको रूप परिवर्तन हो । सबैतिर माटो भएको, अनि माटोबाट निर्मित भएकोले घैँटो माटोबाट पृथक् छैन । यदि कसैले माटो पृथक् हो । घैटो पृथक् हो भनेर भन्दछ भने उसले घैटो नाम गरेको वस्तु माटोको रूप परिवर्तन हो भन्ने नबुझेको भन्ने बुझिन्छ । यसलाई अज्ञान भनिन्छ । अथवा माटो सत्य हो । घैँटो आदि प्रतीतिहरू हुन् । यसैले मिथ्या हुन । त्यस्तै अधिष्ठान आत्मा सत्य हो, जगत्का वस्तु आरोपित प्रतीति हुन् । मिथ्या हुन् ।
केनापि मृद्भिन्नतया स्वरूपं घटस्य सन्दर्शयितुं न शक्यते ।
अतो घटः कल्पित एव मोहाद्् मृदेव सत्यं परमार्थभूतम् ।।२३१।।
माटोबाट भिन्न घैँटोको रूप कसैले पनि देख्न र देखाउन सक्दैन । घैँटो कल्पित हो मात्र , परमार्थरूप माटो मात्र सत्य हो ।।।२३१।।
ब्रह्म र जगत्को सम्बन्धको व्याख्या पछिल्ला श्लोकहरूमा पनि छन् । त्यो सम्बन्धलाई बुझाउन यहाँ माटो र घैंटोको उपमा दिइएको छ । घैंटो माटोको मात्र परिवर्तित रूप हो । माटोबाट पृथक् घैंटो कसैले पनि देख्न वा देखाउन सक्दैनन् किनकि माटोविना घैटोको सम्भावना रहँदैन । यदि घैँटोलाई माटोबाट भिन्न मानिन्छ भने त्यो अज्ञान सिर्जित कल्पना मात्र हो । परमार्थ रूप माटो मात्र सत्य हो । घैंटोको अस्तित्व घैंटो बन्नुभन्दा अगाडि थिएन । घैंटो नष्ट भएपछि यसको अस्तित्व माटोमा नै परिणत हुन्छ यसकारण माटो सत्य हो । घैंंटो असत्य हो ।
सद्ब्रह्मकार्यं सकलं सदैव सन्मात्रमेतन्न ततोऽन्यदस्ति ।
अस्तीति यो वक्ति न तस्य मोहो विनिर्गतो निद्रितवत्प्रजल्पः ।।२३२।।
सत् ब्रह्माको कार्य यो सकल (जगत्) प्रपन्च सदा ब्रह्म नै हो ब्रह्मभन्दा भिन्न अरू केही छैन । यदि कसैले (जगत्) ब्रह्मदेखि भिन्न छ भन्दछ भने उसको मोह (अज्ञान) अझै हटेको छैन । जगत्् भिन्नताको बोध निन्द्राको वरवराहट जस्तै प्रलाप मात्र हो । ।।२३२।।
जसरी माटोको कार्य घैंटो आदि माटो निर्मित वस्तुहरू हुन् । माटोबाट भिन्न छैनन् । त्यस्तै यो सम्पूर्ण जगत्, ब्रह्माण्ड, पदार्थ आदि जुन पन्चीकृत भूत (आकाश, जल, अग्नि, वायु, पृथ्वी) द्वारा निर्मित वस्तुहरू छन् ती पनि सत ब्रह्मदेखि भिन्न छैन । किनकि यदि आकाश आदि भूतलाई अपन्चीकृत भूत रूपबाट पृथक् गर्दै गयो भने सत्ब्रह्म मात्र अवशिष्ट (शेष) रहन्छ । ब्रह्मवाहेक त्यहाँ शेष केही बच्दैन । त्यसैले यो जगत्, आकाश आदि सम्पूर्ण जगत्प्रपन्च ब्रह्मको कार्य हो । यदि कसैले ब्रह्म र जगत् भिन्न छ भनेर भन्दछ भने यो अज्ञानीको मत हो ।
ब्रह्मैवेदं विश्वमित्येव वाणी श्रौती ब्रूतेऽथर्वनिष्ठा वरिष्ठा ।
तस्मादेतद् ब्रह्ममात्रं हि विश्वं नाधिष्ठानाद्भिन्नताऽऽरोपितस्य ।।२३३।।
यो सम्पूर्ण विश्व ब्रह्म हो । यो अती श्रेष्ठ अथर्व श्रुतीमा पनि भनिएको छ । यसैले विश्व ब्रह्म मात्रै हो । किनभने आरोपित वस्तुको सत्ता अधिष्ठानदेखि भिन्न हुन सक्दैन् । ।।२३३।।
श्रुती प्रमाण पनि भन्दछ कि यो विश्वमात्र ब्रह्म हो । श्रुतीले पनि ब्रह्म अतीरिक्त अन्य सम्पूर्ण सत्तालाई निषेध गरेको छ । जो वस्तु आरोपित वा कल्पित छ, उसको सत्ता अधिष्ठान (आश्रयस्थान) बाट भिन्न हुन सक्दैन । जसरी साँझमा डोरी अज्ञान वा भ्रान्तिवस सर्पझैं प्रतीत हुन्छ तर यथार्थमा सर्पको कुनै अस्तित्व हुँदैन । यो उदाहरणमा डोरी अधिष्ठान र सर्पको प्रतीति आरोपित हो । प्रकाशको उपस्थितीमा जब यो कल्पित सत्ताको भ्रम नष्ट हुन्छ, मात्र अधिष्ठान डोरी शेष रहन्छ । यस्तै यो जगत्मा पनि ब्रह्म अधिष्ठान र जगत् आरोपित हो । आरोपित वस्तुको उपस्थिती मात्र प्रतीति हो । मिथ्या हो । यसैले यहाँ ब्रह्म बाहेक अन्य केही छैन ।