‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधं अरियसच्चं– यो तस्सायेव तण्हाय असेसविरागनिरोधो चागो पटिनिस्सग्गो मुत्ति अनालयो ।’’
अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध आर्य सत्य, जुन तृष्णाको सर्वथा विराग–निरोध, त्याग, प्रतिनिसर्ग, मुक्ति, अनालयको अवस्थामा छ ।
हाल निरोधको अर्थ रोक्नु, दबाउनु आदि अर्थमा रहेको छ तर भगवान्को समयमा निरोधको अर्थ हुन्थ्यो जरादेखि नै उखेलेर फाल्नु । त्यसैले दुःख निरोध त्यो अवस्था हो, जहाँ दुःख (दुःखचक्र) सधैँका लागि समाप्त भएको हुन्छ । यस अवस्थामा दुःखका जरा वा चित्तको संस्कार विपश्यना साधनाका कारण उच्छेद भएर नष्ट हुन्छन् । यी जरा यसरी नष्ट हुन्छन् कि पुनः पलाउने सम्भावनै रहेको हुँदैन । यस अवस्थामा विषयप्रति मनमा जुन तृष्णा उपस्थित हुन्छन् ती सम्पूर्ण विषयका तृष्णा समाप्त हुन्छन् र जीवनको जुन निर्वाण अवस्था छ त्यो प्राप्त हुन्छ । यस अवस्थामा विषय र इन्द्रियको मिलनबाट मनमा सुखद वा दुखद जुनसुकै संवेदना उत्पन्न भए पनि पूर्ण समभावी बनिसकेको चित्त वा मनले ती संवेदनालाई भोग गर्दैन, जसले गर्दा निर्वाण प्राप्त पुरुष साधारण मानिस जस्तै सुखद संवेदना प्राप्त हुँदा खुसी र दुःखद संवेदना प्राप्त हुँदा दुःखी हुने गर्दैनन् । अर्थात् मनका संवेदनाले निर्वाण प्राप्त पुरुषलाई विचलित गर्न सक्दैन । मोक्ष पुरुषको चित्त जुनसुकै स्थितिमा पनि पूर्ण समभावको अवस्थामा रहन्छ ।
दुख निरोध आर्य सत्यमा कसरी विपश्यना साधना गरिन्छ ?
जब तपाईं दुःख निरोध आर्य सत्यमा साधना गर्नुहुन्छ अथवा जब तपाईं दुःख निरोध (निर्वाणको अवस्था) प्राप्त गर्ने प्रयास (साधना) गर्नुहुन्छ यो साधना पनि देह र चित्तको क्षेत्रमा उत्पन्न हुने सुखद र दुखद संवेदनामै गर्नुहुन्छ । जब तपाईंको काय र चित्तमा संवेदना उत्पन्न हुन्छन्, जब उत्पन्न संवेदनाप्रति तपाईंको चित्तमा रागपूर्ण वा द्वेषपूर्ण तृष्णा जाग्छ तपाईं त्यस क्षणमा यी संवेदनाप्रति स्मृतिवान् बन्नुहुन्छ, प्रज्ञावान् बन्नुहुन्छ वा सम्यक दृष्टिले यी संवेदनाका अनित्य गुण, स्वभाव र धर्मलाई अवलोकन गरिरहनुहुन्छ । यही नै विपश्यना साधना हो । यसरी दुःख निरोध सत्यमाथि साधना गरिन्छ ।