जब भगवान्ले चार सत्यको व्याख्या गर्नुभयो भगवान्को यस व्याख्याको मुख्य उद्देश्य निर्वाण अभिलाषी साधकहरुलाई निर्वाण साधनाको सत्य साधना मार्ग प्रर्दशन गर्नु थियो । संसारका मानिसलाई आफ्नै जीवनमा छिपेका चार सत्यसँग परिचित गराउँदै कसरी आफैँमा छिपेका यी चार सत्यमाथि साधना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ ? वा कसरी स्वयंमा छिपेका यी सत्यमाथि साधना गरी एक अनार्य (चित्तमा छिपेका संस्कार युक्त मानिस) आर्य (चित्तमा विकाररहित सन्त वा निर्वाण पुरुष) मा रुपान्तरित हुन्छ भन्ने सत्यमाथि प्रकाश पार्नु थियो । स्मरणरहोस् जब तपाईं स्वयंमा छिपेका चार सत्यमाथि साधना गरी अनार्य (सांसारिक संस्कारयुक्त मानिस) बाट आर्य (सन्त वा निर्वाण प्राप्त शुद्ध चित्त पुरुष) बन्नुहुन्छ त्यस स्थितिमा यी चार सत्य नै चार आर्य सत्यमा परिणत हुन्छन् । चार सत्य र चार आर्य सत्य बिचको पृथकता यहि हो ।
जब कुनै साधक मार्ग सत्य (आर्य अष्टाङ्गमार्ग वा विपश्यना) साधनाद्वारा समुदय सत्य (दुःख उत्पत्तिका कारणरूप चित्तको संवेदना भोग गर्ने स्वभाव वा तृष्णा) लाई नष्ट गथ्र्यो त्यस स्थितिमा उसले समानान्तररूपमा दुःख (दुःख सत्य) लाई नाश गर्दै निर्वाण (निरोध वा निर्वाण) सत्य प्राप्त गथ्र्याे । यसरी निर्वाण साधनाको केन्द्रमा यिनै चार सत्य छिपेका थिए ।
यसरी मानिसमा छिपेका चार सत्यलाई भगवान्ले निर्वाण साधनाको केन्द्रको रूपमा स्पष्ट व्याख्या गर्दागर्दै वा निर्वाण साधना भन्नु नै चार सत्यमाथि गरिने साधना हो भनेर स्पष्ट शब्दमा भन्दाभन्दै पनि जब तपाईं हाल बजारमा उपलब्ध भगवान् बुद्धसँग सम्बन्धित पुस्तकहरूलाई अध्ययन गर्नुहुन्छ वा सामाजिक सञ्जालमा प्राप्त हुने अनेक गुरुका चार सत्य, चार आर्य सत्य सम्बन्धी प्रवचन वा व्याख्यानलाई श्रवण गर्नुहुन्छ । यी पुस्तक वा गुरुहरूले चार सत्य (दुःख छ, दुःखको कारण छ, दुःख निरोध वा निर्वाण स्थिति छ, दुःख निरोध मार्ग छ) लाई निर्वाण वा विपश्यना साधनासँग सम्बन्ध नै नभएको भगवान् बुद्धले प्रतिपादन गर्नुभएको कुनै कोरा बौद्धिक दर्शन, धारणा, सिद्धान्त, मत आदिको रूपमा व्याख्या गरेका छन् । चार सत्यमाथि गरिने साधनाको व्याख्या नै बिर्सेर वा कसरी चार सत्यमाथि साधना गरी निर्वाण प्राप्त गरिन्छ ? भन्ने मूल व्याख्या नै नगरी चार सत्य, चार आर्य सत्यमाथि अनेक प्रकारका बौद्धिक, सैद्धान्तिक व्याख्या गरेका छन्, जुन नितान्त भ्रामक छ ।
चार आर्य सत्य भगवान् बुद्धद्वारा प्रतिपादित बौद्धिक सिद्धान्त, मत, दर्शन, धारणा होइन । सम्यक सम्बुद्धहरू कुनै दर्शन, सिद्धान्त, मत, धारणा प्रतिपादन गर्दैनन् । सम्यक सम्बुद्धहरू जगत् र जीवनमा छिपेका सत्यलाई प्रकाश गर्छन् । चार आर्य सत्यको व्याख्यामा पनि भगवान्ले मात्र मानिसमा छिपेका चार सत्य (जुन बुझ्न साधारण मानिस असमर्थ छन्) लाई स्वयंले साधनाद्वारा प्रामाणिकरूपमा बोध गरी जगत्का मानिसका लागि प्रदान गर्नुभएको छ वा प्रकाश पार्नुभएको थियो । जब भगवान्ले गर्नुभएको चार आर्य सत्यको व्याख्यालाई यसरी भ्रामक वा बौद्धिकरूपमा व्याख्या गरिन्छ यी भ्रामक वा अपभ्रंशित व्याख्याले विपश्यनाका साधकमा द्विविधा, अन्योल, भ्रम उत्पन्न विपश्यना साधनालाई पनि प्रत्यक्षरूपमा प्रभाव पार्न सक्छ । यसर्थ चार आर्य सत्यमाथि गरिने व्याख्याप्रति प्रत्येक विपश्वी साधक सचेत हुन आवश्यक छ ।