सम्यक वाणी साधना त्यस्तो साधना हो, जुन साधनामा तपाईं वाणीका क्षणहरूमा न राग न द्वेष वा सम्यक स्थितिमा मात्र रहन प्रयास (साधना) गर्नुहुन्छ । सम्यक वाणी साधना मूलतः वाणीका क्षणमा मनमा उत्पन्न हुने विचार (कर्म) सँगसँगै मनमा उत्पन्न हुने विषयप्रतिका रागपूर्ण र द्वेषपूर्ण संवेदनाप्रति आन्तरिकरूपमा जागरुक र समभावी भएर नै गरिन्छ । सम्यक वाणी साधना आर्य अष्टाङ्गमार्गको शील समूहको साधना पनि हो । जब शील साधना भनिन्छ यस साधनामा शील, सदाचार, आचरणको साधना कर्महरू आदि पनि स्वतः जोडिएर आउँछन् । मूलतः यही कारण शील साधनामा निःकृष्ट कर्महरूलाई बाह्यरूपमै त्याग गरिन्छ । सम्यक वाणी साधनालाई व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
“कतमा च, भिक्खवे, सम्मावाचा ? मुसावादा वेरमणी, पिसुणाय वाचाय वेरमणी, फरुसाय वाचाय वेरमणी, सम्फप्पलामा वेरमणी । अयं वुच्चति, भिक्खवे, सम्मावाचा ।”
अर्थात् हे भिक्षुहरू ! के हो ? सम्यक वचन ? झुठो बोल्नुबाट विरत रहनु, चुक्ली लगाउनुबाट विरत रहनु, कठोर वचन बोल्नुबाट विरत रहनु, बकवास वा व्यर्थ कुराबाट विरत रहनु । भिक्षुहरू ! यसैलाई सम्यक वचन भनिन्छ ।
झुठो नबोल्नु, कसैको चुक्ली नलगाउनु, कटुवचन नबोल्नु, व्यर्थ वचन नबोल्नु जस्ता वाणीको शुद्धता वा पवित्रता नै सम्यक वाणी साधना हुन् तर माथिका उदाहरणले मात्र सम्यक वाणीलाई पूर्णरूपमा परिभाषित गर्न सक्दैन । कुनै वाणी त्यस अवस्थामा मात्र सम्यक बन्न सक्छ जब त्यो वाणी शुद्ध हुन्छ वा जब त्यो वाणी राग र द्वेष निरत हुन्छ । कसैप्रति मोहित भएर बोलिएका छन् भने प्रिय वचन पनि सम्यक वाणी हुन सक्दैन ।
सम्यक वाणी आफैँमा एक साधना हो । जब साधक विपश्यना वा अष्टाङ्गमार्गको साधनामा प्रवेश गर्छ तब उसले वाणीमा साधना गर्छ । उसले पञ्चशीलमध्येको एक शील झुठो नबोल्ने प्रतिज्ञा गर्छ । त्यसपछि पनि प्रतिक्षण ऊ आफ्ना प्रत्येक वचन वा शब्दहरूप्रति जागरुक बन्छ, होशपूर्ण बन्छ । कतै मेरा वचन रागपूर्ण र द्वेषपूर्ण त भइरहेको छैन ? बोल्दाबोल्दै कतै रागपूर्ण वा द्वेषपूर्ण भई बहकिइरहेको त छैन ? आदि कुरामा सचेत रहन्छ ।
वाणीमा रागद्वेष वा अशुद्धताको मूल कारण मनमा छिपेका लोभ, मोह, इष्र्या जस्ता नकारात्मक विचार वा विकार नै हुन् । विपश्यना ध्यानमा जब साधकले संवेदनाप्रति समभावी बनेर संस्कार वा विकारको जरो उखेल्ने कार्य गर्छ तब शनैःशनैः ती विकार क्षय हुँदै जान्छन् । जतिजति विकार क्षय हुँदै जान्छन् त्यतित्यति विकार क्षयसँगै साधकको वाणी शुद्ध हुँदै जान्छ, सम्यक हुँदै जान्छ । झुठो बोल्ने, चुक्ली लगाउने, कटुवचन बोल्ने जस्ता कार्यबाट साधक बिस्तारै टाढा हुँदै जान्छ ।
बुद्ध साहित्यमा भनिएको छ कि आर्य (सन्त) मार्गको पहिलो सोतापन्न अवस्थामा साधकको झुठो बोल्ने वृत्ति नष्ट हुन्छ । अनागामी अवस्थामा कटुवचन, चुक्ली वचन बोल्ने स्वभाव नष्ट हुन्छ । जब विपश्यनाद्वारा चित्तका सम्पूर्ण विकार नष्ट हुन्छन् वा साधकले अरहंत अवस्था प्राप्त गर्छ तब उसबाट व्यर्थ शब्द कहीँल्यै निस्किँदैनन् । उसले जे बोल्छ त्यो सत्य, शुद्ध, सम्यक वचन हुन पुग्छ । जागरुकताको उच्च तहबाट प्रकट भएका शब्द भएकाले ती शब्द सारपूर्ण, गहन र गम्भीर प्रकृतिका हुन्छन् । ती वचन पूर्णरूपमा राग र द्वेष निरत भएकाले अत्यन्त प्रभावकारी हुन्छन् । बुद्धका प्रत्येक वचन वा शब्दमा वचन वा शब्दको सम्यक स्थिति स्पष्टरूपमा देख्न सकिन्छ ।