संसारमा वेद, उपनिषद, गीता, शिवसूत्र आदि अनेक मोक्ष ग्रन्थहरू छन् । त्यस्तै बाइबल, कुरान आदि मोक्ष ग्रन्थहरू पनि छन् । महिर्षिहरूद्वारा व्याख्या गरिएका अनेक मोक्ष साधना ग्रन्थहरू पनि छन् । वर्तमान समयमा पनि विवेकानन्द, रमण महर्षि, साइबाबा, रामकृष्ण परमहंस आदिदेखि ओशो, जे. कृष्णमूर्ति आदिले पनि मोक्षको व्याख्या गरेका छन् तर ती सम्पूर्ण ग्रन्थहरू, व्याख्याहरू र गुरुहरू निर्वाण साधनाको प्रथम विन्दुदेखि अन्तिम विन्दुसम्म साधक साधनाका कुनकुन चरणबाट गुज्रिन्छ ? साधकले साधनाको कुन चरणमा कुन अनुभूति प्राप्त गर्छ ? निर्वाण साधनाले कसरी निर्वाण प्रदान गर्छ ? आदि कुराको व्याख्या गर्न असमर्थ छन् । अर्थात् व्याख्या गरेका छैनन्, जसको कारण असङ्ख्य साधकहरू मोक्ष साधनाको चरणबद्ध आध्यात्मिक रूपान्तरणको प्रक्रिया बुझ्न असमर्थ छन् ।
निर्वाण साधनामा कति चरण छन् ? साधनाको कुन चरणमा साधकले केके अनुभूति प्राप्त गर्छ ? म साधनाको कुन स्थिति वा चरणमा छु ? साधनामा प्रगति भइरहेको छ कि छैन ? साधनाकालमा प्राप्त भएका शान्ति, आनन्दका अनुभूतिहरू के हुन् ? आदि प्रश्नको स्पष्ट उत्तर प्राप्त गर्न असमर्थ छन् । मूलतः यही कारण निर्वाण साधनाका प्रायः (वा सम्पूर्ण) साधक द्विविधा, भ्रम वा अन्योलमा छन् । यिनै द्विविधाका कारण साधनाकालमा (मुख्यत ध्यान साधना) मा उत्पन्न हुने अनेक प्रकारका क्षणिक शान्ति, खुसी, आनन्द आदिका अनुभूतिलाई आध्यात्मिक प्रगतिको संज्ञा दिँदै मूल लक्ष्य अविनाशी, परमशान्ति, परमआनन्द, परम खुसीका क्षेत्रसम्म पुग्न असमर्थ छन् ।
यथार्थमा ती शास्त्र, गुरु आदिका अस्पष्ट, साङ्केतिक, अपूर्ण, अप्रत्यक्ष व्याख्या नै साधकले निर्वाण प्राप्त गर्न असमर्थ हुनुको प्रमुख कारण बन्न पुगेको छ । साधनाकालमा उत्पन्न हुने प्रश्नहरूको स्पष्ट उत्तर प्राप्त नभएका कारण असङ्ख्य साधक, साधिकाहरू लक्ष्य प्राप्त गर्न असमर्थ भई उनीहरूका समय र जीवन बर्बाद भइरहेको छ । यसरी संसारका सम्पूर्ण मोक्षशास्त्र वा सम्पूर्ण आध्यात्मिक महापुरुषहरूले स्पष्टरूपमा व्याख्या गर्न असमर्थ (वा नगरेका) कारण मोक्ष साधनाको प्रथम विन्दुदेखि अन्तिम विन्दुसम्मका सम्पूर्ण चरण र प्रत्येक चरणका अनुभूतिहरूका व्याख्या भगवान् बुद्धले अत्यन्त सरल र स्पष्ट भाषामा गर्नुभएको छ ।
विपश्यना साधनामा भगवान्ले गर्नुभएका निर्वाण साधनाका विभिन्न बाह्र चरणहरू र ती चरणका अनुभूतिहरूको व्याख्याले भगवान् साधकहरू साधनाको कुनै पनि स्थितिमा भ्रमित नहुन्, साधनामार्ग पहिल्याउन असमर्थ भई साधनाबाट च्युत नहुन्, स्वयं झैँ साधना सङ्घर्षहरूमा नपरून् भन्नेजस्ता तथ्यहरूप्रति पनि अत्यन्त सचेत हुनुहुन्थ्यो भन्ने तथ्यलाई पनि प्रकाश पार्छ । भगवान्ले जुन सरल र स्पष्टता पूर्वक ती चरणहरूका व्याख्या गर्नुभएको छ, यस्तो सरल र स्पष्टता संसारमा प्रचलित कुनै पनि मोक्ष शास्त्रहरू मात्र नभई हिन्दूधर्मको मूल मोक्षग्रन्थ मानिएको गीतामा भगवान् कृष्णबाट समेत भएको पाइँदैन ।