यहाँसम्म आइपुग्दा तपाईंले विपश्यना साधनाका लागि आवश्यक पर्ने सम्पूर्ण सैद्धान्तिक पक्षको जानकारी वा ज्ञान प्राप्त गरिसक्नुभएको छ । अब तपाईं विपश्यना साधनाको यही सैद्धान्तिक ज्ञानलाई साधनामा उतार्न गइरहनुभएको छ । आउनुहोस् अब त्यसलाई व्यवहारमा उतार्ने साधनामा प्रवेश गरौँ ।
९.२.१. आसन ग्रहण गर्नुहोस्
विपश्यना साधनालाई अघि बढाउन सर्वप्रथम आसन ग्रहण गर्नुहोस् । लामो अभ्यासका कारण तपाईंको मनको स्वभाव यस्तो भइसकेको छ कि यो मन कि भविष्यका स्मृतिमा, (विषय) कि वर्तमानका विषयमा, कि भविष्यका कल्पना (विषय) मा विचरण गर्न रुचाउँछ । यसरी विषयहरूमा विचरण गरिरहने मन वा चित्तको स्वभावलाई हस्तक्षेप नगर्ने हो भने तपाईंको चित्तमा नयाँ संस्कार उत्पत्ति र पुराना संस्कार विस्तार भइरहन्छ । यस्तो स्थितिमा तपाईं निर्वाण लक्ष्यबाट टाढा गइरहनुहुन्छ ।
त्यसैले विपश्यना साधनाको प्रारम्भिक चरणमा चित्तको यस्तो चञ्चल स्वभावलाई नष्ट गरी निर्वाण प्राप्त गर्न मनको चञ्चल र बहिर्मुखी स्वभावमाथि हस्तक्षेप गरिन्छ । संवेदनाहरूप्रतिको राग र द्वेषका कारण विभिन्न विषयमा विचरण गरिरहने चित्तको स्वभावलाई परिवर्तन गर्नका लागि चित्तलाई श्वासप्रश्वासमा जागरुक रहन प्रशिक्षण दिइन्छ । मनलाई प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वासप्रश्वसप्रति जागरुक र पूर्णशुद्धरूपमा अवलोकन गर्न सिकाइन्छ, जसलाई आनापानसति भनिन्छ ।
आनापानसति साधनामा बाह्य व्यवधान वा कोलाहल आदि सिर्जना नहोस्, साधनाको लय वा गति खण्डित नहोस्, साधनाले सहजरूपले गहिराइमा प्रवेश पाओस् भन्ने उद्देश्यले अरण्य (वन) मा वृक्षको तल वा कुनै शान्त स्थल जस्तै शून्यागर (ध्यानकक्ष), नदी किनार, पूजाकोठा आदि स्थान छान्नुहोस् । जब साधनाका लागि अनुकुल स्थान प्राप्त गर्नुहुन्छ तब आसनमा बस्नुहोस् ।
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ?
विपश्यना साधनाका लागि कस्तो आसनको आवश्यकता पर्छ ?
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ?
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ?
आसनसँग जोडिएका माथिका प्रश्नहरुको उत्तर अध्यायमा एघारमा दिइएको छ ।