शील साधना मूलत सदाचार साधना हो । शील साधनाको मुख्य ध्येय बाह्यरूपमै त्यस्ता निच कर्मलाई त्याग गर्नु हो, जुन कर्मले तपाईंका जीवनमा निकृष्ट संस्कारलाई प्रवेश गराउँछ । शील साधनाको दोस्रो उद्देश्य समाधि साधना र प्रज्ञा साधनालाई पुष्ट गर्नु हो । जुन क्षणसम्म तपाईं बाह्यरूपमै निच कर्मलाई त्याग गर्नुहुन्न अर्थात् जतिबेलासम्म तपार्इँ निच सांसारिक कर्महरूप्रति आकर्षित भइरहनु हुन्छ तबसम्म तपाईंको ध्यान साधनाले लय समात्न सक्दैन ।
त्यस्तै जबसम्म तपाईंको ध्यान साधनाले लय समात्न सक्दैन तबसम्म तपाईंको समाधि साधना पुष्ट हुन सक्दैन ।
त्यसैगरी जबसम्म तपाईंको समाधि साधना पुष्ट हुँदैन तबसम्म तपाईंमा प्रज्ञा (संवेदना उदय र व्ययका कारण प्राप्त हुने आन्तरिक रूपान्तरणको प्रामाणिक ज्ञान) उत्पन्नै हुँदैन । यस्तो स्थितिमा तपाईं वर्षौँ त के कल्पौँसम्म साधनारत रहे पनि साधनामा असफल हुन पुग्नुहुन्छ ।
त्यस्तै जब तपाईं शील साधनालाई बारम्बार भङ्ग गर्नुहुन्छ तब तपाईंको सङ्कल्प शक्ति क्षय हुन पुगी ग्लानीले भरिन पुग्नुहुन्छ । जब तपाईंमा सङ्कल्प शक्ति कमजोर हुन्छ तब निर्वाण जस्तो दुरुह साधना सफल हुनै सक्दैन । त्यसैले विपश्यना साधनाको प्रारम्भिक चरणमा तपाईंले पञ्चशील ग्रहण गर्नुपर्ने हुन्छ । अर्थात् हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुठ नबोल्ने र मादक पदार्थ सेवन नगर्ने कर्महरूप्रति सङ्कल्प लिनुपर्ने हुन्छ । तपाईं पन्चशील ग्रहण गर्नुहोस् ।
जब तपाईं बुद्धसाहित्यलाई अध्ययन गर्नुहुन्छ तपाईं देख्नुहुन्छ कि जतिजति साधकले साधनामा प्रगति गर्दै जान्छ त्यतित्यति शीलहरू पनि थपिँदै जान्छन् । यसैले गर्दा बुद्धसाहित्यमा आठ शील, दस शील आदि उल्लेख गरिएको पाइन्छ । भगवान् बुद्धले भिक्षुहरूलाई २२७ शील र भिक्षुणीहरूलाई ३११ अनुशासन वा शीलका नियम प्रदान गर्नुभएको कुरा विनय पिटकमा उल्लेख गरिएको छ । भगवान्ले नै साधक साधिकालाई यति धेरै शीलका नियम प्रदान गर्नुभएकाले निर्वाण साधनामा शील साधनाको कति बढी महत्व छ भन्ने कुरा आफैँ प्रष्ट हुन आउँछ । स्पष्ट छ– जबसम्म तपाईं शील र सदाचारलाई जीवनमा उतार्न असमर्थ रहनुहुन्छ अर्थात् जबसम्म तपाईं अनियन्त्रितरूपमा निकृष्ट सांसारिक कर्महरूमा विचरण गरिरहनुहुन्छ तबसम्म तपाईंमा प्रतिलोम चक्र उत्पत्ति हुनै सक्दैन, तपार्इँ साधनामा सफल हुनै सक्नुहुन्न । त्यसैले सर्वप्रथम पञ्चशीललाई ग्रहण गर्नुहोस् । भगवान्ले निषेध गर्नुभएका कर्महरू नगर्ने प्रतिज्ञा गर्नुहोस् । पञ्चशील ग्रहणपश्चात् तपाईं प्रत्यक्ष विपश्यना साधनामा प्रवेश गरीरहनुभएको छ भने तथ्यप्रति स्पष्ट हुनुहोस् ।
शील साधनाको चर्चा गर्दा यदि तपाईं विपश्यना साधनाको गम्भीर साधक हुनुहुन्छ भने तपाईं सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविकामा छिपेका मर्मप्रति उदासीन रहन सक्नुहुन्न । तसर्थ जब बिहानबेलुका एकएक घण्टा गरिने विपश्यना साधनालाई समाप्त गर्नुहुन्छ तत्पश्चात् पनि कर्म, वाणी र आजीविका सम्पूर्ण क्षणमा साधनारत रहने प्रयास गर्नुहोस् । निर्वाण प्राप्त गर्ने असाधारण साधकले कर्म, वाणी र आजिवकाका सम्पूर्ण क्षणमा सम्यक वा न राग न द्वेषको स्थितिमा रहन सकेकाले नै त्यस्तो अवस्था प्राप्त गर्न सकेका हुन् भन्ने तथ्यप्रति स्पष्ट हुनुहोस् ।
पञ्चशील ग्रहण विपश्यना साधनाको प्रथम कदम हो । यस क्षणबाट नै तपाईं आर्य अष्टाङ्गमार्ग साधनाका आठ साधनामध्ये तीन साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका) जीवनमा उतार्न थालिसक्नुभएको छ भन्ने तथ्यप्रति पनि सचेत हुनुहोस् । आफूले धम्मका शाश्वत नियमहरूमा साधनाका संस्कारबीज छर्न थालेको छु भन्ने तथ्य बोध गर्नुहोस् । पञ्चशील ग्रहणपश्चात् विपश्यना साधनाको प्रारम्भमा आसन ग्रहण गरिन्छ । त्यसैले आसन ग्रहणका लागि तयारी गर्नुहोस् ।