अब तपाईं आनापानसति साधनाको तयारी गर्नुहोस् । यस क्रममा जब तपाईं आसन ग्रहण गर्नुहन्छ तत्पश्चात् आनापानसति साधना प्रारम्भ गर्नुहुन्छ ।
विपश्यना साधनाको समाधि साधनामा सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि आदि साधना पर्छन् । आनापानसति साधनापश्चात् तपाईं आर्य अष्टाङ्गमार्गको समाधि क्षेत्रको साधनामा प्रवेश गर्न गइरहनुभएको छ । यसरी तपार्ईँ आर्य अष्टाङ्गमार्गका शील साधना, समाधि साधनामा प्रवेश गरिरहनुभएको छ । त्यसैले आनापानसति साधना प्रारम्भ गर्नुहोस् ।
आनापानसति साधनाको अर्थ हो प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वासप्रश्वास प्रक्रियालाई शुद्धरूपमा अवलोकन गर्नु । त्यसैले ध्यानलाई प्राकृतिकरूपमा प्रवाहित श्वासप्रश्वासमा केन्द्रित गर्नुहोस् । तत्पश्चात् प्राकृतिकरूपमा प्रवाहित श्वासप्रश्वासको गतिलाई यथाभूतरूपमा जान्नुहोस् । लामो श्वास लिँदा राम्रोसँग जान्नुहोस् कि लामो श्वास लिइरहेको छु । लामो श्वास छोड्दा राम्रोसँग जान्नुहोस् कि लामो श्वास छोडिरहेको छु । छोटो श्वास लिदाँ राम्रोसँग जान्नुहोस् कि छोटो श्वास लिइरहेको छु । छोटो श्वास छोड्दा राम्रोसँग जान्नुहोस् कि छोटो श्वास छोडिरहेको छु ।
जब तपाईं प्राकृतिकरूपमा सतत प्रवाहित श्वासप्रश्वासलाई यथाभूतरूपमा वा विना कुनै रागपूर्ण र द्वेषपूर्ण प्रतिक्रिया अवलोकन गर्नुहन्छ तब तपाईंमा छिपेका धम्मका शाश्वत नियमहरूले तपाईंको जागरुकताको साधनाबीजलाई विस्तार गर्न थाल्छन्, जसका कारण भूतकालका स्मृतिहरू, वर्तमानकालका विषयहरू र भविष्यका कल्पनाहरूमा बेहोश भएर डुिलरहने तपाईंको मनको बहिर्मुखी स्वभाव शनैःशनैः नाश हुन थाल्छ । आनापानसति वा श्वासप्रश्वासप्रतिको जागरुकताका क्षणहरूमा तपाईंमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) पनि निर्माण नहुने भएकाले तपाईंमा नयाँ संस्कार उत्पन्न हुने, पूर्व संस्कारहरू विस्तार हुने आदि प्रक्रिया पनि ह्रास हुन थाल्छ । यसरी तपाईं चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई परिवर्तन गर्न प्रारम्भ गर्नुहुन्छ, आफैँमा निर्वाण उत्पन्न गर्न प्रारम्भ गर्नहुन्छ, दुख विनाश र निर्वाणप्राप्तिको क्षेत्रमा पाइला चाल्नुहुन्छ ।