जब तपाईं विपश्यना साधनाबाट बाहिर आउनुहुन्छ त्यस क्षणमा चौवीसै घण्टा क्रियाशील धम्मका नियमहरूले तपाईंमा बन्धन निर्माण र विस्तार गर्न प्रारम्भ गरिहाल्छ । विपश्यना साधनाबाट बाहिर आएपछि पनि कर्म, वाणी, आजीविकाका सम्पूर्ण क्षणमा जागरुक र समभावी रहनुहोस् । जब हिँड्नुहुन्छ, जब स्नान गर्नुहुन्छ, जब भोजन गर्नुहुन्छ, जे कर्म गरिरहनुभएको छ त्यसप्रति जागरुक बनिरहनुहोस् । शरीरको जुन भागमा हलचल भइरहेको छ, संवेदनाहरू उत्पत्ति भइरहेको छ त्यसलाई पनि यथाभूतरूपमा जान्नुहोस् ।
राति जब सुत्न जानुहुन्छ त्यस क्षणमा पनि कायमा उत्पन्न संवेदनाको बोध गरिरहनुहोस् । अनित्य बोधको चैतन्य जगाइराख्नुहोस् । रात्रि वा सुत्ने समयमा गरिने विपश्यनाको व्याख्या गर्ने क्रममा गुरु गोयन्का आफ्नै अनुभूतिलाई व्याख्या गर्दै भन्नुहुन्छ– ‘रात्रिमा पनि आफूभित्र संवेदनाको अनित्य बोधको चैतन्य जागिरहेको हुन्छ । अलिअलि निद्रा, अलिअलि जागृति, कहिले काँही त पूरा रात नै यसरी बित्छ । निद्राको नाम निसानै रहँदैन । जब सम्पूर्ण रात अनित्य बोधको चैतन्यबाट बिहान जागिन्छ त्यस स्थितिमा अत्यन्त हलुकापन बोध हुन्छ, मानौँ शरीर गहिरो निद्राबाट बिउँझिएको छ । रात्रिमा जर्बजस्ती जागा नबस्नुहोस्, रात्रिमा विपश्यना गर्दागर्दै जब प्राकृतिकरूपमा निद्रा आउँछ तब निदाउनुहोस् । जब बिहान उठ्नुहुन्छ त्यस क्षणमा पनि कायमा संवेदनाहरूको अनित्य गुण, धर्म र स्वभावको बोध गर्नुहोस् ।’
यसरी काय र चित्त क्षेत्रका संवेदनालाई विपश्यनाको विधिअनुरूप दीर्घकालसम्म निरन्तरता दिइरहनुहोस् । कहिले निर्वाण प्राप्त हुन्छ भन्ने कुराको परिणामप्रति व्याग्र नबनी विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् । जब तपाईं दीर्घकालसम्म यसरी धर्मचक्र साधनालाई निरन्तरता दिइरहनुहुन्छ त्यस स्थितिमा तपाईंमा चित्तका विकारहरू शनैःशनैः क्षय हुँदै गएर चित्तका प्राकृतिक गुण शनैःशनैः प्रकट हुन थाल्छन् । तपाईंको चित्तमा स्मृति (जागरुकता), धर्मविचय (चित्तले जे धर्म ग्रहण गर्छ त्यस धर्मलाई विघटन गर्नु), वीर्य (साधनामा लगनशीलता वा पुरुषार्थ), प्रिति (चित्तका संस्कारहरू नाश हुँदै जाँदा मनमा उत्पन्न हुने अनेक शान्ति, आनन्दका अनुभूति), प्रश्रब्धि (चित्तका संस्कार नाश हुँदै जाँदा कायमा उत्पन्न हुने शान्तपना), समाधि (सघन एकाग्रताको स्थिति) आदि गुणहरू प्रकट हुँदै जान्छन् ।
विपश्यना बाहेकका अन्य निर्वाण साधनाविधिहरूमा साधनाकालमा उत्पन्न हुने यी अनेक प्रकारका सुख, शान्ति, आनन्दका अनुभूतिहरू पञ्चस्कन्धभित्रकै अनित्य अनुभूति भएकाले यी अनुभूतिलाई पनि भोग गर्नु हुँदैन भन्ने शिक्षा गुरुहरूले प्रदान नगर्नु भएकाले ती अनेक साधनाविधिका साधकहरू साधनाका यी सुखद संवेदनालाई भोग गर्न पुग्छन् । साधनाकालमा सुखद संवेदनाहरू प्राप्त हुँदा खुसी र दुखद संवेदना प्राप्त हुँदा दुःखी बन्छन् । फलतः धम्मका शाश्वत नियमहरूले पुनः रागद्वेषका संस्कारबीज प्राप्त गरी संस्कार नै उत्पन्न र विस्तार गरिदिँदा उनीहरू साधनाबाट च्यूत हुनपुग्छन् ।
साधनाकालमा चित्तका संस्कारहरू क्षय हुँदै जाँदा जब प्रिति–प्रमोद, प्रश्रब्धि समाधि आदि जस्ता सुख, आनन्द, शान्ति आदिका अनुभूति (संवेदना) उत्पन्न हुन्छन् । यी सुखद संवेदनालाई तपाईं भोग नगरी यथाभूतरूपमा मात्र अवलोकन गर्नुहोस् ।
तपाईं साधनाकालमा उत्पन्न हुने चित्तको जागरुकता, धर्मविचय, वीर्य, प्रिति, प्रश्रब्धि, समाधि आदि अवस्थाहरूको विद्यमान र अविद्यामान अवस्था आदिलाई यथाभूतरूपमा जान्नुहोस् । तपाईं काय र चित्तको क्षेत्रमा उत्पन्न कुनै पनि संवेदनाप्रति न राग न द्वेष अर्थात् न खुसी, न दुःखी) मात्र समभावमा यी संवेदनाहरूको अनित्य गुण, धर्म र स्वभावलाई अवलोकन गरिरहनुुहोस् । यसरी विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् ।