निर्वाणपश्चात् भगवान् बुद्धले निर्वाणाभिलाषी साधकहरूले निर्वाण प्राप्त गरुन् भन्ने ध्येयले आठवटा साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि, सम्यक सङ्कल्प, सम्यक दृष्टि) लाई संयोजन गरेर विकास गर्नुभएको पूर्ण सत्य निर्वाण साधनाविधि नै विपश्यना साधना हो । विपश्यना साधनाको विस्तृत व्याख्या माथिका विभिन्न अध्यायमा गरिसकिएको छ ।
धर्मको अर्थ हो मूल गुण । आगोको धर्म पोल्नु, पानीको धर्म चिसो गराउनु भएजस्तै तपाईंका धर्म (मूल गुण) ‘म’ अनुपस्थित मात्र दर्शन वा बोध शेष रहेको शुद्ध चित्तको स्थिति हो । जन्म–जन्मदेखि तपाईंको चित्तमा अनेक प्रकारका संस्कार सङ्ग्रह भएका कारण तँपाईले आफ्नै धर्म वा विशुद्ध चित्तको स्वरूपलाई प्राप्त गर्न सकिरहनुभएको छैन । विपश्यना साधनाको अन्तिम लक्ष्य भनेको चित्तका संस्कार नाश गरी तपाईंलाई शुद्ध चित्तको स्थिति प्रदान गर्नु हो वा तपाईंको धर्म (मूल गुण) प्रदान गर्नु हो । जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ यस साधनाले शनैःशनैः तपाईंको चित्तमा जम्मा भएको संस्कारहरूलाई नष्ट गर्दै ‘म’ भाव अनुपस्थित विशुद्ध चित्तको स्थिति प्रदान गर्छ वा तपाईंको धर्म (मूल गुण) प्रदान गर्छ । यसर्थ विपश्यना धर्मसाधना भनेको धर्म विरोधी साधना होइन ।
तर धर्मको सत्य अर्थ नष्ट भएका कारण संसारमा धर्म सम्बन्धी अनेक धारणा प्रचलनमा छन् । युगौँदेखि प्रचलनमा रहेका यस्ता धर्म सम्बन्धी अनेक धारणाले मानिसको मस्तिष्कमा यति गहिराइसम्म पुगेर जरा गाडेको छ कि हाल मानिसको दृष्टिमा जब धर्म भनिन्छ त्यहाँ ईश्वर, गुरु, धार्मिक क्रियाहरू (पूजा, यज्ञ, मन्त्र उच्चारण, प्रार्थना, भजन आदि) उपस्थित हुनु आवश्यक मानिन्छ । मानिस ईश्वर, गुरु, बाह्य धार्मिक क्रिया अनुपस्थित कुनै पनि कर्म वा साधनालाई धर्म साधना मान्ने कुराको कल्पनासम्म गर्न पनि सक्दैनन् ।
जब धर्मलाई यसरी बाह्य धार्मिक क्रियाका रूपमा बुझेका साधक विपश्यना साधनामा सहभागी हुन्छन्, जब यी साधक विपश्यना साधनामा धर्म, ईश्वर, आत्मा, पूजा, यज्ञ, प्रार्थना आदि धार्मिक विषयक क्रियाका अनुपस्थिति देख्छन्, जब यी साधक विपश्यना साधनामा श्वाशप्रश्वाश र संवेदनाप्रति जागरुक र समभावी हुनुको अतिरिक्त अन्य कुनै प्रचलित बाह्य धार्मिक क्रिया देख्न असमर्थ रहन्छन् त्यस स्थितिमा ती साधकका मनमा विपश्यना साधनाप्रति अनेक किसिमका शङ्का जन्म हुन पुग्छ । त्यस्तो स्थितिमा उनीहरू आफू कतै आफ्नो धर्म, ईश्वर, गुरु, सम्प्रदाय, धार्मिक आस्था विपरीत नास्तिक वा अर्धमको मार्गतर्फ बढिरहेको त छैन ? कतै यो श्वासप्रश्वास र संवेदनामाथिको यथाभूत अवलोकन गर्ने कार्य धर्म विरोधी साधना त होइन ? कुनै धर्म, ईश्वर, गुरु, धार्मिक क्रिया अनुपस्थित यो साधना कसरी धर्म साधना हुनसक्छ ? भन्ने जस्ता प्रश्न मनमा उठाउँछन् । धर्मको भ्रामक परिभाषाबाट प्रभावित यस्ता साधक विपश्यनालाई धर्म विरोधी साधनाको संज्ञा दिन पनि पछि पर्दैनन् ।