भगवान् बुद्धले महासतिपट्ठान सुत्तमा विपश्यना निर्वाण साधनालाई “यस जगत्को एकमात्र सत्य निर्वाण साधना मार्ग” भनेर घोषणा गर्नुभएको छ । जब भगवान् अर्थात् सम्यक सम्बुद्ध विपश्यना साधनालाई जगत्को निर्वाण प्राप्तिको एक मात्र मार्ग सत्य साधना हो भनेर घोषणा गर्नुहुन्छ मोक्ष प्राप्तिका अनेक साधनाविधि प्रचलनमा रहेको वर्तमान सन्दर्भमा स्वभाविकरूपमा प्रश्न उठ्छन् कि आखिर किन भगवान् विपश्यना साधनालार्ई “एकमात्र सत्य निर्वाण साधनामार्ग हो” भनेर घोषणा गर्नुहुन्छ ? के संसारमा प्रचलित अन्य मोक्ष साधनाविधि साँच्चै निर्वाण प्रदान गर्न असमर्थ छन् ? के ती साधनामार्ग निर्वाणका मार्ग नै होइनन् ? के ती निर्वाण साधनाविधि चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) नाश गर्न असमर्थ छन् ? के ती साधनाविधि आंशिक, अपूर्ण, भ्रामक, मिथ्या प्रकृतिका साधनाविधि हुन् ? असङ्ख्य साधकहरूले अनेक प्रकारका साधनामा समाहित भई निर्वाण प्राप्त गर्न प्रयासरत रहेका वर्तमान अवस्थामा भगवान्का यी वचनलाई गहिराइमा पुगेर अवलोकन गर्न अत्यन्त आवश्यक छ ।
आखिर किन भगवान् वा सम्यक सम्बुद्धले विपश्यना साधनालाई संसारको एकमात्र निर्वाणमार्ग वा सत्य निर्वाण साधनाविधि हो भनेर घोषणा हुन्छ ? यस सत्यलाई स्पष्टरूपमा बुझ्न सर्वप्रथम चित्तको संस्कार भनेको के हो भन्ने प्रश्नलाई नै स्पष्टरूपमा बुझ्नुपर्ने हुन्छ । चित्तको संस्कार भनेको ‘विषयहरूप्रतिको राग–द्वेषपूर्ण आशक्ति’ हो कि ‘विषयहरूका कारण उत्पन्न हुने सुखद वा दुःखद संवेदनाहरूप्रतिको आशक्ति’ हो भन्ने कुराको सूक्ष्म भेदप्रति स्पष्ट हुनु आवश्यक हुन्छ ।
आखिर चित्तको संस्कार भनेको के हो ? संसारमा प्रचलित खासगरी हिन्दूधर्मसँग जोडिएका सम्पूर्ण मोक्षशास्त्रहरू मन वा चित्तको विषयप्रतिको तृष्णा वा आशक्ति नै संस्कार हो भन्ने मत राख्छन् । यही कारण उनीहरूले निर्वाण प्राप्तिका लागि मनको विषयप्रतिको आशक्तिलाई नष्ट गर्नुपर्छ भन्ने मान्यता राखेका छन् तर भगवान् बुद्ध यसमा सहमत हुनुहुन्न । उहाँ त्यसको गहिराइमा गएर भन्नुहुन्छ कि संस्कारको अर्थ मनको विषयप्रतिको आशक्ति वा तृष्णा नभई विषयबाट उत्पन्न हुने संवेदनाहरूप्रतिको आशक्ति वा तृष्णा हो ।
यसमा जब तपाईं गहिरिएर अवलोकन गर्नुहुन्छ त्यतिबेला तपाईं भगवान् बुद्धको मत नै सत्य हो भन्ने तथ्यमा स्पष्ट हुनुहुन्छ । तपाईंले यो पनि स्पष्ट देख्नुहुन्छ कि यथार्थमा मानिसले विषय नभई विषयबाट उत्पन्न संवेदनामाथि आशक्ति गर्छ । मानिसमा धूमपान, मद्यपान, कामभोग जस्ता विषयप्रति जुन आशक्ति वा संस्कार छ यथार्थमा त्यो तृष्णा वा संस्कार विषयसँग नभई संववेदनाहरूसँग जोडिएको हुन्छ । तपाईंले संवेदनाहरू सुखद भएकै कारण विषयहरूलाई भोग गर्नुहुन्छ ।
झट्ट सुन्दा विषयप्रतिको तृष्णा र विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको तृष्णा एकै हुन् अर्थात् पर्यायवाची हुन् भन्ने प्रतीत हुन्छ तर यी दुई मतका बीचमा छिपेको पृथक्ता वा भेद यति गहन छ कि यसको सूक्ष्म भेदलाई बुझ्न नसक्दा निर्वाण साधनाविधि नै प्रभावित हुन पुग्छ, साधनाको परिणाम नै प्रभावित हुन पुग्छ ।
जब तपाईं चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभाव नै संस्कार हो भन्ने तथ्यप्रति स्पष्ट हुनुहुन्छ तब तपाईं निर्वाण प्राप्तिका लागि चित्तको यस संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नुपर्छ, चित्तको संस्कार वा संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई नै संवेदनाहरूप्रति भोग नगर्ने प्रशिक्षण दिनुपर्छ भन्ने तथ्यहरूसँग पनि स्पष्ट हुन पुग्नु हुन्छ । यस्तो स्थितिमा तपाईं काय र चित्तका क्षेत्रमा उत्पन्न भइरहेका संवेदनालाई भोग नगरी जागरुक भएर यी संवेदना उदय र व्यय भइरहेका प्रक्रियालाई समभावी भएर अवलोकन गर्न थाल्नुहुन्छ । वास्तवमा यही नै विपश्यना साधना हो ।
जब तपाईं यसरी चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिनुहुन्छ तब तपाईंमा छिपेका धम्म वा प्रकृतिका शाश्वत नियमहरूले तपाईंमा धर्मचक्र उत्पन्न गर्दै निर्वाण प्रदान गर्छ । संवेदनामाथि गरिने विपश्यना साधनाले धम्मका शाश्वत नियमहरूका सहयोगमा धर्मचक्र उत्पन्न गरी कसरी चरणबद्धरूपमा तपाईंलाई निर्वाण प्रदान गर्छ भन्ने तथ्यको व्याख्या यही पुस्तकमा गरिएको छ ।
जब तपाईं संस्कार शब्दको सही अर्थ बुझ्न असमर्थ रहनुहुन्छ तब तपाईं संस्कारको अर्थ मनको विषयप्रतिको आशक्ति हो भनेर बुझ्नुहुन्छ । त्यस स्थितिमा चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिने साधनामा प्रवेश गर्नै सक्नुहुन्न । तँपाई काय र चित्तका क्षेत्रमा उत्पन्न भइरहेका जुन संवेदनालाई भोग गरी प्रतिक्षण दुःखी, सुखी भइरहनुभएको छ वा प्रतिक्षण संस्कारहरूलाई निर्माण र विस्तार गरिरहनुभएको छ त्यो सत्यप्रति दृष्टि नै दिनुहुन्न ।
त्यो क्षण हुन सक्छ, तपाईं विषय बन्धनको भयबाट मुक्त हुने आशले गृहस्थी, परिवार, श्रीमती आदि त्याग गरी हिमालय पर्वत, गुफा आदि एकान्त स्थलतर्फ लाग्नुहुन्छ । अथवा विषयबाट इन्द्रिय र मनलाई हटाउन देह पीडक कठोर तपस्यामा प्रवेश गर्नुहुन्छ । अथवा श्वासप्रश्वास, ईश्वर, गुरु, प्रकाश, ध्वनि आदिलाई आधार बनाएर अनेक प्रकारका मोक्ष साधनामा प्रवेश गर्नुहुन्छ । यस्तो स्थितिमा तपाईं गुरु कालम, उद्धक रामपुत्त वा स्वयं भगवान्झैँ साधनाका कारण केही न केही आध्यात्मिक उपलब्धि त प्राप्त गर्नुहुन्छ तर बन्धन र मोक्षको केन्द्रमा रहेको संवेदनाहरू भोग गर्ने चित्तको स्वभावलाई नष्ट गर्ने साधना नभएकाले वर्र्षौँ त के कल्पौँसम्म साधना गरे पनि त्यस्ता साधनाबाट निर्वाण प्राप्त गर्न सक्नुहुन्न । स्मरणरहोस् भगवान् बुद्धले पनि लामो समयदेखि निर्वाण प्राप्तिका लागि अनेक साधना गर्दै आउनुभएको थियो तर सत्यमोक्ष साधनाविधि प्राप्त नभएका कारण साधनाका अनेक पारमिता (आध्यात्मिक सम्पदा) सङ्ग्रह गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुभएको थियो । उहाँले दरबार त्याग गरेपश्चात् झण्डै छ वर्षसम्म जुन प्रकारका साधना गर्नुभयो ती साधनाबाट निर्वाण प्राप्त गर्न नसक्नुको मूल कारण चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण नदिनु नै थियो, बन्धन र मोक्षको केन्द्रीय विन्दु बुझ्न नसक्नु नै थियो ।
जब भगवान्ले अनेक प्रकारका निर्वाण साधनाको असफलतापश्चात् संवेदनाहरूमाथि समभावी विपश्यना साधना गर्नुभयो तब निर्वाण प्राप्त गर्नुभयो । तत्पश्चात् उहाँले आफ्नै साधना अनुभवको आधारमा घोषणा गर्नुभयो कि विपश्यना वा विपश्यना साधना मात्र यस जगतको सत्य निर्वाण साधनाविधि हो ।
सारांशमा निर्वाण प्राप्त गर्न चित्तको संस्कार (संवेदनाहरूलाई भोग गर्ने स्वभाव) लाई नै नष्ट गर्नुपर्ने, चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदनाहरू भोग नगर्ने प्रशिक्षण दिनुपर्ने, चित्तको संवेदना भोग गर्ने स्वभावलाई श्वासप्रश्वास, गुरु, ईश्वर, प्रकाश आदिमा गरिने ध्यान साधनाबाट सम्भव नहुने, विपश्यना साधनामा संवेदनाहरूमाथि नै साधना गरी चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरिने हुनाले विपश्यना वा विपश्यना साधना नै संसारको एक मात्र सत्य मोक्ष मार्ग हो ।