जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ वा जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मका क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुुक्य्राउँदै विपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ यस स्थितिमा तपाईंको काय र चित्तको सत्य स्वरूप (जुन तरङ्ग रूप छ) शनैःशनैः तपाईंलाई स्पष्टरूपमा बोध हुन थाल्छ । कायको क्षेत्र र चित्तको क्षेत्र तरङ्गै तरङ्गको प्रवाह हो भन्ने सत्यमाथि जब तपाईंको जागरुकता स्थापित हुन्छ त्यस क्षणमा तपाईं काय र चित्तको क्षेत्रमा धारावाहिक रूपमा तरङ्गहरू उत्पत्ति—व्यय, उत्पत्ति—व्यय भएको पूर्ण अनुभूति प्राप्त गर्नुहुन्छ । विपश्यना साधनाको उच्च स्थितिमा उत्पन्न हुने यस अनुभूतिलाई नै धर्म संवेग भनिन्छ ।
वर्षौँ वा जन्म–जन्मान्तरदेखि मोक्षप्राप्तिका लागि साधनारत उच्च पारमिता (आध्यात्मिक सम्पदा) युक्त साधकमा कहिलेकाहीँ यस धर्म संवेग यति शक्तिशाली भएर प्रकट हुन्छ कि त्यस्ता साधकले लघु समयमा नै सोतापन्ना, सकृदागामी, अनागामी आदि अवस्था पार गर्दै अरहंत स्थिति वा निर्वाण प्राप्त गर्छन् । जब तपाईं भगवान्का वचनहरूको सङ्ग्रह त्रिपिटकलाई अध्ययन गर्नुहुन्छ त्यहाँ तपाईं त्यस्ता धेरै उच्चस्तरका साधकलाई देख्न सक्नुहुन्छ, जुन साधकले भगवान्को धर्मदेशनाका शब्द सुन्दासुन्दै धर्म संवेग उत्पत्ति भई अरहंत वा निर्वाण स्थिति प्राप्त गरेका थिए ।
स्मरणरहोस् जब तँपाई भगवान् बुद्धको वचनहरू पढ्नुहुन्छ वा अन्य कुनै आध्यात्मिक महापुरुषका जिवनी, वचन आदि पढ्नुहुन्छ ती क्षणमध्ये कुनै विशेष क्षणमा तपाईंले पनि आफैँमा अनायासै उर्जाको तरङ्ग प्रकट भएको, स्वयं गहन आध्यात्मिक भावले भावित भएको, कुनै पावन शाश्वत तत्वसँग जोडिएको आदि अनुभूति प्राप्त गर्नुभएको हुन सक्छ । तपाईं यी अनुभूतिलाई पनि एक लघु धर्म संवेग वा तरङ्गको रूपमा बुझ्न सक्नुहुन्छ ।