आनापानसति साधना मूलतः श्वासप्रश्वासमाथि गरिने ध्यान साधना हो । यो संवेदनामाथि गरिने साधना होइन ।
श्वासप्रश्वासमा मात्र आधारित भएकाले यस साधनाले तपाईंको चित्तको एकाग्रतालाई तीक्ष्ण गराउँदै तपाईंलाई सहजरूपमा समाधि वा ध्यानको उच्च अवस्था प्रदान गर्न सक्छ तर आनापानसति साधनामा चित्तलाई संवेदनामाथि समभावी बन्न प्रशिक्षण नदिइने भएकाले यस साधनाबाट तँपाई चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) नष्ट गर्न असमर्थ रहनुहुन्छ । अर्थात् निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ ।
यही नै आनापानसति वा श्वासप्रश्वासमा आधारित ध्यान साधनाको मुख्य सिमितता हो । श्वासप्रश्वासमा आधारित ध्यान साधनाको यही सिमितताका कारण गुरु आलार कालम, उद्धक रामपुत्त ध्यानको अत्यन्त उच्चस्थिति प्राप्त गरेर पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुभएको थियो । यस जगत्मा विपश्यना साधनाभन्दा अन्य जति पनि निर्वाण साधना छन् ती साधनाद्वारा साधकले मोक्ष प्राप्त गर्न नसक्नुको मूल कारण पनि यही हो ।