चित्तको संवेदनालाई भोग गर्ने स्वभावका कारण तँपाईमा अनुलोमको चक्र (दुःखचक्र, लोकचक्र, भवचक्र) उत्पत्ति भइरहेको छ । जबसम्म तँपाई चित्तको यस संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुुहुन्छ त्यस क्षणसम्म तपाईं प्रकृतिका शाश्वत नियमहरू (मूलतः प्रतित्यसमुत्पादको नियम) ले उत्पन्न गर्ने यस अनुलोमको चक्रलाई नाश गरी निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदना भोग नगर्ने प्रशिक्षण दिनुपर्छ । यही कारण विपश्यना साधनामा संवेदनामाथि साधना गरिन्छ ।
के संवेदनामाथि साधना नगरी निर्वाण सम्भव छैन ?
जबसम्म तपाईं आफ्नै चित्तलाई संवेदनाहरूप्रति समभावी बनाउन असमर्थ रहनुहुन्छ त्यस स्थितिसम्म तपाईंमा प्रतिलोेमको चक्र वा निर्वाणको चक्र उत्पन्न हुनै सक्दैन । जब तपाईंमा निर्वाणको चक्र नै उत्पन्न कुन सक्दैन त्यस स्थितिमा तपाईंले निर्वाण प्राप्त गर्ने भन्ने प्रश्नै उठ्दैन । यसैले संवेदनामाथि समभावी साधना नगरी निर्वाण सम्भव छैन ।
किन विपश्यना साधनाको कालमा उत्पन्न हुने संवेदनालाई भोग गर्नुहुँदैन ?
निर्वाणको अर्थ हो पञ्चस्कन्धभित्रका सुखद र दुःखद दुवै संवेदनाका क्षेत्रलाई पार गरेर इन्द्रियातीत क्षेत्रको अनुभूति प्राप्त गर्नु । तपाईं पञ्चस्कन्धको क्षेत्रलाई त्यस स्थितिमा मात्र पार गर्न समर्थ हुनुहुन्छ जब तपाईं पञ्चस्कन्धभित्र उत्पन्न भइरहेका संवेदनाहरूप्रति न राग न द्वेषको सम्यक स्थितिमा रहन सक्नुहुन्छ । जब तपाईं विपश्यना साधनाको कालमा उत्पन्न हुने भङ्ग, प्रिति प्रमोद, समाधि, प्रश्रब्धि जस्ता सुखद संवेदनालाई भोग्नुहुन्छ त्यस स्थितिमा तपाईं पञ्चस्कन्धको क्षेत्रलाई पार गरेर निर्वाण क्षेत्रमा प्रवेश गर्न असमर्थ रहनुहुन्छ । यसर्थ विपश्यना साधनाको कालमा उत्पन्न हुने सुखद संवेदनालाई भोग गर्नुहुँदैन ।