जब तपाईं कायानुपश्यना वा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्चमा टुक्र्याउँदै विपश्यना साधना सुरू गर्नुहुन्छ तपाईं साधनाको केही हप्तापश्चात् हात, पाखुरा, तिघ्रा, खुट्टा, ढाड आदि क्षेत्रका जडपन नष्ट भई सर्वत्र संवेदनाहरू सहजरूपमा उत्पत्ति व्यय, उत्पत्ति व्यय भएको अनुभूति प्राप्त गर्नुहुन्छ तर जब तपाईं (मेरो अनुभवमा) कायानुपश्यनालाई छातीबाट तल एकएक इन्च गर्दै पेटको क्षेत्रतर्फ निरन्तरता दिने प्रयास गर्नुहुन्छ त्यस क्षणमा तपाईं पेटको क्षेत्रमा स्थूलपन, सघनता, मूर्छना, जडपन आदि अनुभव गर्र्नुहुन्छ, जसका कारण तपाईंको कायानुपश्यना साधना खण्डित हुनपुग्छ वा तपाईं एकएक इन्च गर्दै कायानुपश्यना साधनालाई सहजरूपमा निरन्तरता दिन असमर्थ रहनुहुन्छ । यस्तो स्थितिमा तपाईंको मनमा नैराश्य भावको जन्म हुनसक्छ । जब तपाईं साधनाको कालमा पेट वा अन्य क्षेत्रमा जडपनलाई साक्षात्कार गर्नुहुन्छ त्यस्तो स्थितिमा तपाईंले कायमा उपस्थित ती स्थूलपन, सघनता, जडपन, मूर्छना आदिलाई नष्ट गर्न सङ्घर्ष वा विशेष प्रयास नगरी जडपनलाई यथाभूतरूपमा १–२ मिनेटसम्म ध्यानपूर्वक अवलोकन गरिरहनुपर्छ ।
यसरी १–२ मिनेटको समय सूक्ष्मतापूर्वक ध्यान गर्दा पनि यदि जडपन नष्ट भएन भने पनि कत्ति विचलित नभई साधनालाई निरन्तरता दिइरहनुपर्छ । जब तपाईं विपश्यना साधनालाई दीर्घकालसम्म निरन्तरता दिइरहनुहुन्छ शनैःशनैः तपाईंको कायका सम्पूर्ण जडपन नष्ट भएर जानेछन् । यदि तपाईंले कायको जडपनलाई बलपूर्वक नष्ट गर्न प्रयास गर्नुभयो भने धम्मका शाश्वत नियमहरूले त्यस जडपनलाई झन्झन् विस्तारित गरिदिने भएकाले तपाईं साधना सङ्घर्षमा फस्न पुग्नुहुनेछ । यसर्थ विपश्यना साधनामा कायका कुनै पनि क्षेत्रमा जडपनको अनुभूति भयो भने बलपूर्वक त्यसलाई नष्ट गर्ने प्रयास नगरी साधनालाई नयाँ क्षेत्रहरूमा निरन्तरता दिइहरहनुपर्ने हुन्छ ।