निर्वाण साधनामा मन वा चित्तको अत्यन्त महत्वपूर्ण भूमीका छ किनकी चित्तको कारण नै तपाईंमा संस्कार (बन्धन) वा निर्वाणको उत्पति हुन्छ । चित्तमा नै संस्कारहरुको उत्पत्ति र विनास हुन्छ । भगवान् बुद्धले तत्कालीन समयमा प्रचलीत भाषा अनुसार चित्तलाई विज्ञान, संज्ञा, वेदना र संस्कार गरी चार खण्डहरुमा विभाजन गर्नु भएको छ । महासतिपट्ठान वा विपश्यना साधनाका साधकले चित्तका यि चार खण्डहरु के के हुन् ? चित्तका यि चार खण्डहरुले कसरी कार्य गर्दछन् ? चित्तका यी चार खण्डहरुले कसरी बन्धन वा निर्वाण उत्पन्न गर्दछन् ? आदि तथ्यहरु प्रति स्पष्ट हुन अत्यन्त जरुरी छ ।
प्रथम भाग – विज्ञान
चित्तको प्रथम खण्ड हो विज्ञान । वर्तमान समयमा विज्ञानको अर्थ प्रामाणिक ज्ञान आदि भएपनि भगवान बुद्धको समयमा विज्ञानको अर्थ हुन्थ्यो–जान्नु वा जानकारी प्राप्त गर्नु । जब तपाईंको इन्द्रियहरु (मनसहित छ इन्द«ीयहरु) र विषयहरुकोे मीलन हुन्छ, त्यो क्षणमा चित्तको यही प्रथम खण्ड विज्ञानले तपाईंलाई विषय उपस्थिति छ भन्ने प्रथम जानकारी प्रदान गर्दछ । चित्तको यो प्रथम खण्ड विज्ञानको कारण तपाईं विषय (दृश्य, शव्द, गन्ध, स्पर्श, रस, आदि) उपस्थित छ भन्ने प्रथम जानकारी प्राप्त गर्नुहुन्छ । तर मात्र विषय उपस्थित छ भन्ने शुद्ध जानकारीले संस्कार उत्पन्न नहुने हुनाले चित्तको यो प्रथम खण्डको कारण तपाईंमा संस्कारहरु उत्पन्न हुँदैनन् ।
दोस्रो भाग – संज्ञा
चित्तको दोश्रो भाग हो–संज्ञा । जब चित्तको प्रथम खण्ड विज्ञानले तपाईंलार्ई विषय उपस्थितिको जानकारी प्रदान गर्दछ, त्यहि क्षण तपाईंको चित्तको दोस्रो खण्ड संज्ञा स्वतः क्रियाशिल हुन थाल्दछ । चित्तको यो दोस्रो खण्ड संज्ञाले पूर्वअनुभूति वा संस्कारको आधारमा विषयलाई रागपूर्ण र द्वेषपूर्ण गरी दुई भागमा विभाजन गर्दछ । रुपकोे जानकारी प्राप्त भएको छ भने रुप सुन्दर छ कि कुरुप छ ? शव्दको जानकारी प्राप्त भएको छ भने शव्द प्रिय छ कि अप्रिय छ ? आदिमा विभाजन गर्दछ । संज्ञाले विषयलाई मात्र रागपूर्ण कि द्वेषपूर्ण भनेर विभाजन गरेको यो क्षेत्रमा पनि संस्कारहरु उत्पत्ति हुँदैनन् ।
तेस्रो भाग – वेदना (वा संवेदना)
चित्तको तेस्रो खण्ड हो वेदना । चित्तको दोस्रो खण्ड संज्ञाले जब विषयलाई रागपूर्ण वा द्वेषपूर्ण गरी दुई भागमा विभाजन गर्दछ, त्यो क्षणमा तपाईंको चित्तको तेस्रो खण्ड वेदना स्वत क्रियाशील हुनपुग्दछ, जसको कारण तपाईंको चित्तमा राग र द्वेषका अनुभूतिहरु वा सुखद् दुखद् संवेदनाहरु उत्पन्न हुन थाल्दछन् । (स्मरण रहोस्– वर्तमान समयमा वेदनाका अर्थ दुखद अनुभूति भनेर बुझिए पनि भगवान बुद्धको समयमा सुखद वा दुखद सम्पूर्ण अनुभूतिहरुलाई वेदना भनेर बुझिन्थ्यो । यही वेदनालाई विपश्यना साधनामा संवेदना भनिन्छ ।)
यसरी चित्तमा सुखद् दुखद् संवेदनाहरु उत्पन्न भइरहेको क्षणमा यदि तपाईंले यि संवेदनाहरु माथि भोक्ता भाव प्रकट नगरी मात्र तटस्थ रुपमा बोध गर्नुभयो भने चित्तको तेस्रो क्षेत्र संवेदनामा पनि संस्कारहरु उत्पन्न हुँदैनन् । तर जन्मजन्मान्तर देखि मनमा उत्पन्न सुखद वा दुखद संवेदनाहरु लागि भोग गर्ने स्वभाव विकसीत भइसकेकाले वा विपश्यना साधना सिद्ध नभएको कारणले तपाईं “स्वत” संवेदनाहरुको भोग गर्न थाल्नुहुन्छ । यहि क्षण चित्तको चौथो खण्ड संस्कारको उदय हुन्छ ।
चौथो भाग – संस्कार
चित्तको चौथो भाग हो संस्कार। मनमा उठिरहेका दुखद र सुखद संवेदनाहरु प्रति तपाईं जून रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया उत्पन्न गर्नुहुन्छ, त्यहि प्रतिक्रिया नै संस्कार हो । चित्तको यहि चौथो खण्ड ‘संस्कार’को कारण नै तपाईं प्रतिक्षण सुखद दुखद् संवेदनाहरुलाई भोग गरी तपाईं संस्कारहरु निर्माण गरीरहनुहुन्छ । तपाईं जुन विषयबाट सुखद संवेदनाहरु प्राप्त हुन्छ ति विषयहरु प्रति आकर्षित हुनुहन्छ र तपाईं जुन विषयहरुबाट दुखद संवेदनाहरु उत्पन्न हुन्छन् तपाई ति विषयप्रति विकर्षित भई विषय बन्धन प्राप्त गर्नुहुन्छ ।