निर्वाण खोजको पहिलो आवश्यकता थियो निर्वाण प्राप्त सद्गुरुको प्राप्ति । त्यस्तो सद्गुरुको प्राप्ति, जसलाई वास्तवमै तत्ववोध भएको होस्, जसलाई प्रामाणिक अनुभूतिमै निर्वाण वा जीवनमा छिपेको सार वस्तु प्राप्त भएको होस्, जो निर्वाणको खोजमा घर गृहस्थ त्याग गरी पारिव्राजक जीवन ग्रहण गरेका साधकलाई सत्य मोक्ष साधना मार्ग प्रदर्शन गर्न सक्षम होस्, जो सत्य साधनामार्ग पहिल्याउन असमर्थ भई साधना सङ्घर्षमा फसेका साधकलाई उद्धार गर्न सक्षम होस् ।
निर्वाण खोजलाई लक्ष्य बनाएर गृहस्थ त्याग गरिसकेपछि भगवान् मोक्ष प्राप्त गुरुको खोजीमा तत्कालीन भारतका अनेक आश्रम, सम्प्रदाय, गुरुहरू आदिमा एक पछि अर्को गरी भ्रमण गर्दै हिड्नुभयो । वर्षा, हिउँद, जाडो, गर्मी केही नभनी निर्वाण प्राप्त गुरु खोजीको यात्रालाई निरन्तरता दिनुभयो । भगवान् राजदरवारका श्रेष्ठ गुरुहरूबाट शिक्षित, उच्च बौद्धिक क्षमतायुक्त र गहन दृष्टियुक्त हुनुहुन्थ्यो । उहाँमा त्यतिबेला प्रचलित शास्त्रहरू, मोक्ष साधनाविधिहरूका सैद्धान्तिक ज्ञान थियो । निर्वाण साधना के होे ? कुन प्रकृतिको साधना गहन निर्वाण साधना हो ? कुन प्रकृतिको निर्वाण साधना व्यर्थ हो ? आदि प्रश्नप्रति उहाँ स्पष्ट हुनुहुन्थ्यो ।
जब भगवान्ले निर्वाण प्राप्त गुरु प्राप्तिलाई लक्ष्य बनाएर यात्रा प्रारम्भ गर्नुभयो, उहाँले विभिन्न गुरुहरूलाई भेट्नुभयो तर उहाँ ती गुरुहरूका परम्परागत शास्त्र व्याख्या, मूलतः बौद्धिक व्याख्यामा सिमित मोक्ष विद्या, सिमित प्रयोगात्मक पक्ष उपस्थित निर्वाण साधना, निर्वाणसँग कुनै सम्बन्ध नै नभएझैँ प्रतीत हुने साधनाविधिहरूबाट प्रभावित हुनसक्नु भएन । ती गूरुहरु परम्परागत शास्त्र र मोक्ष विद्याको व्याख्यामै तल्लीन देखिन्थे । निर्वाण कसरी प्राप्त हुन्छ ? निर्वाण साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? निर्वाण साधनाले समाधान गर्नुपर्ने समस्या केके हुन् ? आदि निर्वाण साधनासँग जोडिएका मूल प्रश्नमै प्रष्ट थिएनन् ।
कैँयौँ गुरुहरू निर्वाण प्राप्तिका लागि गुरुकृपा, ईश्वरकृपा, श्रद्धा, भक्ति, विश्वास आदि आवश्यक पर्छ भन्ने पक्षमा जोड दिन्थे । आफ्नै सम्प्रदायको सदस्य हुनुपर्नेमा जोड दिन्थे । कैँयौँ गुरुहरू निर्वाण प्राप्तिकै उद्देश्ययले बाह्य पूजा, यज्ञ, हवन आदि कर्मकाण्डमा समाहित देखिन्थे । भगवान् सरल, स्पष्ट, परम्परागत धारणाबाट मुक्त, व्यर्थ बौद्धिक लेप वा विद्वता अनुपस्थित, ईश्वरकृपा, गुरुकृपा, श्रद्धा, विश्वास आदि धारणाबाट मुक्त, प्रयोगात्मक वा साधनापक्षमा जोड दिइएको सत्य मोक्ष साधनाविधि खोजिरहनुभएको थियो तर संसारमा यस प्रकृतिको निर्वाण साधना नै उपस्थित थिएन । अर्थात् सत्य मोक्ष साधनाविधि नै उपस्थित थिएन । निर्वाण शब्दको वरिपरि धर्म, ईश्वर, गुरु, दर्शन, सम्प्रदाय आदिमा आधारित कर्मकाण्डहरूका यस्तो पहाड खडा भएको थियो कि तिनै कर्मकाण्डले नै निर्वाण प्राप्तिका मार्गमा अवरोध खडा गरिरहेका थिए ।
आध्यात्मिकताको लेप लगाइएका यस्ता कर्मकाण्डमाझ सत्य मोक्ष साधनाविधि प्राप्त गर्नु दुरुह कार्यझैँ प्रतीत हुन्थ्यो । आध्यात्मिकताका नाममा गरिने यी कर्मकाण्डहरू यति शक्तिशाली थिए कि मोक्ष प्राप्तिका नाममा पारिबाज्रक जीवन ग्रहण गरेका साधकहरू पनि अनेक अविश्वासनीय कर्मकाण्डमा फसिरहेका थिए । तैपनि भगवान्ले निर्वाण प्राप्त सद्गुरुको खोजीलाई निरन्तरता दिइरहनुभयो, एक सत्य गुरुको खोजी यात्रालाई निरन्तरता दिइरहनुभयो ।