सद्गुरु खोजीका क्रममा भगवान्ले तत्कालीन भारतवर्षको आध्यात्मिक जगतका अनौठा दृश्यहरू देख्नुभयो । यस क्रममा उहाँले उहाँ जस्तै निर्वाणका प्यासी असङ्ख्य साधक पनि देख्नुभयो, जो घर गृहस्थी त्यागेर निर्वाण अन्वेषणको यात्रामा लागेका थिए, उहाँले जस्तै परिब्राजकको जीवन ग्रहण गरी निर्वाणकै निम्ति जीवन अपर्ण गरेका थिए तर अनेक धर्म, ईश्वर, गुरु, दर्शनमा आधारित सम्प्रदायमा विभाजित थिए ।
यस्ता साम्प्रदायिक साधकका साधनाविधि, भेषभूषा, जीवनशैली पनि पृथकपृथक थिए । निर्वाण खोजमा हिँडेका यस्ता साधकमध्ये कसैले कपाल पालेका थिए, कसैले पूरै कपाल खौरिएका थिए, कोही अविरल मन्त्र उच्चारण गरिरहन्थे, कोही मौनी थिए, एउटा शब्दसम्म उच्चारण गर्दैनथे । कोही शाकाहारी थिए, कोही मासु, मादक पदार्थ सबै सेवन गर्थे । कोही वस्त्रधारी थिए, कोही नग्न थिए, कोही एउटै खुट्टाले दीर्घकालसम्म उभिएर एक हात आकाशमा उठाएर शरीरलाई यातना दिइरहेका देखिन्थे । तथापि उनीहरूका खोजी निर्वाणकै थियो, सत्यकै थियो, भगवान्को जस्तै निर्वाणकै कामना थियो ।
यसरी भगवान्ले सत्य गुरुको खोजमा एकपछि अर्को गर्दैै विभिन्न आश्रम, सम्प्रदाय र गुरुहरूका आश्रमहरू भ्रमण गर्दै हिँडिरहनुभयो । यी दिनमा भगवान्ले ती सम्प्रदायका मोक्ष विद्या, दर्शन, साधनाविधि आदिको अध्ययन र अवलोकन गर्दै हिँडिरहनुभयो । राजदरवारमा श्रेष्ठ गुरुहरूबाट शिक्षा प्राप्त, कुशाग्र बुद्धि र दृष्टिले युक्त भगवान्को विचारमा जब कुनै मोक्ष विद्या वा साधनाबाट मोक्ष प्राप्ति असम्भव छ भन्ने निश्चित हुन्थ्यो, उहाँ त्यस्तो आश्रम र गुरुलाई तत्काल छोडिदिनुहुन्थ्यो । यो क्रममा उहाँले त्यस्ता कैँयौँ गुरु, ती गुरुले प्रदान गरेका शास्त्रज्ञान, निर्वाण साधनाविधिलाई त्याग गरिसक्नुभएको थियो ।
शारीरिकरूपमा भगवान् अत्यन्त सुन्दर हुनुहुन्थ्यो, कुनै वैभवशाली परिवारको सदस्य हुनुहुन्छ भन्ने तथ्य बाह्यरूपमै प्रतिबिम्बित थियो । यसैले अनेक सम्प्रदायका गुरुहरू भगवान्लाई आफ्नै सम्प्रदायको सदस्य हुन अनुरोध गर्थे, मन्त्र वा दीक्षा ग्रहणका लागि आग्रह गर्थे । कैँयौँ गुरुहरू भगवान्लाई आफ्नो सम्प्रदायको उच्च पद प्रदान गर्थे तर भगवान्को लक्ष्य निर्वाणको थियो । त्यसैले उहाँले सद्गुरुको खोजीयात्रालाई निरन्तरता दिइरहनुभयो । यस क्रममा कैँयौँ हप्ता बितिसकेका थिए । तैपनि उहाँ सद्गुरु प्राप्त गर्न असफल रहनुभयो ।