निर्वाण प्राप्त सद्गुरु खोजको क्रममा भगवान् गुरु आलार कालमको आश्रममा पुग्नुभयो । गुरु कालम त्यस समयका उत्तरी भारतका प्रसिद्ध गुरु हुनुहुन्थ्यो । उहाँको ध्यान विद्याको चर्चा टा–टाढासम्म फैलिएको थियो । उहाँ वैशाली नगर (वर्तमान विहार राज्यमा) तीनसय शिष्यसँग बस्नुहुन्थ्यो । जब भगवान्ले आलार कालमलाई भेट्नुभयो तब गुरु कालमले कुनै परम्परागत शास्त्र वा मोक्ष विद्याको व्याख्या गर्नु भएन । कुनै ईश्वरकृपा, गुरुकृपा, बाह्य श्रद्धा, भक्ति, विश्वास आदिमा पनि जोड दिनुभएन । उहाँले निर्वाण प्राप्तीको लागि मूलतः ध्यान पक्षमा जोडदिनुभयो । उहाँले यस कुरामा जोड दिनुभयो कि कुनै पनि निर्वाण साधनाविधि त्यस अवस्थामा मात्र सत्य हुन सक्छ जब साधकले मृत्युपश्चात् नभई वर्तमान जीवनमै निर्वाणको प्रामाणिक अनुभूति प्राप्त गर्छ ।
साथै उहाँले यस तथ्यमा पनि जोड दिनुभयो कि कुनै पनि तीक्ष्ण बुद्धि र लगनशील साधकले छोटो समयमै उहाँद्वारा निर्देशित ध्यान विधिद्वारा निर्वाण प्राप्त गर्न सक्छ, निर्वाणको प्रामाणिक अनुभूति प्राप्त गर्न सक्छ । गुरु कालमका वचनहरू नितान्त नवीन थिए । गुरु कालम ध्यान केन्द्रमा रहेको प्रामाणिक निर्वाण अनुभूतिमै जोड दिइरहनुभएको थियो । उहाँ मृत्युपश्चात् प्राप्त हुने निर्वाणको कुरा गरिरहनुभएको थिएन । त्यसैले लामो यात्रापश्चात् आउनुभएका भगवान्लाई विश्वसनीय प्रतीत हुने गुरु प्राप्त भइरहेको थियो ।
भगवान् गुरु कालमबाट प्रभावित हुनुभयो । लामो यात्रामा थाकेको प्यासी यात्रीले जसरी शीघ्र जल ग्रहण गर्छ त्यसैगरी भगवान्ले गुरु कालमको शिष्यत्वलाई ग्रहण गर्नुभयो र छोटो समयमै गुरु कालम निर्देशित ध्यानको सातौँ तहमा पुग्नुभयो । ध्यानको यस उच्च स्थितिमा भगवान्ले चित्तको गहन एकाग्रताका कारण समाधिस्थिति प्राप्त गर्नुभयो । सातौँ ध्यानबाट प्राप्त यस गहन समाधिस्थितिमा भगवान्ले चित्तबाट रागद्वेष नाश भएको, स्वयं इन्द्रियका क्षेत्रबाट बाहिर निस्किएको, देहबोध छुटेको, चित्त शान्त सरोवरझैँ स्थिर भएको, आफू मात्र बोध तत्वको रूपमा शेष रहेको आदि अनेक साधना अनुभूति प्राप्त गर्नुभयो ।
यस समाधि साधनालाई निरन्तरता दिएपछि भगवान् त्यस्तो स्थितिमा पुग्नुभयो, जहाँ व्यक्तिले आफूलाई द्रष्टाको रूपमा मात्र अनुभूति गर्छ । यही द्रष्टाभावस्थिति नै गुरु कालमको ध्यान साधनाले प्रदान गर्न सक्ने उच्च आध्यात्मिक स्थिति थियो । गुरु कालमले यही द्रष्टाभावस्थितिलाई नै निर्वाणस्थिति हो भन्नु भएको थियो तर निर्वाण भनिएको सातौँ ध्यानको यस द्रष्टाभाव अनुभूति अविनाशी थिएन । यो इन्द्रियातीत क्षेत्रको अनुभूति थिएन । सातौँ ध्यान साधनाको द्रष्टाभाव अनुभूति पनि साधनाबाट बाहिर आएको केही समयपश्चात् बिस्तारै लुप्त भएर जान्थ्यो, विलाएर जान्थ्यो ।
भगवान्को खोज इन्द्रियातीत अविनाशी अनुभूतिको थियो । निर्वाण अनुभूति अविनाशी र इन्द्रियातीत हुन्छ भनिएको थियो । जब निर्वाण भनिन्छ शुद्ध वा विकार बिहीन चित्त स्थिति एक अनिवार्य आवश्यकता मानिन्थ्यो । निर्वाणस्थितिमा चित्त पूर्णरूपमा संस्कारहरूबाट मुक्त हुनुपथ्र्याे तर भगवान्लाई विशुद्घ चित्तस्थिति प्राप्त भएको थिएन । उहाँलाई आफ्नै चित्तमा अनेक संस्कार उपस्थित छन्, ती पूर्णरूपमा नष्ट भएका छैनन् भन्ने स्पष्ट बोध थियो ।
चित्तमा अझै उपस्थित अनेक संस्कार समय समयमा प्रकट भएर भगवान्लाई व्याकुल बनाइरहन्थे । यसले के स्पष्ट पारेको थियो भने गुरु कालमको मोक्ष साधनाविधि सत्य मोक्ष साधनाविधि थिएन । यो समाधि वा द्रष्टाभाव स्थितिसम्म प्रदान गर्न सक्ने आंशिक, अपूर्ण मोक्ष साधना विधि थियो । साथै गुरु कालम उहाँले दावी गरेजस्तै निर्वाण प्राप्त गुरु हुनुहुन्नथ्यो । उहाँ साधनाको लघु समाधि अनुभूतिलाई नै निर्वाणको अनुभूति हो भनी भ्रममा हुनुहुन्थ्यो । अनि यही आंशिक वा अपूर्ण निर्वाण साधनाविधिलाई सत्य मोक्ष साधनाविधि भनी प्रचार गरिरहनु भएको थियो, मोक्ष अभिलाषी साधकलाई बाँडिरहनुभएको थियो ।
जब भगवान्लाई निश्चय भयो कि गुरु कालमको अपूर्ण ध्यानविधि क्लेश नाश गर्न, दुखः नाश गर्न, अविनाशी शान्ति, अन्तरदृष्टि र निर्वाण प्रदान गर्न असमर्थ छ । त्यसपछि उहाँले गुरु कालमलाई छोड्ने निर्णय गर्नुभयो र गुरु कालमको अनुनय विनयपश्चात् पनि उहाँले आश्रमलाई छोड्नुभयो । स्पष्ट थियो– मोक्ष प्राप्त सद्गुरु प्राप्त गर्नु स्वयंले मोक्ष प्राप्त गर्नुजस्तै दुरुह कार्य थियो । जुन गुरुहरू आपूmलाई मोक्ष प्राप्त गुरु हुँ भनी दावी गरिरहनुभएको थियो उहाँहरू आफैँ मोक्ष प्राप्त गुरु हुनुहुन्नथ्यो । मोक्षको संसार आंशिक, अपूर्ण, भ्रामक, सतही साधनाविधिले भरिएको थियो ।
मोक्ष विद्याको प्रशिक्षण दिइरहेका गुरुहरू आफैँ यस तथ्यप्रति अनभिज्ञ हुनुहुन्थ्यो । मोक्षको संसारमा उपस्थित यस अन्धकारमा सत्य मोक्षमार्ग प्राप्त गर्नु अत्यन्त दुरुह थियो । तथापि भगवान् निराश हुनुभएन र पुनः मोक्ष प्राप्त सद्गुरुको खोजीलाई निरन्तता दिनुभयो ।