सद्गुरु खोजको क्रममा उहाँ उद्धक रामपुत्तको आश्रममा पुग्नुभयो । उद्धक रामपुत्त पनि त्यस समयका प्रसिद्ध गुरु हुनुहुन्थ्यो । उहाँको विशिष्ट ध्यान विद्याको सर्वत्र चर्चा थियो । गुरु कालमजस्तै उहाँले पनि परम्परागत शास्त्रज्ञान, ईश्वरकृपा, गुरुकृपा, श्रद्धा, विश्वास, भक्ति आदिमा जोडदिनुभएको थिएन । गुरु रामपुत्तले पनि ध्यान साधनामा नै जोड दिनुभयो । निर्वाणको प्रामाणिक अनुभूतिमै जोड दिनुभयो । गुरु कालमझैँ उहाँले पनि भन्नुभयो कि कुनै पनि तीक्ष्ण बुद्धि भएका साधकले छोटो समयमै उहाँद्वारा प्रतिपादित ध्यानविधिद्वारा निर्वाण प्राप्त गर्न सक्छ ।
भगवान्सँग समय र विकल्प दुवै शेष थिएनन् । लामो समय बितिसकेको थियो । यस क्षणसम्म उहाँ आफैँले निर्वाण त टाढाको कुरा निर्वाण प्राप्त गुरुसम्म प्राप्त गर्न सक्नुभएको थिएन । त्यसैले उहाँले गुरु रामपुत्तको शिष्यत्व ग्रहण गर्नुभयो । गुरु रामपुत्तबाट नै उहाँले ध्यानको अझ उच्च स्थिति आठौँ ध्यानको ज्ञान प्राप्त गर्नुभयो । उहाँ शीघ्र समयमा नै आठौँ ध्यानको त्यस उच्च स्थितिमा पुग्नुभयो, जहाँ भावबोध एवं भावबोध विहीन दुवै समाप्त हुन्छन् । त्यसपछि साधक विचारबाट निर्विचारको अवस्थामा प्रवेश गर्छ । त्यस अवस्थामा चेतनाका सम्पूर्ण अवस्थालाई पार गरेर साधकले गहन शून्यको अनुभूति गर्छ ।
भगवान्ले बारम्बार ध्यानको यस गहन शून्य स्थितिलाई अनुभूति गर्नुभयो तर गुरु आलार कालमको ध्यानविधिजस्तै गुरु रामपुत्तले सिकाउनु भएको उच्च ध्यानबाट प्राप्त यस गहन शून्यस्थिति पनि इन्द्रियातीत अविनाशी अनुभूति थिएन । अर्थात् यो अनुभूति पनि विनाशी वा क्षणभङ्गुर अनुभूति नै थियो । यो गहन शून्य अनुभूति पनि ध्यान साधनाबाट बाहिर आएको केही समयपश्चात् बिस्तारै विलाएर जान्थ्यो । स्पष्ट थियो– गुरु रामपुत्तले जुन स्थितिलाई निर्वाण स्थिति भनेर व्याख्या गर्नुभएको थियो, त्यस गहन शून्यस्थिति पनि निर्वाणको स्थिति थिएन । गुरु कालमको साधनाविधिझैँ गुरु रामपुत्तको साधनाविधि पनि अपूर्ण, आंशिक, भ्रमपूर्ण र मोक्ष प्रदान गर्न असमर्थ थियो । यसले के स्पष्ट पाथ्र्यो भने उद्धक रामपुत्त आफैँ पनि मोक्ष प्राप्त गुरु हुनुहुन्नथ्यो । उहाँको प्रसिद्ध आठौँ ध्यान पनि मोक्ष प्रदान गर्न असमर्थ थियो । गुरु कालममाझैँ उहाँ पनि मोक्ष प्रदान गर्न असमर्थ, आंशिक, विद्यालाई सत्य मोक्ष विद्या भनेर प्रचार गरिरहनु भएको थियो ।
जब भगवान्लाई यो निश्चय भयो कि गुरु रामपुत्तको यस ध्यानविधि पनि क्लेश नाश, दुःख नाश अविनाशी शान्ति, अन्र्तदृष्टि र निर्वाण प्रदान गर्न असमर्थ छ तब उहाँले उद्धक रामपुत्तको अनुनय विनयपश्चात् पनि उहाँको आश्रमलाई त्याग गर्नुभयो । भगवान्को निर्वाण प्राप्त सद्गुरुको खोज यात्रा असफलतातिर लम्किरहेको थियो । यस्तो प्रतीत हुन्थ्यो कि मोक्ष प्राप्त गुरु प्राप्त गर्नु वा सत्यमोक्ष साधनाविधि प्राप्त गर्नु संसारको सबैभन्दा दुरुह खोज हो ।