यसरी लामो समयसम्म अनवरत प्रयास गर्दा पनि भगवान्ले निर्वाण प्राप्त गर्नु त धेरै परको कुरा निर्वाण प्राप्त सद्गुरु वा सत्य मोक्ष साधनाविद्या सिकाउने गुरुसम्म पाउन सक्नुभएन । यद्यपि उहाँको समयमा पनि हालकै जस्तो साधकहरूले निर्वाण खोजिरहेका थिए, विविध प्रकारका आध्यात्मिक साधनामा समाहित थिए । तथापि निर्वाण प्राप्त सद्गुरुको अनुपस्थिति वा सत्य मोक्ष विद्या लुप्त भएकाले ती साधक निर्वाणको नाममा अनेक अपूर्ण, अस्पष्ट, सत्य अनुभूति दिन असमर्थ साधनाविधिमा अल्झिरहेका थिए ।
उनीहरू ध्यान साधनामा मनको एकाग्रताका कारण प्राप्त हुने शान्ति, आनन्द, खुसी आदि क्षणिक अनुभूतिलाई नै मोक्षको अनुभूति मानेर भ्रमित थिए । कैँयौँ साधक आफ्नै सम्प्रदायसँग जोडिएका धर्म, ईश्वर, गुरु, वस्त्र, टीका, माला आदि बाह्य आलम्बनका कारण अध्यात्मका विषयहरूमा राग वा आध्यात्मिक जडपन विकास गरेर त्यसैमा अड्किएका थिए । सबै साधकको प्यास निर्वाण थियो तर निर्वाण प्राप्त कोही थिएनन्, अविनाशी शान्ति कसैले पनि प्राप्त गरेका थिएनन् ।
मोक्षको यस रहश्यमय संसारमा स्वयं गुरुहरू नै इमान्दारी विहीन देखिन्थे । असत्यवादी देखिन्थे । गुरुत्वको भोगमा रमाइरहेका त्यस्ता गुरुहरू कि त निर्वाणसँग कुनै सम्बन्ध नै नभएका व्यर्थ विद्वतापूर्ण व्याख्यामा हराइरहेका थिए कि आंशिक, अपूर्ण, आफैँले प्रामाणिकरूपमा अनुभूति प्राप्त नगरेको साधनाविधिलाई सत्य मोक्ष साधनाविधि भनेर बाँडिरहेका थिए ।
मोक्ष खोजको संसारमा एक रहश्यमय अन्धकार छाएको थियो । यो अन्धकारमा एक दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याइरहेको थियो । यस्तो अन्धकारमा मोक्षमार्ग पहिल्याउन कोही पनि समर्थ थिएनन् । मोक्षको सत्य मार्ग पहिल्याउन कसैले पनि जानेका थिएनन् तर जानेको छैन वा जान्दिन भन्ने पनि कोही थएनन् । सबै गुरु, साधकहरू परम्परागत शास्त्रबाट प्राप्त आफैँले नबुझेका वा आफैँमा अप्रमाणित धारणा, विचार, मत, सिद्धान्त बोकेर हिँडिरहेका थिए ।
भगवान्लाई आध्यात्मिक संसारको यथार्थ बोध भइरहेको थियो । आध्यात्मिक संसार बाहिरबाट हेर्दा जति सुन्दर, शान्त, पवित्र र प्रकाशवान् देखिन्थ्यो यथार्थ अर्कै थियो । अध्यात्मको यो संसारमा सांसारिक वृतिहरूको साम्राज्य थियो । आंशिक, मिथ्यापूर्ण शास्त्रज्ञानको अन्धकारले जन्माएको मार्ग विहीन अवस्थामा निर्वाण लक्ष्यको खोज दुरुह प्रयास थियो । आध्यात्मिक संंसारमा देखिएका यस किसिमको भ्रमपूर्ण सत्य बोधसँगै भगवान्मा पुनः मोक्ष प्राप्त गुरु खोजी गर्ने अभिलाषा समाप्त भयो । अन्ततः भगवान्ले सदगुरु वा सत्यमोक्ष साधनाविधिको खोजलाई त्यहीँ टुङ्ग्याउनुभयो । यस निर्णयसँगै भगवान् एक मार्गविहीन अवस्थामा पुग्नुभयो ।