भगवान् जब मार्गविहीन हुनुभयो, गुरु विहीन हुनुभयो, साधना विहीन हुनुभयो तब अहिलेसम्म आफैँले अध्ययन, अनुसन्धान र प्रयोग गरेका साधनाविधिमाथि गम्भीर समीक्षा गर्नुभयो । उहाँले आफैँलाई बारम्बार सोध्नु भयो कि आखिर किन वा कुन अन्तरनिहित त्रुटीका कारण यी साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ रहे ? किन गुरु कालम र उद्धक रामपुत्तको उच्च ध्यान साधनाविधि पनि आफूलाई निर्वाण प्रदान असफल रहे ? भगवान्ले यिनै प्रश्नमाथि बारम्बार चिन्तन गर्नुभयो, यी प्रश्नका उत्तर खोजिरहनुभयो ।
यिनै क्षणमा भगवान्का मनमा के देह, इन्द्रिय र मनलाई पूर्णरूपमा नियन्त्रण गर्न असमर्थ भएकाले नै यी साधना असफल भएका हुन् ? के इन्द्रिय र मनलाई निग्रह गर्न असमर्थ भएकै कारण चित्तका विकारहरू नष्ट नभएका हुन् ? के स्वयं निर्वाण साधनामा यही कारणले असमर्थ भइएको हो ? के कठोर तपस्याद्वारा देह, इन्द्रिय र मनलाई नियन्त्रणमा ल्याएको खण्डमा निर्वाण प्राप्ति सम्भव छ ? आदि इत्यादि विचार उठ्न थाले ।
भगवान्को मनमा यस्तै यस्तै इन्द्रिय निग्रह र कठोर तपस्याको विचार उठिरहेका थिए । गुरु विहीनता, मार्ग विहीनताको यस द्विविधापूर्ण स्थितिमा भगवान्का यी विचार झन्झन् प्रबल हुँदै गइरहेका थिए । अन्ततः एक दीर्घचिन्तनपश्चात् भगवान्ले देहतपस्याको कठोर निर्णय लिनुभयो र दुष्कर देहपीडक तपस्यामा प्रवेश गर्नुभयो ।