जब भगवान्ले देह, इन्द्रिय र मनमाथि नियन्त्रण गर्न कठोर तपस्या प्रारम्भ गर्नुभयो वहाँले साधनाको प्रारम्भ श्वास नियन्त्रण र अल्पाहार साधनाबाट गर्नु भयो । त्यसपछि शनैःशनैः आहारलाई कम गर्दै जानुभयो र अन्ततः यति अल्पहारी हुनुभयो कि दिनमा एक गाँस मात्र अन्न ग्रहण गर्नुहुन्थ्यो । अन्न ग्रहणपश्चात् ध्यानमा लिन भइहाल्नुहुन्थ्यो ।
यस्तो अल्पहार तपस्याले शनैःशनैः उहाँमा शारीरिक परिवर्तनका लक्षण देखा पर्न थाले । उहाँ दुब्लाउँदै जानुभयो, निर्बल हुँदै जानु भयो । उहाँको शरीरको छाला कालो भयो, त्वचाको शुद्ध निर्मल छवि नष्ट भयो, शरीर सुक्दै गयो र हिँड्न पनि असमर्थ हुनुभयो । शरीर बलहीन, भोक तिर्खाले हैरान, मन थकावटले एकाग्रहीन र अशान्त भयो । देह यति क्षीण भयो कि शरीरमा हाडमात्र बाँकी रह्यो । पेटमा हात लगाउँदा पिठको हाडलाई छुन्थ्यो । आँखा गाडिएको थियो, शरीरको छाला पूर्णतः खुम्चिएको थियो । एक पल्ट स्वास नलिकन ध्यान गर्दा बेहोश भई ढल्नुभएको थियो ।
तैपनि उहाँले यस्तो कठिन तपस्याबाट निर्वाण प्राप्त गर्न सक्नुभएन । शरीर नष्ट भई मृत्युको समीपमा पुग्दा पनि यो कठोर तपस्या उहाँको चित्तका विकारलाई नष्ट गरी मोक्ष प्रदान गर्न असमर्थ रह्यो । जब भगवान्लाई निश्चय भयो कि यो दुष्कर देहपीडक तपस्याबाट बुद्धत्व प्राप्ति असम्भव छ तब उहाँले भोजन ग्रहण गर्ने निश्चय गर्नुभयो । देहलाई पुनः अनेक यातना नदिई भगवान्ले भोजन ग्रहण गर्न प्रारम्भ गर्नुभयो ।