यस्तैमा एक दिन भगवान् वृक्षको सघन छायाँमुनि शान्त बसिरहनुभएको थियो । मध्याह्नको समय थियो, वातावरण शान्त र मौन थियो, वसन्तको मधुर हावा निरन्जना तथा नदीको शीतलता र शान्तिलाई बोकेर बगिरहेको थियो । शान्त वातावरण, मध्यान्हमा चम्किरहेको सूर्य, क्षितिजसम्म बिस्तारित मौन आकाश आदिले गर्दा समग्र परिवेश र सृष्टि नै ध्यानमय प्रतीत हुन्थ्यो । त्यसै समयमा अनायासै भगवान्लाई प्रथम ध्यानको स्मृति आयो । त्यो ध्यानको पूर्वस्मृति उदय भयो, जुन उहाँ नौ वर्षको हुँदा घटित भएको थियो ।
जब भगवान् नौ वर्षको हुनुहुन्थ्यो कुनै उत्सवको दिन धाइ आमाहरूले छाडिदिँदा उहाँ जामुन वृक्षको सघन छायाँमुनि एक्लै बसिरहनु भएको थियो । त्यस दिन अत्यन्त स्वाभाविकरूपमा उहाँ एकान्त वातावरणको मौनतासँगै कम्पित भइरहेको ब्रह्माण्डीय लयसँग एकाकार हुन पुग्नुभएको थियो, ध्यानमग्न हुन पुग्नुभएको थियो । हेर्दाहेर्दै उहाँको श्वास शान्त, लयवद्ध र एकाग्र भएको थियो । उहाँ स्वत जन्मन गएको प्राकृतिक सहज समाधिमा लामो समयसम्म डुबिरहनु भएको थियो ।
अवचेतन मनमा छिपेको त्यस प्रथम ध्यानको मधुर स्मृति आज पुनः त्यही शान्त वातावरण, एकान्त परिवेश, सघन छाँया, ब्रह्माण्डीय कम्पन आदिको स्पष्ट अनुभूति प्राप्त हुँदा पुनः जाग्रत भएर उठेको थियो ।
बाल्यकालको त्यो प्रथम ध्यानको स्मृतिसँगै भगवान्मा पुनः त्यही ध्यानको उदय भयो । प्रथम ध्यानावस्थामा झैँ उहाँ ब्रह्माण्डीय लयमा एकाकार हुनुभयो । श्वासप्रश्वास प्रक्रिया धिमा हुँदै गए । प्रकृतिको गर्भबाट उदाएको गहन ध्यानले उहाँलाई छोप्दै लग्यो । भगवान् ध्यानको प्रथम, दोस्रो, तेस्रो, चौथो अवस्था पार गर्दै समाधिको स्थितिमा प्रवेश गर्नुभयो ।
जब भगवान्मा एक गहन प्राकृतिक ध्यान अनायास उदय भयो उहाँले त्यो ध्यानमाथि जागरुकतापूर्वक दृष्टि दिन थााल्नुभयोे । ध्यानप्रति जागरुक दृष्टिकला उहाँले गुरु कालम र उद्धक रामपुत्तको ध्यान साधनाबाटै प्राप्त गर्नुभएको थियो । प्रकृति जनित त्यस गहन ध्यानमा कुनै पनि प्रकारको हस्तक्षेप नगरिकन एक निष्पक्ष द्रष्टाभावले त्यसलाई लामो समयसम्म ध्यानलाई अवलोकन र अनुभूति गरिरहनुभयो । श्वासप्रश्वासले स्पष्टरूपमा ब्रह्माण्डीयलय समातिरहेको थियो । गहन ध्यानको एक सतत धारा नदीको प्रवाह झैँ अविरल प्रवाहित थियो ।
उहाँ यस गहन ध्यानप्रति अत्यन्त जागरुक हुनुहुन्थ्यो । जब उहाँले सूक्ष्म आन्तरिक बोधचक्षु वा दृष्टिले त्यस ध्यानलाई अवलोकन गरिरहनुभएको थियो वहाँले स्पष्टरूपमा देख्नुभयो कि उहाँको मन र देहका क्षेत्रमा अनेक प्रकारका सुखद अनुभूति तथा दुःखद अनुभूति उत्पन्न र विलय भइरहेका छन् । यसभन्दा अगाडिका ध्यान साधनाहरूमा भगवान्का दृष्टि यी संवेदनामाथि परेको थिएन । किनकि कुनै पनि गुरुले काय र चित्तको क्षेत्रमा प्रकट भइरहेका यी संवेदनामाथि ध्यान दिनुपर्ने आवश्यकतालाई औँल्याउनु नै भएको थिएन । गुरु कालम र गुरु रामपुत्तको ध्यान साधनाविधिमा पनि श्वासप्रश्वासको एकाग्रतामाथि नै जोड दिइएको थियो ।
नदी किनाराको व्यक्तिले प्रवाहित नदीलाई निष्पक्ष भावले अवलोकन गरे झैँ भगवान्ले देह र चित्तमा स्वतः उत्पन्न यस ध्यानसँगै उत्पन्न भइरहेका संवेदनाहरूका गुण, धर्म र स्वभावलाई हेरिरहनुभयो । यस्ता अनेक दुखद तथा सुखद संवेदना उत्पन्न हुन्थे, जो केही क्षण स्थिरझैँ प्रतीत हुन्थे र तत्कालै विलय हुन्थे । अनित्यता नै यिनीहरूका मूल गुण, धर्म र स्वभाव थियो ।
जब भगवान् यी सुखद र दुखद संवेदनालाई न राग न द्वेष अर्थात् समभावी दृष्टिले अवलोकन गरिरहनुभएको थियो तब ती संवेदनाका उदय र व्ययको समभावी अवलोकनसँगै उहाँलाई आफ्नै आन्तरिक क्षेत्रमा अनेक परिवर्तन हुँदै गइरहेको स्पष्ट अनुभूति भइरहेको थियो । मनको आन्तरिक क्षेत्र झन्झन् शान्त, विस्तार, समभावी, निर्मल हुँदै गइरहेको स्पष्ट अनुभूति भइरहेको थियो । चित्तबाट विकारहरू नष्ट हुँदै गएर शनैःशनैः निर्मल हुँदै गएको जस्तो अनुभूति भइरहेको थियो ।
संवेदनाहरूका अनित्य स्वभावको साक्षीभावपूर्ण अवलोकनबाट प्राप्त यी नवीन अनुभूतिलाई भगवान्ले गुरु कालम र रामपुत्रबाट प्राप्त सातौँ र आठौँ ध्यानमा पनि प्राप्त गर्नुभएको थिएन । यस संवेदनाहरूमाथिको ध्यान नितान्त पृथकझैँ प्रतीत हुन्थ्यो । पृथकताको मुख्य क्षेत्र संवेदनाको सतत उदय र व्ययरूपी अनुभूति नै थियो । यी अनुभूति आफ्नै आन्तरिक प्रदेशमा प्राप्त भइरहेका अनुभूतिका असाधारण विस्तार नै थियो । विकारहरू उखेलिएर चित्त झन्झन् शान्त र निर्मल हुँदै गएको अनुभूति भइरहेको थियो । संवेदनाहरूका समभावपूर्ण अवलोकनरूपी ध्यान एक असाधारण ध्यानझैँ प्रतीत हुन्थ्यो ।
भगवान् यो स्वतः उत्पन्न ध्यान र संवेदनाहरूमाथिको समभावी अवलोकनबाट आफैँलाई प्राप्त भइरहेको आन्तरिक रूपान्तरण र चित्तमा प्राप्त भइरहेका निर्मल अनुभूतिबाट अत्यन्त प्रभावित हुनुभयो । यतिबेला यस्तो प्रतीत हुन्थ्यो कि कुनै असाधारण ध्यानमार्गको जन्म स्वतः भइरहेको छ ।
त्यसपछिका कैँयौँ हप्तासम्म भिक्षाटनबाट फर्किएर भोजन गरेपश्चात् भगवान् यही बोधिवृक्षको छायाँमुनि बसेर यिनै संवेदनालाई समभावरूपमा अवलोकन गर्दै ध्यानमा डुब्नुहुन्थ्यो, यो नवीन ध्यानको सूक्ष्म अवलोकन र अनुसन्धान गरिरहनुहुन्थ्यो, देह र मनको क्षेत्रमा उत्पन्न संवेदनाहरूका उदय र व्ययलाई स्मृतिवान् (जागरुक) र प्रज्ञावान् भएर अवलोकन गरिरहनुहुन्थ्यो ।
ध्यान झन्झन् गहिरिँदै गइरहेको थियो । स्पष्टरूपमा भगवान् ध्यानका विभिन्न चरणबाट गुज्रिरहनुभएको थियो । उहाँ ध्यानका ती प्रत्येक चरणप्रति स्पष्ट हुनुहुन्थ्यो । यो नै दुःखद र सुखद संवेदनाहरूप्रति न राग न द्वेषको मध्यमार्गी ध्यान साधना थियो, यो नै विपश्यना ध्यान साधनाको जन्मको क्षण थियो । भगवान्ले महासतिपठ्ठान सुत्तमा विपश्यना ध्यान साधनामा साधकले एकपछि अर्को गरी पार गर्दै जाने यिनका चरणबारे गहन व्याख्या गर्नुभएको छ ।