भगवान्ले दुःख आर्य सत्यका उल्लिखित तिन आवृत्तिलाई साधनामा उतारेर नै निर्वाण प्राप्त गर्नुभएको थियो । भगवान्मा यही साधना प्रक्रियद्वारा धर्मचक्षु उत्पन्न भएको थियो, ज्ञान उत्पन्न भएको थियो, प्रज्ञा उत्पन्न भएको थियो, विद्या उत्पन्न भएको थियो, आलोक उत्पन्न भएको थियो ।
गृह त्यागपश्चात् जब भगवान् सत्य मोक्ष साधनाविधि खोजका लागि अनेक गुरु, आश्रम, सम्प्रदायहरूमा भ्रमण गरिरहनुभयो । भगवान्ले धर्म, ईश्वर, गुरु, दर्शन, मत आदि सम्बन्धित अनेक श्रद्धा, विश्वास, भक्तिका धारणाहरू, साधनाविधिहरूका बारेमा सुन्नुभयो । निर्वाण प्राप्तिका अनेक बाह्य कर्मकाण्डीय क्रिया पनि देख्नुभयो । निर्वाण प्राप्ति साधनाका नाममा अनेक बाह्य आभूषणहरू (माला, टीका, वस्त्र आदि) ग्रहण गरेको देख्नुभयो । गुरुकृपा, ईश्वरकृपा, तारक ब्रह्मा आदिका बारेमा सुन्नुभयो तर दुःख (काय र चित्तका क्षेत्रमा उत्पन्न हुने संवेदना) प्रति मनलाई समभावी बनाउन सकेको खण्डमा धम्मका नियमहरूका कारण निर्वाण प्राप्त हुन सक्छ भन्ने कुरा कहिल्यै सुन्नुभएन । भगवान्ले झण्डै छ वर्षसम्मको निर्वाण खोजको यात्रामा कहिल्यै नसुनेको, कुनै गुरु वा सम्प्रदायमा चर्चा नगरिएका नितान्त नवीन स्वअनुभूतिद्वारा जुन साधनाविधि पत्ता लगाउनुभएको थियो त्यसलाई व्याख्या गर्दै भन्नुहुन्छ–
‘‘इदं दुक्खं अरियसच्च’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खं अरियसच्चं परिञ्ञेय्य’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खं अरियसच्चं परिञ्ञात’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’
अर्थात् भिक्षुहरू ! दुःख आर्य सत्य यही हो । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।
यो दुःख आर्य सत्य (पूर्ण ज्ञान जान्न योग्य) छ । यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।
यो दुःख आर्य सत्य (परिपूर्ण ज्ञान) भयो । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।